छोरीको कुटाइबाट उदयपुरमा बाबुको निधन भएको छ। जिल्लाको लिमचुङबुङ गाउँपालिका ३ ताम्लिछाकी २८ वर्षीया अनिता मगरको कुटाइबाट ५५ वर्षीय बाबु नेत्रबहादुर मगरको निधन भएको जनाइएको छ।
मादक पदार्थ सेवन गरेका बाबुले आमालाई कुटेर घाइते बनाएपछि छोरीले बाबुमाथि कुटपिट गर्दा उनको मृत्यु भएको वडाध्यक्ष भविन्द्र राईले बताए। उनका अनुसार छिमेकीको घरमा बिहे खाएर फर्केका मगरले पारिवारिक विषयमा बिबाद हुँदा श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएपछि घट्ना भएको हो।
वडाध्यक्ष राईका अनुसार सोमबार साँझ छिमेकी पदम विककी छोरीको बिहेमा हल्का मादक पदार्थ सेवन गरेका मगरले घर आएपछि श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएका थिए। घर झगडा भएको कुरा स्थानीयले सुनाएपछि बिहेघरमै रहेकी अनिता माईत आएर बाबुमाथि ३ लात्ती प्रहार गर्दा घट्ना हुन पुगेको उनले बताए।
हल्का मादक पदार्थ सेवन गरेकी छोरीको लात्ती प्रहारबाट गम्भीर घाइते मगरको बुधबार साँझ निधन भएको हो। उनको कुटाइबाट घाइते आमाको टाउकोमा ३ टाँका लगाएर उपचार भईरहेको वडाध्यक्ष राईले बताएका छन्। इलाका प्रहरी कार्यालय बाराहा र जिल्ला प्रहरीबाट गएको टोलीले बिहीबार घट्नाको सर्जमिन मुचुल्का उठाई मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम गाईघाट लगिएको छ।
कुटपिट गर्ने अनितालाई बाबुको हत्या आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।



