टोखा ११ को भवन शिलान्यास


काठमाडौँ, मङ्सिर ४ गते ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा वडा नं. ११ को भवन शिलान्यास गर्नुभएको छ । नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाको नगरस्तरीय विनियोजित बजेटबाट निर्माण हुन लागेको वडा नं. ११ को प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो ।
भवनको शिलान्यास गर्नुहुँदै नगर प्रमुख अधिकारीले विकासबाटै समृद्धिको ढोका खोलिने भएकोले विकासको काममा आस्था र विचारको आधारमा कसैलाई काखा–पाखा नगरिने बताउनुभयो । ‘आफ्नो साढे तीन वर्षे कार्यकालमा खानेपानी, ढल निकास, सडक विस्तार र भौतिक निर्माणका कामले आवश्यकताका आधारमा प्राथमिकता पाउँदै आएकोमा अबको डेढ वर्ष पनि टोखाका विकास र समृद्धिमा आफ्नो टिम निरन्तर लागिरहने छ’ अधिकारीले भन्नुभयो, ‘विकासको लागि जनताको साथ र सहयोग अनिवार्य आवश्यक रहने भएकोले आउँदा दिनहरूमा पनि हामी तपाईंहरूको त्यत्तिकै सहयोगको अपेक्षा गर्दछौँ ।’ उहाँले नगरको भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर गौरवका आयोजनाहरू अगाडि बढाइने पनि बताउनुभयो ।
कार्यक्रमका सभापति तथा वडा नं. ११ का अध्यक्ष उत्तम अधिकारीले नगरस्तरीय र वडा स्तरीय छुट्टाछुट्टै योजनाहरूबाट विकासका कामहरू वडाले अगाडि बढाउँदै आएको बताउनुभयो । अधिकारीले भन्नुभयो, खानेपानी, ढलजस्ता जनताका अत्यावश्यक कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएकोमा अब भने भौतिक निर्माण र सडकका कामहरूलाई पनि प्राथमिकताका साथ गौरवको आयोजनाहरूमा राखेर सम्पन्न गरिने छ ।
आत्रेय निर्माण सेवा प्रा. लि. ले करिब २ करोड पाँच लाखमा निर्माण गर्न लागेको उक्त भवन २०७८ साल असोजमा निर्माण सम्पन्न गरी बुझाउनु पर्ने सम्झौता भएको छ ।

यसमा तपाइको मत