लघुकथाकार कृष्ण बजगाईको जन्म २०२४ असार ९ गतेका दिन धरान, सुनसरीमा नारादेवी बजगाई र रामकुमार बजगाईका सुपुत्रका रुपमा भएको थियो । वि.स. २०४८ बाट लघुकथा लेखनमा लागेका उनका प्रकाशित कृतिमा यन्त्रवत् (२०६४), रोडम्याप (२०६६), कवज (२०७३) रहेका छन्् । उनले नेपालमा जागीरको क्रममा साहित्यिक गतिविधिमा सक्रिय भएको पाइन्छ । कृष्ण बजगाईँले युरोपका विभिन्न देशमा रहेर नेपाली भाषा साहित्यिका क्षेत्रमा कार्य गरेका छन्् । उनी हाल बेलायतमा रहेर समकालीन साहित्य प्रतिष्ठानको अध्यक्ष, समकालीन साहित्य पत्रिकाको प्रधान सम्पादक एवम् प्रवासन अनुसन्धानमूलक पत्रिकाको सम्पादन, प्रकाशन गर्दै आएका छन् । उनी लघुकथा समाजका अन्तरराष्ट्रिय संयोजक समेत रहेका छन् । प्रस्तुत छ ः लघुकथाकार कृष्ण बजगाईँको लघुकथा
लघुकथा
पात्रहरू
-कृष्ण बजगाईं
मष्तिस्कमा गर्भाधान भएको कथा कम्प्युटरको ‘वर्ड फायल’मा सफलताका साथ डेलिभरी गरेपश्चात् लेखकले लामो सास फेर्यो । र, कुर्सीमै बसेर एकछिन आँखा बन्द गर्यो । लेखकले टाइप गर्न छाडेर आँखा बन्द गरेलगत्तै कथाका पात्रहरू एकआपसमा संवाद गर्न थाले ।
‘आआफ्नै भाग्य त होला नि, कोही असल पात्र त कोही खराब पात्र भएर जन्मिनुपर्ने ! हामीमध्ये कसैको क्या राजसी जीवन, कसैको दुःख र पीडाको भारी !’ कथाको एउटा पात्रले पीडा ओकल्यो ।
‘मेरो त यति खराब चरित्रको बनाइएको छ कि पाठकका अगाडि मुख देखाउनै नमिल्ने । ममाथि त ठुलो अन्याय भएको छ ।’ कथाको खलपात्रले गुनासो गर्यो ।
‘मेरो चरित्रअनुसार लेखकले न्याय गर्न सकेनन् । मलाई कमजोर रूपमा प्रस्तुत गरे ।’ कथाको मुख्य पात्रले असन्तुष्टि जनायो ।
‘लेखनमा होस् वा मानिसका समाजमा, हामीलाई कमजोर र चरित्रहीन नारीका रूपमा प्रस्तुत गरिन्छ । न त समाजमा लोग्ने मानिसहरूले इज्जतसाथ बाँच्न दिएका छन् न लेखकले आफ्ना सिर्जनाहरूमा । नारी भनेर के साह्रो हेपेको हँ ?’ कथाकी नारी पात्र बोली ।
कथाको बुद्धिमान् पात्र गम्भीर भएर बोल्न थाल्यो– ‘कथाका पात्रहरूले आफ्नो चरित्रका बारेमा किन यति गम्भीर भएर सोचेको होला ? हामी त यस कथाका फगत पात्र मात्र त हौँ नि । हाम्रो चरित्रका बारेमा के कुरा गर्नु र ? लेखकको विचार मात्र होइन चरित्र पनि छिनमै बदलिन्छ । अर्को कुरा, हाम्रो चरित्र चित्रण गर्ने लेखकै आयुको टुङ्गो छैन । हामी नै पनि कति पो बाँच्छौँ र पाठकका मनमा ….।’
अचानक लेखकका आँखा खुल्यो । अरू पात्रहरूले आफ्ना कुरा भन्नै पाएनन् लेखकले सम्पूर्ण कथा डिलिट गर्यो ।



