अचेल जून हराएको शहरमा
बगरेका सोचाइसंगै
बाँच्न बिवश छु
लाग्छ …..
नउत्रिने डुंगामा यात्रा गरिरहेछु
अर्थहीन उपलब्धिहरुसंगै ।
***********************
टुक्रा टुक्रा भएर नासिएका उज्यालोहरुलाई
टिप्दै र मनले गुन्दै गर्दा
सबैले लुछिएका अस्थिपन्जरलाई
धमिराले माटोलाई माया गरे जसरी
म पनि माया गरिरहेछु ।
बिसंगति बोकेका घुनहरुलाइ
पन्छाउन्दै र तिरस्कार गर्दै
बगरेहरुका भाषण सुन्दै
बेला कुबेलामा
आकृतिविहिन उपस्थितको विरोध गर्दै
मनमा राँँकाे बालेर
मुर्दाबादका नाराहरु धन्काइरहेछु
यो जून हराएको शहरमा ।
*******************
बिताउँदैछु हरेक रातहरुमा
उज्यालोका आशाहरु बोकेर
लुटिएका सपनाहरूलाई
फिर्ता ल्याउने दाउमा
त्यो कला, संस्कृति र संस्कारको मेरो राज्य
आफ्नै मान, शान र इज्जत बोकेर
बिसर्जित ती अस्तित्वहरुलाइ
कण कणमा खोज्दै
खराव आगोको लप्काहरुसंगै
“घिङ ताल द्यो”को नाँँच जस्तै
तरवार घुमाउदै र उफ्रदै
लुटिएका सपनाहरूलाई
पुन स्थापित गर्न
राजा हरिश्चन्द्र जस्तै
मसानघाटहरु कुर्दैछु
यो जून हरएको शहरमा ।
************
मेरो माटोको गन्ध
ज्यादै मलाई मन पर्छ ।
इतिहास बिर्सेका यादहरु
सम्झिदै र सम्झाउदै
हरेक रातका सन्नाटाहरु चिर्दै
पोल्टाभरी पुर्खाको गौरव र
मेहनतलाई अंगालो हाल्दै
मेरो माटोको अधिकार
पुर्खाको पद्चापहरु पछ्याउँदै
विश्वासका लौरो उचालेर
खोज्दैछु मेरो राज्य
अचेल यो जून हराएको शहरमा
###########



