ढिला नगरौं, पर्वसमय सुधारौं


ढिला नगरौं, पर्वसमय सुधारौं

नेपाल सर्वप्रथम संस्कृतिको अभ्युदय भएको शिवभूमि हो । जहाँ आर्षपरम्पराबाट निगमागम ज्ञानको प्रतिपादन, विकास र विस्तार हुँदै आएको छ । वेद, दर्शन, पुराण, तन्त्र, उपनिषद्, इतिहास आदि विभिन्न ज्ञानको अविर्भाव भएको नेपालमा विभिन्न कालखण्डमा समय र काल गणना विधिमा पनि शास्त्र निर्देश अनुसार विज्ञान सम्मत काल समायोजन गरी धार्मिक, सामाजिक कृत्य सञ्चालन गर्ने गरिएको पाइन्छ ।

चाडपर्व नै गलत दिनमा, चिना पनि मिल्दैन

अहिले भने नेपालमा प्रचलित काल गणना अवैज्ञानिक र शास्त्र विपरित छ । जसको फलस्वरुप हामीले मनाइ रहेको दशैँ, तिहार, जनै पूर्णिमा, संक्रान्तिहरु, आदि कुनै पनि चाडपर्व, विवाह, व्रतबन्ध, अन्नप्राशन आदि मंगलकार्यमा गरिने संकल्पको शुद्धि, बच्चा जन्मदा बनाइने जन्म कुण्डलीको प्रामाणिकता आदि कुनै पनि कार्य वास्तविक समयमा हुन सकेको छैन । जुन पर्व जुन समयमा गर्नुपर्ने हो सोही समयमा गर्न सकिएन भने त्यसका स्थापित मान्यताहरुमा आँच आउँछ ।

नेपालको कालगणनामा समन्वयात्मक पद्धति अपनाउने गरिएको छ । इश्लाम धर्मावलम्बीले चन्द्रमालाई प्राधान्यता दिन्छन् र चन्द्रको आधारमा चल्ने हिजरी संवत् चलाउँछन् । पाश्चात्यहरुले सूर्यलाई मान्यता दिई सौर्य संवत्का रुपमा ईश्वी संवत् चलाउँछन् । तर, नेपाल, भारत आदि पौरस्त्य संस्कृति अनुशरण गरिने मुलुकहरुले शास्त्रसम्मत पूर्ण वैज्ञानिक पद्धतिलाई अपनाउँछन् र चन्द्र, सूर्य, नक्षत्र आदिबाट समय मापन गर्ने गर्छन् । चन्द्रका आधारमा चान्द्र मास र तिथीका पर्वहरु मनाउने गरिन्छ भने सूर्यका आधारमा संक्रान्ति, विभिन्न दिवस मनाउने गरिन्छ । चान्द्र वर्ष ३५४ दिनको र सौर्य वर्ष ३६५ दिनको हुन्छ । चान्द्र वर्ष र सौर्य वर्षको फरक ११ दिनको हुन्छ ।

वैदिक कालमा सूर्य उत्तरायण हुने माघ महिनाबाट वर्षको सुरु हुने प्रचलन भएको र तीन वर्ष जतिमा मलमास थप्दा आषाढ वा पौष महिनामा थप्ने गरिन्थ्यो । तर, भाष्कराचार्यको सूर्य सिद्धान्त ज्योतिष प्रचलनमा ल्याइएपछि वैशाख महिनाबाट वर्ष सुरु हुने र ३२ महिना १६ दिन पछि एक चान्द्र महिना थप गर्ने मलमास प्रथाको सुरुवात गरियो ।

अधिकमासमा सूर्य संक्रान्तिको स्पर्श हुँदैन । जनसामान्यले अधिक मासलाई मलमास, पुरुषोत्तम मास आदि नामले चिन्छन् ।

धर्मशास्त्रमा ज्योतिषीय कालगणना सायन र निरयण दुई पद्धतिबाट गरिन्छ जहाँ अयन भन्नाले बाटो भन्ने बुझिन्छ । सायन पद्धतिले प्राकृतिक रुपमा अन्तरिक्षमा भएका नक्षत्र, सूर्य, चन्द्रको वास्तविक स्थितिको मापन गर्दछ । निरयण पद्धति पञ्चाङ्ग निर्माण गर्न अपनाइएको विधि हो जसमा आधारित रहेर हामी पर्व, पूजा आदि अनुष्ठान आदि गर्छाैं । शास्त्र प्रतिपादित व्रतोत्सवादि धार्मिक कृत्यहरु युगयुगान्तरसम्म यथावत् सुरक्षित राख्न पञ्चाङ्ग गणनाका सायन र निरयण दुबै पद्धति उत्तिकै अपेक्षित हुन्छन् ।

२४ दिन फरक परिसक्यो

ज्योतिषीय शास्त्रहरुले सायन र निरयणको अन्तर केवल १५ दिन अर्थात् एक पूर्णिमा क्षेत्र भित्र मात्र रहनु पर्छ भनेको छ तर वर्तमान परिप्रेक्षमा २४ दिनको अन्तर सिर्जना भइसकेको अवस्था छ । सूर्य मकर रेखामा डिसेम्बर २२ मा र कर्कट रेखामा जुन २१ मा पुग्दछ । हामीले साउने संक्रान्ति साउन १ लाई (वर्षको सबै भन्दा लामो दिन) भनेर मनाई रहँदा वास्तविक लामो दिन (जुन २१) प्रचलित पञ्चाङ्ग अनुसार असार ६ गते नै बितिसकेको हुन्छ । अहिले पञ्चाङ्ग प्रकाशन गर्न रुजु गरी स्वीकृति दिने नेपाल सरकारको आधिकारिक निकाय नेपाल पञ्चाङ्ग निर्णयक समितिबाट स्वीकृत १३ वटा पञ्चाङ्गले असार ६ गते नै कर्कटेदृश्यार्क अर्थात् कर्कट राशीमा सूर्यको संक्रमण भयो अर्थात् असार ६ गते नै सूर्य श्रावण १ मा पुगिसकेको तथ्यलाई उल्लेख गरेका छन् ।

पञ्चाङ्गमा असार ६ गते (२१ जुनमा) सूर्य कर्कट रेखामा पुग्ने बैज्ञानिक कुरालाई नमानी साउन १ गते (जुलाई १७ मा) मात्र सूर्य कर्कट रेखामा पुग्ने कुरा मानेर साउन १ गते मात्र दक्षिणायण लाग्छ भन्नु विज्ञान सम्मत पनि छैन र शास्त्र सम्मत पनि छैन । यसरी जनसामान्यले नबुझ्ने गरी पञ्चाङ्गमा उल्लेख गरेर विरोधाभासी पञ्चाङ्ग प्रकाशन गर्नु कानुनत ठीक होइन । त्यसैले प्रचलित पञ्चाङ्ग पत्र प्राकृतिक वस्तुस्थिति सित नमिल्ने र अवैज्ञानिक हुन पुगेको छ ।

ज्योर्तिविद् प्रा. नयराज पन्तले लिच्छवी संवत्को पृष्ठ ९७ मा वेदाङ्ग ज्योतिषमा बताइएको अयनारम्भ विन्दुलाई बराहमीहिरले १५ सय वर्ष अगाडी २४ दिन अगाडी सारेको प्रमाणलाई अगाडि सार्नुभएको छ र यसलाई शास्त्रसम्मत वैज्ञानिक अकाट्य प्रमाण स्वीकार गर्नुभएको छ । उपर्युक्त पुस्तकमा नै हरेक १५ अधिक मासमध्ये १४ अधिक मासलाई मात्र मनाई गणनामा हुने अन्तरलाई मिलाउने प्रचलन हाम्रो समाजमा रहेको तथ्यलाई पनि उहाँले पेश गर्नुभएको छ ।

यसरी १५ दिन भित्र कायम रहनु पर्ने अन्तर सीमा नाघेर २४ दिन पुगिसकेको अवस्थामा अब एउटा मलमास लाई शुद्धमास मानेर एक महिना सुधार गर्नु अपरिहार्य भइसेकेको छ । मुहूर्त चिन्तामणिको संक्रान्ति प्रकरणको नवौँ श्लोकमा र उपर्युक्त श्लोकको पीयुषधारा व्याख्यामा सायन संक्रान्ति स्नानादि धार्मिक कृत्यमा अधिक पुण्यदायक मानिएको र निरयण संक्रान्ति भन्दा सायनलाई बढी मान्यता दिनु पर्ने जनाइएको छ । अतः दुबै संक्रान्तिलाई समान महत्व प्रदान गरि सायन संक्रान्तिको नजिकमा निरयण संक्रान्तिलाई स्थापित गर्नुपर्ने देखिन्छ ।

एक महिना पहिले सारौं चाडवाड

मध्यकालमा अयनचलनले गर्दा सबै भन्दा लामो दिन र सबै भन्दा छोटो रातमा मनाइने ज्याःपुन्हि ज्येष्ठ पूर्णिमाको दिन अहोरात्र र वर्षभरिमा सबैभन्दा लामो रात र छोटो हुने दिनमा मनाइने योमह्री पुन्हिका मार्ग पूर्णिमा अहोरात्र मनाउने प्रचलन नेवारी परम्परामा धेरै पहिले देखि आइसकेको प्रमाण हामीले थ्यासफू आदि पौराणिक शास्त्रीय ग्रन्थबाट पनि लिन सक्छौँ । यसबाट पनि सबै चाडवाड एकमहिना अगाडी सार्नुपर्ने देखिन आउँछ ।

योमरी पूर्णिमामा खाइने योमरीको पृष्ठ भागमा हुने लामो टुसाले छोटो दिनबाट अब दिन क्रमशः लामो हुँदै र रात छोटो हुँदै जान्छ भन्ने संकेत गर्दछ । यो पनि पुरातन कालमा अल्पशिक्षित जनसमुदायलाई वैज्ञानिक रुपमा सिकाइएको संस्कार हो । सुसंस्कृत शास्त्र प्रणेता र विस्तारक हाम्रा पुर्खाहरुले समय र चाडपर्वको सम्बन्ध बुझाउनको लागि घिउचाकु खाने दिन, भक्तपुरमा दिन र रात बराबर भएको अवस्था (विषुवत् काल)मा मनाइने विष्का (विष्केट जात्रा), पाटनमा दक्षिणायनमा रातो मत्स्येन्द्रनाथलाई बुङ्मतिमा लग्ने र उत्तरायणमा पाटनको मत्स्येन्द्र बहालमा ल्याउने, काष्ठमण्डपको मरु सत्तलमा बसी कल्पान्तर तथा मन्वन्तर फेर्ने जस्ता कार्यहरु समयबारे सार्वजनिक जानकारी दिने, दिनरात बराबर हुने दिनको सूचना दिने जस्ता प्राकृतिक कार्यहरु प्रचलनमा ल्याएका हुन् ।

समय मापनका चार विन्दु

समय मापनमा प्रमुख चार विन्दुलाई महत्वपूर्ण मानिन्छ । वर्षका सबै भन्दा लामो दिन, सबै भन्दा छोटो दिन र दुई विषुवत् अर्थात् दिन र रात बराबर हुने दिनहरु । यी विन्दुलाई आपसमा जोड्दा स्वस्तिकको सिर्जना हुने तथ्य वाल्मिकी विद्यापीठका खगोलविद् सह प्राध्यापक जयन्त आचार्य बताउनु हुन्छ ।

यी चार विन्दुको स्वरुपमा रहेको स्वस्तिकलाई घुमाउँदा आधुनिक विज्ञानले भनेको ‘स्पाइरल ग्यालेक्सी’को सिर्जना हुन्छ । यसरी ज्योतिषीय गणना ब्रह्माण्ड वा प्रकृतिसँग मिल्ने हुनुपर्छ । प्रकृतिसँग तालमेल नमिलेको अवस्थामा कुनै पनि ज्योतिषीय गणना र त्यसमा आधारित रहेर गरिएको कर्मको कुनै औचित्य रहँदैन । यी विन्दुहरु अहिले वास्तविक गणना पद्धति अनुसार नमिलेको अवस्था छ ।

जडसूत्रवादी नबनौं

अयन चलनले गर्दा एक दिनमा ३.३३ सकेण्ड, एक वर्षमा २० मिनेट, ७२ वर्षमा एक दिन र २१५० वर्षमा एक महिना सार्ने पद्धतिले ऋतुलाई २४ दिन अगाडी सारिसकेको स्थिति छ भने अर्कोतिर एक सिंगो चान्द्र महिना नै अगाडी सरिसकेको स्थिति छ । यस्तो विषम परिस्थितिमा कालसापेक्ष गणना पद्धति अपनाई तुरुन्त पर्वसमय सुधार गरिहाल्नु पर्ने अवस्था छ ।

वैज्ञानिक र प्राकृतिक कालसापेक्ष पद्धतिलाई नअपनाई जडसूत्रवादको पृष्ठपोषक भएर पूर्वाग्रही हुनु कदापी राम्रो होइन । समयको विडम्बना के छ भने अधिक मात्रामा सफ्टवेयरमा आधारित वर्तमानको अधिकांश ज्योतिषीय फलादेशहरु नेपालमा ज्योतिष सम्बन्धमा ज्ञानरिक्त भएका व्यक्तिहरुले प्रचलनमा ल्याएको पाइन्छ । पर्वसमय सुधार गर्दा सफ्टवेयरमा हुने फरकपनले सिर्जना गर्ने भिन्नता र समाजमा मज्जाले चलिरहेको व्यवसायलाई गर्ने असरका बारेमा सचेत भई पर्वसुधारको घोर भत्र्सना भएको देखिन्छ ।

ज्योतिष र शास्त्रको गम्भीर अध्ययन गरेका उच्च राजनीतिक वर्ग, उच्च पदस्थ कर्मचारी र सर्वसाधारण जनतालाई विभिन्न भ्रम सिर्जना गरेर दुष्प्रचार भइरहेको अवस्था छ । प्रविधि मानवबाट नै विकसित भएको हो, मानवद्वारा नै परिमार्जित एवं परिष्कृत हुनसक्छ । यस्तै यी सफ्टवेयरहरुमा पनि परिमार्जन, परिष्करण ल्याई वास्तविकताको नजिकमा जानु अपरिहार्य छ ।

पर्वको फल पाइँदैन

अधिक मासको एक महिने हद पर्वहरुले उल्लंघन गरेको र अयन विषुवत् सिङ्गो एक पूर्णिमा अघि सरेको हुँदा धर्मशास्त्र अनुसार पर्वहरु मनाउँदा त्यति राम्रो फल पाउन सकिँदैन । हाल प्रचलित सिद्धान्त ज्योतिष र धर्मशास्त्रलाई यथावत् राखी ऋतु बिग्रिएको अयन, विषुवत् संक्रान्ति र पर्वहरुलाई सो बिग्रिएको हदसम्म मात्र सुधार गरी हाल प्रचलित व्यवस्थालाई यथावत् राख्ने र धर्मशास्त्रका शब्दहरु कतै परिवर्तन गर्नुनपर्ने हुन्छ ।

एघार महिनाको वर्ष बनाउने भन्ने दुष्प्रचार समाजमा नभएको होइन तर वास्तवमा वेदले पनि समयमा भएको अशुद्धि मिलाउन अयन विन्दुलाई सार्न मिल्ने प्रमाण दिएको छ । अर्थव वेदमा भानुराश्लेषा अयनं मघा मे (१९।७।२) भन्ने भनाईमा अयनको चर्चा आएको भेटिन्छ । यो भनाइमा मघामा सूर्य हुँदा दक्षिणायन हुन्छ भन्ने लेखिएको छ । पछि बौधायन श्रौतसूत्रमा र वेदाङ्ग ज्योतिष कालमा मघामा दक्षिणायन हुने कुरा नमिलेको थाहा भयो र त्यसलाई मघाबाट सारी अश्लेषा नक्षत्रमा लगियो । त्यसैले बौधायनादि र लगधले अश्लेषाको अर्धमा सूर्य पुग्दा दक्षिणायन हुन्छ भन्ने कुरा लेखे ।

त्यसपछि बराहमीहिरले पञ्चसिद्धान्तिका उपर्युक्त तथ्य पूर्व वैदिक कालमा सत्य थियो तर अहिले पुर्नवर्सु नक्षत्र अर्थात् कर्कट राशीमा सूर्य पुग्दा दक्षिणायन हुन्छ भनेर लेखे । यी तथ्यहरुलाई बराहमीहिरले उनी पूर्वका रोमक सिद्धान्त र लाटाचार्य आदिका वचन र स्वअनुसन्धानका आधारमा रचेका हुन् । सायन मानले भनेको कुरालाई ज्योतिषका विद्वानहरुले राम्ररी नबुझी एकतर्फी रुपले निरयण मानसँग मात्र सम्बन्धित गरेर हेर्नु शास्त्र मर्यादा नबुझ्ने अन्ध पाण्डितयाईँ हो ।

सरकारको त्यो निर्णय

नेपालमा पर्वसमय सुधार गर्नुपर्छ भन्ने छलफल र यसको उपादेयताका बारेमा गहन अध्ययन र विचार विमर्श भने नभएका होइनन् । तर नेपाल सरकारले यस विषयमा ठोस कदम चाल्न नसकेको अवस्था छ । हुनत विसं २०६५ साल पौष १६ गतेको मन्त्रिपरिषद् बैठकले वि.सं. २०६६ सालको सौर चैत्र महिनालाई हटाई सोको सट्टा वि.सं.२०६७ को वैशाख सुरु गर्ने र वि.सं. २०६७ को वैशाख महिनामा पर्ने अधिकमासलाई साधारण महिना सरह मानी चान्द्र पर्वहरु एक महिना वर तान्ने निर्णय गरेको थियो । तर दुर्भाग्यवश विभिन्न प्राविधिक जटिलताहरुले उक्त निर्णय कार्यान्वयन हुन सकेन ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतमा नै समय गणनासँग सम्बन्धित दुई निकाय छन् ः– नेपाल पञ्चाङ्ग निर्णयक समिति र पर्वसुधार राष्ट्रिय कार्यान्वयन समिति । नेपाल पञ्चाङ्ग निर्णायक समिति राष्ट्रको कालगणनाको प्रमुख निकाय भएकोमा पर्वसमय सुधार र यससँग सम्बन्धित विविध पक्षहरुको अध्ययन अनुसन्धानमा मूक भएर बसेको स्थिति छ । अर्को निकाय पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिले गरेका पर्वसुधार सम्बन्धित कार्यहरु पर्याप्त नभएको स्थिति छ ।

भारतमा पनि ज्वाहारलाल नेहरुको प्रधानमन्त्रीत्वकालमा सन् १९५७ मा गठित एक समितिले बिग्रिएका तिथि मितिहरुको शुद्धता ल्याउन एक प्रतिवेदन प्रकाशित गरेको थियो तर त्यो प्रतिवेदनको सारभूत अवधारणालाई भारतको धार्मिक परिपाटीमा सानासाना सम्प्रदायमा विभक्त समाजले स्वीकार गर्न सकेन र त्यस समितिको अनुसन्धानको कुनै औचित्य नै रहेन । तर नेपालको सन्दर्भ त्यस्तो छैन । सनातनीय नेपाली समाज बहुजातीय र बहुसांस्कृतिक भएता पनि समय र काल गणनामा एक ढिक्का नै छ । यही सबल पक्षको फइदा लिँदै नेपालले समयलाई वास्तविक बनाई गणना पद्धतिमा शुद्धता ल्याउनुपर्ने स्थिति आइसकेको छ । यसबाट नेपालले नेतृत्व लिएर विश्वलाई नै बाटो देखाउनुपर्छ ।

पर्वसमय सुधारमा अपेक्षित परिवर्तन ल्याउन एकपक्षीय धारणा व्यक्त गर्नाले मात्र सकिँदैन । समय मापन पद्धति नमिलेको अवस्थामा भारतबाट शिवरात्रीमा आउने साधुसन्तको जमात, विवाह पञ्चमीमा जनकपुर धाममा रामजानकी उत्सवमा आउने वरियात र अन्य चाडपर्वको समन्वयका लागि र पूर्वीय मुलुकहरुमा अपनाइएको पद्धतिमा एकरुपता ल्याउन स्वदेशी तथा विदेशी विद्वत् वर्गको सम्मेत भूमिका अहम् रहन्छ । गल्तीलाई नसच्याई यत्तिकै बस्यो भने गल्ती माथि गल्ती थपिदैँ जान्छ । सरकारले यस सम्बन्धमा विस्तृत अध्ययन अनुसन्धान गरि यस समस्यालाई हदृयंगम गरी शीघ्रातिशीघ्र निराकरण गर्नुपर्ने देखिन्छ ।

(सन्दीप सापकोटा पर्वसमय सुधार राष्ट्रिय समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

यसमा तपाइको मत