स्रष्टा परिचय / गीता तिवारी

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- लघुकथाकार गीता तिवारीकाे जन्म २०२९ मंसिर १ गते पाेखरा -१६ कास्कीमा पिता चुडामणि तिवारी र माता बुद्धिमाया तिवारीकाे सुपुत्रीकाे रूपमा भएकाे थियाे। उहाँले नेपालीमा एम.ए. सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। साहित्य सिर्जना , नयाँ ठाउँकाे भ्रमण र समाजसेवामा रुचि राख्ने गीता ज्यू ले नेपाली लघुकथा बिधामा कलम चलाउँदै अाउनु भएकाे छ। उहाँका लघुकथाहरू लघुकथा सम्बन्धि खाेलिएका विभिन्न फेसबुक पेजहरूमा प्रकाशित हुँदै अाएका छन्। अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताकाे कामना गर्दछौं !

लघुकथा : नयाँ सिरक
गीता तिवारी

“यसपालि त जाडो पनि कति बढेको हो , कि बुढी हुँदै गएर धेरै जाडो लागेको हो कुन्नी ? यो सिरक पनि सार्‍है पाताले भएको छ ।” हजुरआमा एक्लै बोल्दै थिइन। एक्लै के भन्नू र आडैमा नातिनी होमवर्क गरेर बसेकी थिइ । हजुरआमाको कुरालाई उसले मतलबै गरिन ।
“आज त छोरा आएपछि भन्नै पर्यो आमाले मनमनै भनिन ।”
“बाबू मलाई असाध्यै जाडो हुन थाल्यो , मेरो यो पुरानो र पातलो सिरकले अहिलेको जाडो छेक्न सकेन । रातभरी जिउ तात्दै तात्दैन ।” आमाको कुरा भुइमा खस्न नपाउदै छोराले भन्यो , “आमा तपाईंले यस्तो बेलामा पनि कस्तो माग राख्नुभएको हो ? अस्ति भर्खरै तपाईको नातिलाई त्यति खर्च गरेर बिदेश पठाएको छ । फेरि उर्मिलाको भदाको बिहे पनि यै महिनामा छ , सबैले एउटै सारी लगाउने भनेका छन रे ! त्यहाँ पनि खर्चनै चाहियो । आम्दानी घटेको छ खर्च बढेको छ । अब यत्ती माघको महिना त हो नि जाडो हुने , त्यै सिरकमा पुरानो कम्मल खापेर ओढ्नु यो बर्षको जाडो गैहाल्छ । अर्को जाडो लाग्ने बित्तिकै नयाँ सिरक किनौला ।

आमालाई कतै देख्दिन कता जानुभएछ ,उसले भन्यो।यतै कतै हुनुहोला नि , बुहारीले भनी। मन्दिर गइन होलानी बुढी , नातिले भन्यो । आमालाई कतै नदेखेपछि सानी छोरीलाई आमाको कोठामा हेर्न पठायो।

आमालाई निमोनिया भैसकेको छ आइसियुमा राख्नु पर्छ , डाक्टरले भने

आमा बितेको आज तेर्हौ दिन । आगन्तुकहरुको भिडभाड थियो । क्याटरिङ्ग नै बोलाएर खानाको ब्यबस्था भएको थियो ।
नयाँ पलङ्गमा नयाँ बिस्तारा बिच्छ्याइएको थियो त्यही बिस्तारामा मलमलको खोल सहितको बाक्लो नयाँ सिरक पनि थियो ।
आगन्तुक हरुले भने , कति राम्रो बिस्तरा ! यस्तो पो हो दान गर्ने , लिनेले पनि भरपुर उपयोग गरून् ।
छोरा हुनु त यस्तो…. , भाग्यमानी रहिछन बुढी !!
*****

यसमा तपाइको मत