स्रष्टा परिचय / कुसुम ज्ञवाली

- प्रस्तुति : तारा के सी


लघुकथाकार कुसुम ज्ञवालीको वास्तविक नाम फणिन्द्र ज्ञवाली हो । उहाँको जन्म वि.स. २०३० मंसीर २२ गते गुल्मी जिल्लाको रिमुवा ४, पतेल्कामा नेत्रकला ज्ञवाली एवम् मुक्तिनाथ ज्ञवालीका सुपुत्रका रुपमा भएको हो । उहाँ पेशाले इन्जिनियर हुनुहुन्छ । नेपाल विद्युत प्राधिकरणमा कार्य गरेका उहाँ हाल टोरन्टो, अन्टोरिया, क्यानाडामा बसोबास गर्नुहुन्छ । कुसुम ज्ञवालीले साहित्य सन्ध्या, जनसाहित्यिक मञ्च, विद्युतकर्मी साहित्य समाज, स्रष्टा चैत्र ३० लगायतका संस्थामा रहेर कार्य गर्नुभएको थियो । उहाँ लेखक, सञ्चारकर्मीका साथै साहित्यिक पत्रपत्रिकाको सम्पादक समेत हुनुहुन्छ । उहाँले नेपालबाहिर रहेर पनि नेपाली भाषा, साहित्यका क्षेत्रमा उनले विभिन्न कार्य गर्दै आएको पाइन्छ । कुसुम ज्ञवालीको पहिलो प्र्रकाशित लघुकथामा सहिदले बिर्सेको गाउँ हो, जुन श्रीओम श्रेष्ठ रोदनद्वारा प्रकाशित आरम्भ लघुकथा सङ्ग्रह (२०५४) मा प्रकाशित भएको थियो । उहाँको सहिदले बिर्सेको गाउँ (२०६१) लघुकथा सङ्ग्रह प्रकाशित छ ।
कार्यवाही सिफारिस
एउटा राष्ट्रिय दैनिकले छापेपछि सुनुवाई भयो, चौथो अंगको दवाव शक्ति वास्तवमै प्रभावशाली हुन्छ । पत्रकारले आफ्नो मत राखे । राजधानीको एउट होटेलमा बसेर भविष्यवाणी गर्ने, सबै खाले रोग निको पार्ने र सम्पूर्ण मनोवैज्ञानि समस्या वा सामाजिक समस्या ग्यारेण्टीका साथ समाधानको नाममा ठगी गरेको विदेशी ठग ज्योतिषलाई पुलिसले गिरफ्तार गरेपछिको प्रतिक्रिया दिदैं थिए सोही राष्ट्रिय दैनिकको पत्रकार महोदय ।
“वास्तवमा भन्ने हो भने, लोकतन्त्र भनेको यही हो । प्रेसले इस्यू सार्वजनिक गर्ने बित्तिकै सरकारले जनताको सरोकारको विषयमा गम्भीरतापूर्वक छानविन थालेको छ । देशमा जनताको शासन हुनुको एउटा उदाहरण हो । समाचार आउने बित्तिकै कार्यवाही बढाइसकेको छ गृह मन्त्रलयले । देश र जनताको हितमा हाम्रो पार्टी कटिबद्ध छ ।” सोही मञ्चमा सत्तारुढ नेताले ।
“हाम्रो अथक प्रयास र निरन्तर सशक्तिकरण गर्ने अभियानको सफलताले गर्दा आज यस्ता ठग व्यक्ति पुलिसको हिरासतमा बस्न बाध्य भएका छन् ।” गैरसकारी संस्थाका कार्यक्रम निर्देशकले आफ्नो एनजिओको लोगो देखिने गरी भिडियो खिच्न खटाइएका क्यामरा भ्यानतिर फर्केर कुर्ले । प्रतिपक्षमा रहेको एउटा सानो पार्र्टीको पुराना नेताले सत्तासीन दलहरूलाई यस्ता जनताको सरोकारका विषयमा गम्भिर भएर काम गरेमा आफ्नो दलले रचनात्मक सहयोग गर्ने वचन दिए । टिभिमा सो रिपोर्टिङ्ग जारी नै थियो ।
अर्कोतर्फ भव्य महलमा डिएस्पी साुबले भने टेलिभिजनमा देखिएको यी दृश्य हेरेर रेडलेवलको रात्री चुस्को लिँदै थिए । श्रीमतीले रोष्टेड चिकेन थप्दै भनिन, “किन हो ! आज त निकै खुसी देखिस्या छ नि ।”
“आन्दोलनमा गोली चलाएकालाई कार्यवाही गर्ने भन्ने रायमाझीले हल्ला चलाएर टेन्सन भाुथ्यो । आज आनन्द भाछ ।” डिएस्पी साबले भने । श्रीमती पक्क परेर मुखमा हेरि मात्र रहिन् ।
“हेर बुढी ! त्यो ज्योतिषीकोमा जाऊ । भोलि के होला सोधौँ भन्थिस् नी । आज मैले केटाहरुलाई पठाएर यही हनुमानढोका ल्याउन पठाएर मेरा हात देखाएँ । कारवाही हुने ग्रहदशा नै छैन रे । म त बल्ल ढुक्क भएँ ।” डिएस्सपीले टेलिभिजनतर्फ हेर्दै थपे “यस्ता स्वाँठ त नेता छन् । हनुमानढोका बोलाउने बित्तिकै कार्यवाही हुन्छ भन्ठान्छन् मुर्खहरू । यस्ता नेता भएपछि पनि हामीलाई कार्यवाही हुन्छ ?” डिएस्पीले अर्को पेग थपे ।

यसमा तपाइको मत