स्रष्टा परिचय / इन्दिरा प्रसाईं

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- लघुकथाकार इन्दिरा प्रसाईंकाे जन्म २०१४ साल फागुन ३ गते दार्जिलिङ भारतमा पिता गणेशप्रसाद शर्मा र माता दुर्गादेवी नेपालकाे सुपुत्रीकाे रूपमा भएकाे थियाे। उहाँले त्रिभुवन बिश्वबिद्धालय बाट एम्.वी.ए सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ भने महिन्द्र माेरङ अादर्श क्याम्पस बिराटनगरमा २०४७ देखि २०५१ र पशुपति बहुमुखी क्याम्पसमा २०५६ देखि २०७१ सम्म प्राध्यापन गर्नु भएकाे थियाे। हाल उहाँ नइ प्रकाशन र त्रिमूति निकेतनकाे संस्थापक अध्यक्ष रहि निरन्तर नेपाली भाषा साहित्यकाे सेवा र बिकाशमा लागिरहनु भएकाे छ। उहाँले नेपाली भाषा साहित्यका विभिन्न बिधामा लेख्नु भएका ५३ अाेटा कृतिहरू प्रकाशित छन्। कथासंङ्ग्रहहरूमा – ” मन सायद उघ्रदैन (२०५१) , बयान(२०५५) , दाेस्राे सत्ता (२०६२) ,मेराे कथा नलेखिदिनुस् (२०७४) छन् भने उपन्यासमा विश्वमित्र – २०५५ ,रनमाया – २०५८ , शिखा -२०५९, उसकाे लाेग्ने र बिरालाे – २०६०, The Husbend# the cat- 2005-A.D ( इजिप्ट सरकारकाे संस्कृति मंन्त्रालयबाट प्रकाशित) ,Ranamaya- 2017A.D कविता संङ्ग्रहमा – बाईपङ्खी घाेडा- २०५७, तिमी नहुनु( लामाे कविता- २०५७), नेपाल न्युज डट . कम( २०५९), माल्दाइलाई चिठी(२०६१), ए समुन्द्र (लामाे कविता-२०६३), शारदा( लामाे कविता- २०६९), Being of you(2017 A.D) , खण्काब्य हरिमाया-२०७४, समीक्षात्मक पत्रनिबन्ध प्रिय नरेन्द्र(२०६१), जीवनी मुलक निबन्ध मेरी सासू (२०६५),भागीरथी प्रसाईकाे निवार्ण-( २०६९),समीक्षा उषा शेरचनकाे सङ्खघाेष (२०७२) लगाएत थुप्रै कृतिहरू प्रकाशित छन्। उहाँले प्राप्त गर्नु भएका पुरस्कार र सम्मानिविभुषण गरिएकाउहाँले प्राप्त गर्नु भएका पुरस्कार र विभुषणहरूमा – युवा बर्ष माेती पुरस्कार- २०५१ , मैनाली कथा पुरस्कार- २०५२ ,राष्ट्रिय प्रतिभा पुरस्कार -२०५२,राष्ट्रिय गाैरव युवा सम्मान २०५३, भनुभक्त सम्मान-२०६२, दीपज्योति पुरस्कार – २०६७,देरूनीख पुरस्कार – २०६७, भानुभक्त स्वर्णपदक -२०७१, भारती खरेल पुरस्कार -२०७३ विभुषण गद्दी आराेहणकाे रजतमहाेत्सव पदक- २०५३, प्रवल गाेरखा दक्षिणबाहु- २०५७, बीरेन्द्रऐश्वर्य सेवा पदक- २०५८ रहेका छन् । अाज म उहाँले आधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेजअनलाइन डट कममा स्रष्टा परिचय सहित प्रकाशित गर्दछु । हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा : ३ : जात

इन्दिरा प्रसाई

‘हो, हजुर पन्ध्र दिन भो’ पहाडबाट झरेको । उता बाआमा सानैमा खसिहाल्नुभयो । दिदी एउटी- पोहोरमात्र पोइल गई । म एक्लो- घरखेत सबै साहुका पञ्जामा परिगो’ । यता अब नोकरी गरौँ भनी खोज्दै हिँडेको । बनिबुतोको अलि रुपैयाँ बाटोखर्च ल्या’थे त्यो पनि सबै सकिगो ।’ अब त खोइ… आज तीन छाक भो’ केही खाएको छैन ।’ उसले आशलाग्दो नजर ममा पोख्यो । मैले उसलाई राम्ररी नियालेर हेरेपछि आफ्ना घरमा पनि यसो बिहानबेलुकी भात पकाई धन्धा गर्ने मान्छेको आवश्यकता घरका मान्छेले महसुस गराएको सम्झना भयो ।
‘नाम केहो ?’
‘साइँला’
‘जात ?’
मेरो प्रश्नको जवाफमा ऊ एकक्षण अन्कनायो र कालो, हिलाले खाएको, लामोलामो मैलो नङ भएको गोडाले भूइँको माटो कोट्यायो ।

‘विश्वकर्मा’- उसले भन्यो ।
यसपल्ट उसले मलाई निकै मायालाग्दो गरी तर निराशापूर्ण दृष्टिले हेर्यो ।

‘पानी चल्दैन- हामी उपाध्याय ब्राह्मण, भएन भाइ ! के गर्ने, नमानौँ भन्दा पनि परम्परादेखि मान्दै आएको कुरा हो । लौ त ।’
त्यसपछि उसलाई एकपल्ट राम्ररी हेरेर म उसबाट छुट्टिएँ ।
•
फेरि मैले उसलाई लामो अन्तरालसम्म भेटिन ।
•
एक दिन हाम्रो परिवारलाई नजिकैका नातेदारका घरमा श्राद्ध भएकाले चुल्है निम्तो थियो । बिहानको भात उतै खानुपर्ने हुनाले हामी यथासमयमा नै पुग्यौँ । भात खाने समय भएपछि उक्त परिवारका केही सदस्य र हाम्रो परिवार भात खान बस्यौँ । मटमैलो धोती बेरेका भान्सेबाजे निहुरेर खाना पस्किरहेका थिए । उनको नाङ्गो ढाडको मैलो जनैमात्र प्रष्ट देखिन्थ्यो । भात पस्किसकेर उनले चुहिन आँटेको पसिना पुछे । मैले यसपल्ट उनको अनुहार राम्ररी हेरेँ … साइँला ! मैले झण्डै बोलाएँ । उसले मलाई एकक्षण हेर्यो र चिनेछ क्यार, उसका अनुहारमा डरका रेखाहरू देखा परे । उसका घरपटीले ‘भात सार न ! के हेरेको ? मान्छे देखेका छैनौ ।’ भनेर हप्काएपछि उसले काम्दो हातले खाना सार्न थाल्यो । त्यसबखत उसको हात बेस्सरी काम्दै गरेको देखेँ । मेरा लागि ल्याउँदै गरेको दालले उसको हात पोलेछ र अलिकति पोखियो पनि । घरपटीले गाली गर्दै भने-‘यो बाउनको ढङ्गै छैन । हरिकङ्गालले आफ्ना घरमा कहिल्यै भात पनि देखेको थिएन क्यार ।’ मपट्टि हेर्दै भन्दै गए ‘के गर्नु आजकल मान्छे पाइन्न त्यसै हुनाले पहाडबाट भरखर झरेको, सोझै रहेछ भनी राखेको…’ उनी अरू पनि केके भन्दै गए ।
‘लौ सुरु गरौँ’- भन्ने घरपटीको भनाइपछि हामीले भात खान सुरु गर्यौँ । मलाई भने दुई गाँस पर्तिर छिर्दै छिरेन ।
‘मलाई सन्चो भएन’ भन्ने बहाना पारेर म उठेँ । साइँला मलाई चुठाउनका लागि पानी हाल्दिन अम्खोरा बोकेर बाहिर आयो । उसको हात अझै काम्दै थियो -‘हजुर ! शहरमा बाँच्न गाह्रो पर्दोरहेछ । बाँच्नु त पर्यो नै । हजुर गरीबको ज्यानमाथि निगाहा रहोस् ।’ अनि उसले आँखाबाट तरक्क आँसु चुहायो ।
•
(‘बयान’ लघुकथा सङ्ग्रह – २०५५ बाट साभार)

यसमा तपाइको मत