लघुकथाकार उमा सिजापतीकाे जन्म २०३० फागुन १ गते पिता चन्द्र सिजापती र माता सुधा सिजापतीकाे सुपुत्रीकाे रूपमा रामधुनी -७ सुनसरीमा भएकाे थियाे। उहाँले बि.एड सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। २०४२ सालदेखि साहित्य लेखनमा कलम चलाउँदै अाउनु भएकि स्रष्टा उमा सिजापतीकाे पहिलाे रचना ” नारी” कविता २०४३ सालमा प्रकाशित भएकाे थियाे। उहाँकाे “परी” शिर्षककाे लघुकथा संङ्ग्रह प्रकाशित छ। लघुकथा समाज प्रदेश नं-१ काे सदस्य र बेलवारी बिकाश समिति काे सदस्य समेत रहनु भएकि स्रष्टा उमा सिजापती ज्यूकाे अाधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई स्रष्टा परिचय सहित अाज खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा: रंग
उमा सिजापती
भावनाको श्रीमानको मृत्यु भएको अाज तेह्र दिन अनि उम्कने दिन पनि । उसले बिहानै नुहाएर निलो म्याक्सी लगाएकी थिई । प्रायः निलो रंग खुईलेर सेतोमा परिणत भई सकेको थियो । त्यसैले सेतो कपडा को काम गरेको भान हुन्थ्यो । त्यहाँबाट भित्री बस्त्र छर्लङ्ग देखिन्थ्यो । तर यो कुरा उसलाई मतलव थिएन ।
यो देखेर नन्दले कराउँदै भनिन्, “भाउजु यस्तो लुगा लगाउन लाज लाग्दैन ?” भावना चुपचाप भित्र गएर एेना हेरिन् । साँच्चै त्यस्तै थियो । फेरि उनको अाँखा रुझ्यो । श्रीमानको काम सकिएर फेर्ने लुगा ल्याउन नसकेको पिडा अरुलाई के थाहा ? अाँशुका भेलहरु गालाको बाटो गरि सल्बलाउदै चिउडोबाट तप तप गर्दै भुईंमा झर्यो । त्यो त्यहीँ शोषियो । फेरि अर्को म्याक्सी खोजिन् ।
लगाउन योग्य त रातो थियो, तर उनले फेरि कुम र कुईनो फाटेको पहेंलोमा अलिअलि गुलावी रंग मिसिएको म्याक्सि झिकिन् । जुन उनकै श्रीमानले ल्याईदिएका थिए । बिस्तारै सुम्सुमाईन् । त्यो ल्याईदिएका दिन श्रीमानले भनेका थिए, “हेर त! तिमीलाई यसले कत्ति सुहाउँछ । गच्छेले पुगे त राम्रो सिफनको साडी नै ल्याईदिने थिएँ । तर के गर्छेउ,पोइ पर्यो ज्यामी ।”
“सिफनको साडी बेरेर मेलोमा काम गर्न जान भएन त! यो नै ठीक ।” भन्दै श्रीमान् बाट लिएकी थिईन्।
सम्झिंदा,सम्झिंदै बाहिर अाईपुगी । सासुअामाको नजर गुलाफी रंगमा पर्यो । उनी ठूलो अावाजमा कराउँदै भनिन्,” अाजै यस्तो लुगा लगाउँदा यो समाजले के भन्छ हँ ? ठूलाको सल्लाह त मान्नु पर्छ नि! भन्दै थिएँ, रंगीन लुगा लगाउनु हुँदैन भनेर।” सासुअामाको नजिकै गएर भावनाले भनिन् “अामा म मरेर छोरा बाँचेका भए, के सल्लाह दिनुहुन्थ्यो नि ?”
ईमानसिङ चोक
बेलबारी, मोरङ



