स्वर्णिम धुनमा भेटिएका सुर्य

- तारा के.सी काभ्रे, पनाैती।


 पनौती एउटै माटाेमा जन्मिए पनि अक्षरकर्मले नै परिचय गराएकाे हाे सुर्यप्रसाद लाकाेजू सर सँग मेराे। एउटै माटाे, एउटै बाटाे र अक्षरकर्म काे एउटै उदेश्य बाेकेर पनाैती साहित्य समाजसँग मिसिन पुगेकाे थिएँ म पनि आज भन्दा दस बर्ष पहिले। पनाैती साहित्य समाजका अध्यक्ष हुनुहुन्थ्यो त्याे समय सुर्य सर। शालीन ब्यक्तित्व नम्र स्वाभाव र सहयाेगी बानीले गर्दा थुप्रै अक्षरकर्मी उहाँका साथी थिए त्यतिबेला देखिनै। म पनि उहाँकाे ब्यक्तित्व र कृतित्वबाट प्रभावित भएर मित्र बन्न पुगे। धेरैचाेटी माइतीघर पुग्दा म उहाँकाे घरमा पनि पुगेकाेछु। सबिता म्यामले बनाउनु भएकाे मिठाे चिया खाजा उहाँकै भान्सामा बसेर खाएकाे छु। त्याे परिवारसँग एक किसिमकाे अात्मियता छ मेराे। बनावटी कुनै कृत्रिम रंग पटक्कै छैन त्याे परिवारसँग। सबिता म्यामकाे ठुलाे त्याग तपस्या र सहयाेगले गर्दा सर्य सर अक्षरकर्मी सुर्य बन्न सक्नु भएकाे हाे। पनाैतीमा बसेर अक्षरकाे खेती गर्दै थुप्रै कवि / लेखक उत्पादन गरिसक्नु भएकाे सुर्य सरकाे प्रेरणाले नै मैले पनि २०७० सालमा अक्षरमार्गबाट बालकविता संङ्ग्रह प्रकाशित गरेकाे थिएँ। थुप्रै राष्ट्रिय अन्तरास्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित भैसक्नु भएका सुर्य सरकाे दुई दर्जन भन्द बढि साहित्यिक कृतिहरू प्रकाशित छन्। पछिल्लाे समय प्रकाशित भएकाे मुक्तक संङ्ग्रह ” स्वर्णिम धुन” काे कृति परिचय शिर्षकमा मैले याे लेख तयार पारेकाे छु। मुक्तलयमा लेखिएकाे काब्यात्मक रचनालाई मुक्तक भनिन्छ । याे कविता बिधा अन्तर्गत पर्ने एक उपबिधा हाे ।

मुक्तकलाई कविताकाे लघुरूप पनि भनिन्छ।मुक्तककाे संरचना चार पक्तिकाे हुन्छ ।पहिलाे दाेस्राे र चाैथाे पक्तिकाे अन्त्य अनुप्रास अर्थात” तुक” मिल्नु पर्ने र तेस्राे पक्तिले यस्ताे प्रवृत्ति भङ्ग गरि मुक्तक रचना भएकाे पाइन्छ। यस्ता मुक्तक रूवाई शैलीका मुक्तकहरू हुन। ” स्वर्णिम धुन” भित्र समावेश भएका मुक्तकहरू पनि यीनै शैलीमा लेखिएका छन्। याे कृतिलाई पनाैती साहित्य समाजले प्रकाशन गरेकाे छ। २०७७ सालमा प्रकाशन मिति रहेकाे उक्त कृतिकाे मूल्य २५० रहेकाे छ। याे कृति प्रकाशनार्थ सहयाेग गर्नु भएकाे छ मुक्तककार सुर्यप्रसाद लाकाेजू सरकाे जीवन संगीनी सबिताकुमारी श्रेष्ठ म्यामले। मिलन श्रेष्ठकाे सजावटमा सजिएकाे अावरणले किताब सुन्दर बनेकाे छ। किताबकाे सुरूकाे पेजमा मुक्तकारले अाफ्ना माता/ पिताकाे फाेटाे राख्दै याे कृति उहाँहरूमा समर्पण गर्नु भएकाे छ। ” जीवन्त मुक्तक” भन्दै आफ्नाे भुमिकामा डा. शैलेन्दुप्रकाश नेपाल सरका भनाईहरू यस्ता छन् । उहाँ लेख्नुहुन्छ; सुर्यप्रसाद लाकाेजूकाे मुक्तक संङ्ग्रहमा ब्यङ्ग्यात्मक प्रधान मुक्तककाे बाहुल्य रहेकाे छ। नेपालकाे राजनीतिक परिदृश्य धुमिल अस्पस्ट र निराशाजनक भइरहेकाे बर्तमान परिस्थितिलाई विशेष रूपमा स्रष्टाले चित्रण गरेकाे पाइन्छ। अहिलेकाे परिबेशमा राजनितीले पारेकाे अस्तब्यस्तता, अकर्मण्यता,अराजकता,जिम्मेवारीहिनता,स्वेच्छाचारिता जस्ता पक्षप्रति असन् जनाउँदै जीवन प्रतिकाे अासावादितालाई सुन्दर ढङ्गमा मुक्तकले चित्रण गरेकाे पाइन्छ भन्दै डा. शैलेन्दुप्रकाश नेपाल सरले लेख्नु भएकाे छ। ” स्वर्णिम धुन फलाक्ने धुनमा कवि सुर्यप्रसाद ” भनेर कवि माेहन दुवाल सरले अाफ्ना लेखकिय भनाई मार्फत कृति सफलताकाे शुभकामना दिनु भएकाे छ। ” खै के लेखुँ? भन्दा भन्दै मुक्तकमा नवरस प्रयाेग गरि सुन्दर कृतिका रूपमा ” स्वर्णिम धुन” तयार पार्नु भएकाे छ मुक्तकारले। प्रकाशकिय भनाई राख्नु भएकाे छ पनाैती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा सरले। १०१ उम्दा मुक्तकहरू १०१ नै यस संङ्ग्रहभित्र समावेश भएका छन्। क्रम संख्या १ मा रहेकाे पहिलाे याे मुक्तक , १. खबरदार शक्तिकाे मात्रै भक्ति गर्नेहरू पैसाकै वरपर मात्र सधै फूल छर्नेहरू अवस्य ढल्ने छाै एकदिन रावण जस्तै सत्य मारेर असत्यकाे घडा भर्नेहरू।। अहिलेकाे राजनितीप्रतिकाे कडा ब्यङ्ग छ यस मुक्तकमा। क्रम संख्या ४६. मा भने मुक्तकार प्रेमिल बन्नु भएकाे छ । ४६. देखेपछि तिमीलाई समाजकाे डर भाग्छ नदेख्दा कतै तिमी मनभरि छटपटी जाग्छ देखेकाे छु थरिथरिका फूलहरू फुलेकाे मैले ती फूलभन्दा मलाई तिम्राे मुस्कान प्याराे लाग्छ ।। क्रम संख्या ५० मा रहेकाे मुक्तकले राष्ट्रिय प्रेम बाेलेकाे छ। ५०. अाफुभन्दा पनि मलाई नाम प्याराे लाग्छ आफू जन्मेकाे सुन्दर गाम प्याराे लाग्छ प्याराे लाग्ने जिन्दगीमा कुरा धेरै छन् तीभन्दा नेपाल जस्ताे धाम प्याराे लाग्छ ।। समाजमा रहेका बिभिद मान्छेकाे साेच र चरित्रलाई उद्वरण गरेकाे छ क्रम संख्या ८० मा रहेकाे याे मुक्तकले र – क्रम संख्या ८० माया गर्ने मान्छेकाे लर्काे यहिँ छ गाली गर्ने मान्छेकाे झर्काे यहिँ छ लर्काे, झर्काे र फर्काे बिच बिचमा फाइदा उठाउने दुष्ट अर्काे यहीँ छ । नेताहरूकाे कुर्सी बद्लियाे मान सम्मानकाे कद अग्लियाे तर देश र जनताप्रतिकाे जिम्मेवारी बहन नेताले गरेनन्। उनिहरूमा रहेकाे पुरानाे हैकमवादी साेच बद्लिएन भन्दै खबरदारी गरेका छन् मुक्तकारले क्रम संख्या ८८ मा। ८८. कद अग्लियाे तर विचार अग्लिएन ढुङ्गा पग्लियाे तर मन पल्लिएन रगतमै बग्ने रहेछ हैकमवादी साेच पात्र बद्लियाे तर प्रवृत्ति बद्लिएनअावरणकाे पछिल्लाे पेजमा प्राज्ञ वियागी बुढाथाेकी शिवपुरी सन्देश निवास हात्तिगाैडा बाट लेख्नुहुन्छ ।” स्वर्णिम धुन” नामै काफी छ।यसभित्र का मुक्तक पढ्दै जाँदा पढाैं पढाैं लाग्ने हृदयस्पर्शी , मनमाेहन र हृदयलाई उद्धेलित गर्ने क्षमताका शब्दहरूलाई सलाम भन्न मन लाग्छ भन्दै शुभकामना दिनु भएकाे छ। समग्रमा ” स्वर्णिम धुनभित्रका मुक्तकहरू चाेटिला , पाेटिला र च्वास रहेका छन्। मुक्तकले जीवन र जगतकाका सम्पुर्ण मुद्दा उठाएकाे छ। याे सुन्दर कृतिकाे लागि मुक्तककार सुर्यप्रसाद लाकाेजू प्रति हार्दिक शुभामना र बधाई !! तारा के.सी काभ्रे पनाैती

यसमा तपाइको मत