स्रष्टा परिचय:- पिता गणेशप्रसाद काेइराला र माता डम्वरकुमारी काेइरालाकाे सुपुत्रीकाे रूपमा बि सं.२०२९ बैषाक २८ गते महादेवस्थान गा. बि . स – १ मुलबारी भाेजपुरमा जन्मनु भएकि स्रष्टा मन्दिरा मधुश्रीले नेपालीमा एम.ए सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। ” जीवन भाेग र मृत्यु” लघुकथा अावाज( नेपाल बैक स्मारिका) मा प्रकाशित भएकाे उहाँकाे पहिलाे लघुकथा हाे। उहाँले कथा, लघुकथा ,गजल र गीतहरूमा कलम चलाउदै अाउनु भएकाे छ। उहाँका प्रकाशित कृतिहरूमा- “बुधनकाे घाेडी” कथा संङ्ग्रह-२०७३ “मधुराग” गजल संङ्ग्रह-२०७६ र उहाँद्वारा रचित गीतहरू पनि रकर्ड भएका छन्। उहाँले अभिनव हवाई पत्रीका बिराटनगरमा २०५५/५६ सम्म सम्पादन गर्नु भएकाे थियाे।त्यस्तै उहाँले सम्पादन गर्नु भएका पत्रिकाहरू पुर्वाे साइवर पाक्षिक बिराटनगर- २०६१ प्रधान सम्पादक ,गाउँघर मासिक खनार सुनसरी प्रधान सम्पादक, सुलेख साहित्यिक मासिक सम्पादक सदस्य २०६८ रहेका छन्। उहाँ उत्कृष्ट कथा बिशेषाङ्क पुरस्कार कन्काई प्रतिभा प्रतिष्ठान सुरूगा झापा-२०६०,षडानन्द प्रतिभा पुरस्कार – २०७४ , अाेम कार्की स्मृति साहित्य पुरस्कार-२०७५,कवडाँडा राष्ट्रिय कथा प्रतियोगितामा तृतिय पुरस्कार-२०७६ र नवरंग नारी सम्मान-२०६० बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ। उहाँ संलग्न हुनु भएका संघ संस्थामा – संस्थापक अध्यक्ष डम्वर कुमारी गणेश साहित्य प्रतिष्ठान/ संस्थापक अध्यक्ष डम्वर कुमारी गणेश अाख्यान पुरस्कार र साहित्य संचार समूह इटहरी अाजिवन सदस्य,बनिता त्रैमासिक अाजिवन सदस्य,गुन्जन अाजिवन सदस्य ।उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा अाज प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताकाे कामना गर्दछाै।
लघु कथा: अन्याेन्याश्रित
मन्दिरा मधुश्री
पुस्तक विमोचन समारोहको ब्यानर झुन्ड्याइयो । आगन्तुकहरुको उपस्थिति राम्रै थियो ।मंचमा प्रकाशक संस्थाका अध्यक्ष, प्रमुख अतिथि, कृतिका लेखकलाई आशन ग्रहण गराए उद्घघोषकले । प्रमुख अतिथिबाट पुस्तक विमोचन भयो । पररर ताली बजाए निम्तालुले । पुस्तक नि:शुल्क बाँडियो ।
प्रकाशक संस्थाका अध्यक्षले पुस्तक र लेखकमाथि मन्तव्य दिए । “नयाँ प्रयोगवादी वरिष्ठ लेखकको बिल्कुलै नयाँ शैली र भावको पुस्तक प्रकाशन भएको छ ।यस्तो गहन कृति प्रकाशन गर्न पाउनु हाम्रो संस्थाको अहोभाग्य हो ।”
केही दिनपछि पुनःकार्यक्रमको निम्तो बाँडियो । उहि ठाउँ निम्तालुहरु उनै । उनै लेखक । उही प्रकाशक संस्था । सबै उस्तै । समय तिथि र ब्यानरको बिषय मात्रै भिन्दै ।
“वरिष्ठ लेखक फलानोको चर्चित कृतिमाथी पाठकीय अन्तर्कृया ।”
सित्तैमा पुस्तक लगेका दुइचार जनाले नुनको सोझो गरे । अल्छि लागेपनि चुपचाप सहिदिए इमान्दार निम्तालुहरुले । समोसा चिया र रसबरिले स्वागत भयो ।
पुस्तक निस्केको एक बर्ष पुग्न लाग्दा फेरि अर्को कार्यक्रमको आयोजना भयो । सबैथोक ऐजन ऐजन । ब्यानरको भाका मात्रै फरक । “बेस्ट सेलर अवार्ड सेरोमोनी” अङ्ग्रेजी भाषा नेपाली छापामा ।
नयाँ प्रयोगवादी वरिष्ठ लेखक फलानाको कृती नयाँ प्रयोगमा अत्यधिक चर्चित र सफल भएकोले यस संस्थाबाट प्रकाशित कृतिमध्ये सर्वोत्कृष्ट कृति पुरस्कार दिइएको छ ।
उद्घोषकले प्रमाणपत्रको भाका पढे । पचास हजारको थैलि, ताम्रपत्र, दोसल्ला र दुवोको मालाले सुशोभित भए लेखक महोदय ।
समारोहका बिशेष ब्यक्तिहरु लेखक ,प्रकाशक बेलुकी एउटै टेबलमा बसे । लेखकको आयोजनामा भएको साँझको कार्यक्रममा प्रकाशकले लेखकलाई धाप मार्दै भने, “ल बधाई छ है यत्रो ठूलो पुरस्कारका लागि ।
“यो सबै यहाँकै कृपा त हो । म कहिल्यै नलेखेकोलाई लेख्न लगाउनु, कृतिलाइ सफल र चर्चित बनाउनु, यत्रो पुरस्कार । यहाँको यो गुणप्रति कृतकृत्य छु । लेखकले लर्बरिएको स्वरमा भने ।
“के कुरा गरेको यार ! तपाईंले चाहिँ हाम्रो संस्थामा पाँचलाखको सेयर किनिदिनु सानो गुण हो र ? प्रकाशकको पनि बोली लरबरिएकै थियो ।



