वरिष्ठ लघुकथाकार श्रीओम श्रेष्ठ ‘रोदन’ को जन्म २०१९ कार्तिक १५ गते लक्ष्मीपुजाका दिन बेलकुमारी श्रेष्ठ एवम् स्व. शिवकुमार श्रेष्ठका सुपुत्रका रुपमा झम्सिखेल, ललितपुरमा भएको थियो । उनको पहिलो लघुकथा वि.स. २०४६ मा सौरभमा प्रकाशित भएको थियो । उनका प्रकाशित लघुकथा कृतिमा आँखीझ्याल (२०५७) र भ्रममार्ग (२०६७) रहेका छन्् । उनले सम्पादन गरेका लघुकथा सम्बद्ध पत्रिकामा शुुभारम्भ (२०५५), सञ्चयन (२०५५), सारांश (२०५८), मधुपर्क लघुकथा विशेषांक (२०५६ र २०७२) एवम् नेपाली लघुकथा (अंक एकदेखि निरन्तर) रहेका छन् । उनले प्रथम राष्ट्रव्यापी लघुकथा प्रतियोगिता (२०५४) र दोस्रो राष्ट्रव्यापी लघुकथा प्रतियोगिता (२०५५) को संयोजन गरेको पाइन्छ । उनले हालसम्म प्राप्त गरेका लघुकथा सम्बन्धित पुरस्कारमा मनुमुक्त मानव स्मृति लघुकथा गौरव सम्मान (सन् २०१९) रहेको छ । श्रेष्ठ लघुकथा समाज, नेपालका अध्यक्ष हुन् । प्रस्तुत छ ः लघुकथा सर्जक श्रीओम श्रेष्ठको लघुकथा शक्तिसूत्र ः
शक्तिसुत्र
साम्प्रदायिक रूपमा मजदुरहरू विभाजित थिए । फलतः उनीहरूको कुनै पनि माग पुरा हुन सकेको थिएन । सबैले साङ्गठनिक रूपमा एकताको महसुस गरेर एकिकृत भए । सँधै भयग्रस्त हुनुपर्ने स्थितिबाट छुटकारा पाउनका लागि सुरक्षा र सुविधाका माग राखेर हडताल गरे । हडताल भएको हप्तौं दिनसम्म पनि स्थिति शान्त हुन सकेन । व्यवस्थापनले पूर्ववत प्रलोभन र डर देखाएर बिथोल्न सकेन । मजदुरहरू आक्रमक हुँदै गए । कारखाना बन्द भएको दिन बढ्दै गयो ।
व्यवस्थापनले हडतालीहरू लाई नोकरीबाट अवकाश दिने धम्की दियो, कोही डराएनन् । राजनीतिक पार्टीका नाममा विभाजन गर्न खोजियो । कोही पनि भट्किएनन् । प्रहरीद्वारा लाठीचार्ज गराए । घाइते भएकाहरू पनि विचलित भएनन् । दमकलद्वारा पानीको फोहरा हान्न लगाए । माखेसाङ्लो झै बनेको मजदुरहरूको एकता टुटेन ।
हार मानेका व्यवस्थापकहरूले अन्तिम अस्त्रका लागि रूपमा विभिन्न धर्म र साम्प्रदायिक गुरूहरूबाट प्रवचन गराउने निर्णय गराए ।
धार्मिक गुरूहरूको प्रवचन सुरू हुनासाथ मजदुरहरूको एकिकृत समूह चल्मलाउँदै तीन समूहमा विभक्त भयो ।
सम्प्रदायिक नेताको भाषण सकिन्जेलसम्म मजदुरहरू दशौं समूहमा विभाजित भएर एक–आपसमा भिडन्त गर्न थालिसकेका थिए ।
भोलिपल्ट देखि व्यवस्थापनले चाहे अनुरूप कारखाना सञ्चालन हुन थाल्यो ।



