सष्टा परिचय:- पिता हंसराज शर्मा र माता ईश्वरी देबी शर्माकाे कान्छाे सन्तानकाे रूपमा बि.सं .२०४८ मंसिर १६ गते बेदकाेट नगरपालीका कञ्चनपुर ३ मा जन्मिएका राजेन्द्र शर्माले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने पेशाले उनी निजामती कर्मचारी हुन्। शालीन ब्यक्तित्व शर्मा बिधार्थीकाल देखिनै साहित्यमा रुचि राख्दै , कलम चलाउँदै अाएका सर्जक हुन्। उनकाे कविता, लघुकथा,मुक्तक,निबन्ध र संस्मरणहरू विभिन्न मिडिया, पत्रपत्रिका र सामाजिक संञ्जालहरूमा पढ्न पाइन्छ। साहित्यिक काेपीला युटुप च्यानलका संयाेजन समेत रहेका शर्माले नयाँ र पुराना सर्जकहरूका सृजनालाई अाफ्नाे युटुप च्यानमा स्थान दिदै अाएका छन्। विभिन्न साहित्यिक संघ संस्थामा अाबद्व शर्मा अाधुनिक नेपाली लघुकथा मञ्च र हाम्राे लघुकथा पाठशालाका सदस्य समेत रहेर लघुकथा लेखन र बिकाश बिस्तारमा लागिरहेका एक युवा साहित्यकार हुन्। हाल टिकापुर कैलालीलाई अाफ्नाे कर्मभूमी बनाउँदै जीवन संगीनी सावित्री भट्ट शर्मासँग बस्दै अाएका लघुकथाकार राजेन्द्र शर्मा द्वारा लिखित लघुकथा ” माफ गर्नुहाेला सर!” पाठक सामु राखेकी छु।
लघुकथा : माफ गर्नुहोला सर
राजेन्द्र शर्मा
उसले आफ्नो पढाइपछि जागीरको खोज गर्यो । उसले लोकसेवा लगायत विभिन्न संस्थानका परिक्षामा सहभागिता जनायो । ऊ मेहनती एवम् होनहार थियो । नतिजा हुन्थ्यो, लिखितमा उत्तिर्ण मौखिकमा अनुत्तिर्ण ।
यो क्रम निरन्तर चलिरह्यो ।
यस पल्टको अन्तर्वार्तामा उसलाई असहज प्रश्न सोधियो । अलमल भएपछि उसले अकस्मात एक जवाफ दियो । उसको जवाफ गलत निस्केछ ।
ऊ अन्तर्वार्तामा जाँदा कसैलाई नमस्कार गर्दैनथ्यो ।
अबको पालोमा उसको अन्तर्वार्ता पहिलेभन्दा राम्रो भयो । उसले त्यहाँ प्रयोग गरेका शब्द यस्ता थिए :
नमस्कार सर ।
माफ गर्नुहोला सर ।
अन्तर्वार्ता सकेर जाने बेलामा उसले एउटा शब्द भन्न बिर्सेछ–धन्यवाद सर ।
यसपालि पनि ऊ पहिले जस्तै अनुत्तीर्ण भयो ।
धेरै लामो प्रयासपछि ऊ जागीरे भयो । अहिले उसको मुखमा झुन्डिएका शब्द यस्ता छन् :
नमस्कार सर ।
माफ गर्नुहोला सर ।
धन्यवाद सर ।
आजकल उसको व्यवहारबाट सबै खुशी छन् । हाकिम, सहकर्मी अनि सेवाग्राही पनि । सबै खुशी भएपछि ऊ खुशी नहुने कुरै भएन ।
यो कृतिम औपचारिकताले उसलाई बाँच्नका लागि सरल बाटोको निर्माण गरेको छ ।
आजकल सपनामा बर्बराउँदा पनि उसको मुखबाट निस्कने शब्द हुन्छन् :
नमस्कार सर ।
माफ गर्नुहोला सर ।
धन्यवाद सर ।
२०७७।०६।२७
टीकापुर, कैलाली।



