स्रष्टा परिचय / धन्वन्तरि मिश्र

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- लघुकथाकार धन्वन्तरि मिश्रकाे जन्म बि.स.२०१८ चैत १ गते माता स्व. करूणा मिश्र र पिता स्व. कृष्णबहादुर सिंह काे सुपुत्रकाे रूपमा भएकाे थियाे। उहाँकाे पहिलाे कथा ” आदेश” २०३९ मा ” उत्साह” त्रैमासिकमा प्रकाशित भएकाे थियाे। विभिन्न पत्रपत्रिकाहरूमा उहाँका लघुकथा, सुत्रकथा, कविता, प्रकाशित हुदैे अाएका छन्। सुत्र उपन्यास ” काेमामा आमा ” उहाँकाे प्रकाशित कृति हाे। हाल माछापाेखरी बालाजु – १६ मा बस्दै अाउनु भएका मिश्र ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा : छी: लाछीहरू
— कात्यायन

“छी: लाछीहरू !”…

फेवातालको पश्चिम तटमा बसेर, सूर्यको पहिलो किरणले स्वर्णिम बनाएको पूर्वको माछापुछ्रे हिमाल, उत्तरतर्फको अन्नपूर्ण तथा धवलागिरी लगायत पर्वतका अन्य टाकुराहरूको, दृश्यावलोकन गर्नमा तल्लिन अन्तरिक तथा बाह्य पर्यटकहरु झसंग हुन्छन् ! नदीभित्र देखिएको माछापुछ्रेको चुचुरामा रक्तिम अक्षर कुँदिएको थियो, “छी: लाछीहरू !”

फेवा र वैदाम गाउँमा अवस्थित वैदामताल भक्कानिंदै आक्रोश पोखिरहेकी थिइन्, “छी: लाछीहरू !”

फेवातालको अन्तर्वाह खोलाहरू हर्पन र फिर्के समाहित हुँदै तालभित्र वरिपरिका वस्ती र मनहरूलाई गिजाउँदै थिए, “छी: लाछीहरू !”

चारैतिरबाट साँघुरिंदै अन्तरदाहमा पिल्सिएकी ताल, ज्वारभाटा बन्दै मध्यभागमा अवस्थित बाराहीलाई उफार्दै घण्टा बजाउंदै थिईन, “छी: लाछीहरू !”

“लज्जा छैन ?” जलाग्नी हुँदै जलका थोपा-थोपाले प्रश्न गरिरहे झैँ लाग्थ्यो |

“मभित्र देखिएको प्रकृतिका क्षणिक दृश्यमा रमाउने तिम्रा आँखाहरू, मलाइ नंगाउँदै र छोप्दै गएका जलकुम्भी झारहरू देख्दैनौ ! मेरा सौन्दर्यलाई कूरुप बनाउने तिम्रा सुखसयलका अवशेषहरू देख्दैनौ ! मलाई जीवन्तता प्रदान गर्ने, मेरा वरिपरिका मासिँदै गएका सिमसारहरू संरक्षण गर्न सक्दैनौ ! छी: लाछीहरू !”

बबण्डर आँधीबेहरी लहराए झैँ भएर, तालका यत्रतत्र वेवारिसे लाश झैँ लढेका दाऊरा-मूढाहरू एवं मानव-सिर्जित फोहोर-मैलाहरूले पोखरा, सराङकोट, कास्कीकोट, ढिकुरपानी लगायत वस्तीहरूका वायुमण्डलभरि कोकोहोलो मच्चाइरहेका थिए, “छी: लाछीहरू !”

लाग्थ्यो, फेवाताल आकाशमा उड्दै-उड्दै, दक्षिणतर्फको डेभिस-फलको रमणीयतामा रनभूल्ल परिरहेकाहरूको मुटुमा बज्रिंदै गर्जिरहेछ, “छी: लाछीहरू !”

र पनि, अनिर्णित हाम्रा नजरहरू एकतमासले उनकै सौन्दर्यलाई निहालिरहेका थिए | फेवा लहराउँदै ललकारछिन्, “कति किनारमा मात्र बसेर मलाई नंगाउँछौ ? नजरले मात्र कति करणी गरिरहन्छौ ? आऊ मभित्र तरंगित हौ ! कोपर ! चिथर ! मेरो मुटुमा राज गर !… सर्वप्रथम, मेरा मैलाहरू माड ! स्नान गराऊ ! मलाई सृंगार ! माझी बन !… छी: लाछीहरू !”
*** *** ***
चाबहिल, काठमाडौँ – ७ |

यसमा तपाइको मत