शेखरकुमार श्रेष्ठको जन्म वि.स. २०३१ माघ २९ गतेका दिन लक्ष्मी श्रेष्ठ एवम् नारायणबहादुर श्रेष्ठका सुपुत्रका रुपमा दक्षिणकाली नगरपालिका ३, फर्फिङ, सोखेल (काठमाडौं ) मा भएको थियो । उनको सगरपुर (२०६०) लघुकथा कृति प्रकाशित छ । उनी प्राध्यापक, लेखक एवम् अनुसन्धानकर्ताको रुपमा परिचित छन् । श्रेष्ठ नेपाली साहित्यका विश्वविद्यालय स्तरका पाठ्यपुस्तकका लेखक हुन् । उनी हाल लघुकथा पाठशाला नामक फेसबुक पेजका व्यवस्थापकका रुपमा रहेका छन् ।
लघुकथा ः कमिसन
शेखरकुमार श्रेष्ठ
“आमा ! आमा ! बोल्नुहोस् न । तपाईँलाई केही हुँदैन । म छु आमा । म तपाईँलाई केही हुन दिन्न । म तपाईँको उपचार गरी निको पार्छु, आमा ।” गङ्गालाल हृदय रोग अस्पतालको ह्विलबेडबाट आकस्मिक कक्षमा लाँदै गर्दा ऊ आमालाई भन्दै छ ।
ऊ कहिले हात, कहिले छाती त कहिले दुवै गाला समातेर टाउको हल्लाउँदै आमालाई ब्युँझाउने चेष्टामा छ ।
“लौ छिटो गर्नुहोस् । छिटो गर्नुहोस् । मेरो आमालाई हृदयाघात भएको छ । छिटो हेरिदिनुस् । होइन तपार्इँ के हेर्दै हुनुहुन्छ ? छिटो चेकअप गरिहाल्नुस् । मेरो आमालाई बचाउन सके जत्ति गर्नुस् । केही ढिलासुस्तीका कारण आमालाई केही भयो भने म छाडदिनँ । यस अस्पतालमा आगो बाल्छु ।”, ऊ डाक्टरलाई पनि उत्तेजित हुने गरी हकार्छ ।
“भैगो तपार्इँ चुप लाग्नुहोस् । हामी प्रयास गर्दै छौँ । ल इसिजी, ल्याब टेस्ट, ज्वरो हेर्नुहोस् । प्रेसर पनि हेर्नुस । भ्यालेन्टरमा राख्नुस् ।”
“मेरो आमालाई त केही हुँदैन नि डाक्टरसाहेब । भर्खर पैँसट्ठी वर्षको हुनुभयो ।” ऊ केही गलित आवाजमा बोल्छ ।
“हेर्दै छौँ । एकछिन धैर्य गर्नुहोस् । समयमा नै ल्याउनुभएको छ । सायद केही हुँदैन । रिपोट पहिले आउन दिनुमोस् ।”, डाक्टर नम्रताका साथ उत्तर दिन्छन् ।
ऊ घरि दायाँ घरि बायाँ गरिरहन्छ । ऊ रिपोट पर्खन्छ ।
“सुन्नुहोस् त, तपार्इँको बिरामीलाई तुरुन्त मुटुको भल्भको अप्रेसन गर्नुपर्ने छ । सत्तरी वर्षको पुग्नुभएको भए अस्पतालले सिँत्तैमा गरिदिन्थ्यो तर अलि उमेर कम रहेछ । त्यसैले तीन लाख रुपैया जम्मा गर्दै रहनुहोस् । हामी अप्रेसनको सामान ठिक गर्छौँ ।”, डाक्टर बोल्छन् ।
“डाक्टरसाहेब, एकछिन सानो कुरा थियो ।” डाक्टरलाई कुनातिर लगी साउतीको स्वरमा भन्छ ।
“के कुरा ?” डाक्टर जिज्ञासा राख्छन् ।
“म त मध्यस्थकर्ता हुँ । मलाई कति कमिसन आउँछ नि ? कमिसन नभई मेरो परिवारलाई म पाल्न सक्दिनँ ।”, ऊ डाक्टरबाट उत्तर आउने अपेक्षा गरी बस्छ ।



