स्रष्टा परिचय / गंगा बस्नेत( खड्का)

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता केशरबहादुर बस्नेत र माता धन बस्नेतकाे सुपुत्रीकाे रूपमा बि.सं २०३७ असाेज १९ गते काठमाडौं अालापाेटमा जन्मिनु भएकि स्रष्टा गंगा बस्नेत( खड्का) ले नेपाली र अर्थशास्त्र बिषयमा स्नातक गर्नुभएकाे छ भने हाल उहाँ शिक्षण पेशामा कार्यरत हुनुहुन्छ। साहित्य सिर्जना र समाज सेवामा पनि त्यतिकै सक्रिय रहदै अाउनु भएकाे स्रष्टा गंगा बस्नेत ( खड्का) ज्यू बुढानिलकण्ठ खप्तडी खड्का समाजकाे स्मारिका काे सम्पादक पनि हुनुहुन्छ। समाजिक संजालमा उहाँका मुक्तक, हाइकु र लघुकथाहरूलाई पाठकले रूचाएकाे पाइन्छ। नव सर्जक गंगा ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकाे छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा: खुसी
गंगा खड्का
“मकमक घुर्र ! मकमक घुर्र !”
” होइन ए आमा परेवालाई कति पल्काउनुहुन्छ ? घरभरि परेवाको गुहु नै गुहु छ।सफा गर्ने कोही छैनन् ,खाली फोहोर पार्ने मात्रै छन् ।”
बुहारीको कर्कशापछि लक्ष्मीले परेवालाई चामल हाल्न छाडिन् ।कौसीमा घाम ताप्न उक्लँदा भोकाएका छोराछोरी आमाको वरिपरि झुम्मिएजसरी परेवाहरु झुम्मिन्थे।त्यही पिरलोले कौसीमा गएर घाम ताप्न छोडिन् ।
” आमालाई कोरोनाको बेलामा लखरलखर गाउँतिर नजानु भनेको पटक्कै मान्नुभएन ।कुन दिनमा आमाले कोरोना बोकेर ल्याउन बेर छैन ।”
छोराको निषेधाज्ञापछि उनले घरबाहिर निस्कन छाडिन् ।
” मामु मलाई हजुरआमासँग भात खान नबोलाउनु है।जहिल्यै खाने बेलामा अड्क्यो भनेर नाटक गर्नुहुन्छ ,सर्क्यो भनेर खोक्नुहुन्छ।।चुठ्ने बेलामा त झन् ख्यारख्यारखुरखुर गरेर कस्तो फोहोर लाग्ने काम गर्नुहुन्छ ।”
नातिनीको मनोभावना बुझेर नातिनीले खानुभन्दा अगाडि वा पछाडि मात्रै खान थालिन् ।
” छि हजुरआमाले कस्तो छिटो छिटो सास फेर्नुभएको।” उनलाई दम बढेको बुझ्न नसक्ने आठ वर्षीय नातिले भन्यो।
” के गर्छस् त बाबु ! सबैको खुसीको लागि आफूले गरेर सम्भव हुने कुरा छोडिसकेँ।तँलाई त मेरो सासले पिरल्यो ,जुन कुरा छोड्नु मेरो वश बाहिर छ।”
यति कुरा मनमनै सोचेर पुलुक्क नातितिर हेरिन् ।नाति कुकुरलाई पटकपटक म्वाइँ खाएर भन्दै थियो , ” सेरु आज नुहाइदिएपछि तँ कति राम्रो देखिएको…… !!!”

यसमा तपाइको मत