स्रष्टा परिचय / डा. पुष्करराज भट्ट

- प्रस्तुति : तारा के सी


डा. पुष्करराज भट्टको जन्म वि.स. २०३२ असार ४ गते माता राधिकादेवी भट्ट एवम्् पिता स्व. गोपालदत्त भट्टको सुपुत्रका रुपमा दशरथ चन्द नगरपालिका–५, कुमाली (बैतडी) मा भएको थियो । उनको स्थायी ठेगाना धनगढी उपमहानगरपालिका ५, हसनपुर (कैलाली) मा रहेको छ । उनको पहिलो प्रकाशित लघुकथा सुदूर पश्चिमाञ्चल साहित्य समाजको मुखपत्र सुुरभिमा वि.स. २०५७ कार्तिकमा प्रकाशित कमैयामुुक्ति लघुकथा हो । उनका प्रकाशित लघुकथा कृतिमा कर्मयोद्धा (२०५९), मुुक्तिदूूत (२०६२) एवम् एक थोपा सागरको (२०६४), आजका लघुकथा (संयुक्त, २०७४) रहेका छन् । उनले सम्पादन गरेका कृतिमा प्रज्ञा आधुनिक नेपाली लघुकथा (२०७३), लघुकथाको सुगन्ध (२०७५), विनय कसजूका लघुकथा सिर्जना र विवेचना (२०७७) पुस्तक एवम् पत्रिकामा नवप्रज्ञापन लघुकथा विशेषांक (२०७३) , नेपाली लघुकथा (अंक ४, २०७४) वनिता लघुकथा विशेषांक (२०७६) रहेका छन्् ।
भट्टले पाएका लघुकथा सम्बन्धित पुरस्कार एवम् सम्मानमा लघुकथा सम्मान (वि.स. २०७० र २०७४), मनुमुक्त मानव स्मृति लघुकथा गौरव सम्मान (भारतको हरियाणा, सन् २०१८), मनुमुक्त मानव स्मृति अन्र्तराष्ट्रिय लघुकथा सम्मान (भारतको हरियाणा, सन् डा. भट्टले नेपाली लघुकथामा त्रिभुवन विश्वविद्यालयबाट नेपाली लघुकथामा दर्शनाचार्य (एमफिल) एवम् विद्यावारिधि तहको अनुसन्धान पुरा गरेका छन् । नेपाली लघुकथामा अक्षयकोष सहित राखिएको पहिलो पदमा रामचन्द्र पुरस्कारका संस्थापक रहेका भट्ट लघुकथा समाजका कार्यसमिति सदस्य एवम् आधुनिक नेपाली लघुकथा पेजका संस्थापक व्यवस्थापक हुन् । उनी हाल पत्रकारिता एवम् स्वतन्त्र लेखनमा सक्रिय रहेका छन् । प्रस्तुत छ ः लघुकथाकार भट्टको लघुकथा ः

लघुकथा
सोचाइका आयाम
डा. पुष्करराज भट्ट
आफ्नो अध्ययन पश्चात डा. शिव शर्माले आफ्नै घर भएको क्षेत्रमा काम गरे । उनले जिल्लाको दुर्गम क्षेत्रमा गएर सेवा गरे । एकाएक कोरोनाको महामारी आएपछि त उनको जिम्मेवारी झन बढ्यो । उनले त्यस भेगका जनताको दिनरात सेवा गरे ।
“हाम्रो क्षेत्रमा यतिको डाक्टर पाउनु ठूलो कुरा हो । हिजोको दिनमा अहेब, कम्पाउण्डर पाउने पनि गाह्रो थियो ।”
“यो दरिद्र बस्तीमा जनताको सेवा गरेर डाक्टर साबले ठूलो गुन लगाउनु भएको छ ।”
“महामारीले हामीलाई त लगिसकेको थियो, डाक्टर साबले प्राण रक्षा गर्नुभयो ।” स्थानिय व्यक्तिका यस्तै भनाइ सुनिन्थे ।
एकाएक डाक्टर साबलाई असन्चो भयो । उनले आफ्नो स्वास्थ्य परिक्षण गराए । कोरोना पोजेटिभ देखियो । उनले सबलाई आव्हान गरे, “मलाई अहिलेको महामारीले छोएको छ । मेरो सम्पर्कमा आए जतिले आफ्नो स्वास्थ्य जाँच गराउनु होला ।”
डाक्टर साबले यो सूचना के दिएका थिए, मानिसहरूमा अर्कै प्रतिक्रिया देखिन थाल्यो । उनलाई देख्नासाथ नमस्कार गर्ने मानिस तर्केर भाग्न थाले । बाटोमा कतै देखिहाले पनि टाढाटाढा हुनथाले ।
समाजमा मानिसले यसरी प्रतिक्रिया दिन थाले ।
”यो डाक्टरको नजिक नपर्नु, यो रोगको भण्डार हो ।”
“यसले कतिलाई कोरोना सारिसकेको होला ।”
“रोग निको गर्न आएको भनेको त रोग सार्न पो आएको रहेछ ।”
आजकल डाक्टर साहब सामाजिक मनोविज्ञानको अध्ययन गरिरहेका छन् ।

यसमा तपाइको मत