आतंककारीकी आमा

- रसुवली कवि , रसुवा


 

आतंककारीकी आमा
आजकाल भेटिन्छन
रोपार बनेर खेततिर
घाँसे बनेर बनतिर
कुल्ली बनेर सडकतिर
भरिया बनेर उकालोतिर
नाम्ले बनेर सदरमुकामतिर

आतंककारी स्वयं भएको छ सत्ताधारी
आमाको कोखमा लात्ती बर्जार्ने सदरमुकामका आर्मीहरु
भनिरहन्छन एक कप चिया खाएर जानू न आमा
आमालाई भक्कानु छुटछ र भन्छिन
खान्न बाबै तिम्रा चिया
मलाई ग्यास्ट्रीक हुन्छ

आतंककारीकी आमा
सहिदकी आमा
यो दुखियारी जिन्दगीमा
बोकेर हिडेकी छीन ओठभरी हाँसो
यो भयग्रस्त युगमा पनि आशाको जिजिभिसा

हुन त च्यात्तिएको उनको चोलीबाट
देखिन्छ हवाङै डडाल्नु
तर उनी हारेकी छैनन जिन्दगानीको मोर्चाहरुमा
च्याउरी परेको अनुहारभरी
देखिन्छ आँसुको टाटा
तर उनी हास्न छोडेकी छैनन्

उनकै आखै अगाडि फेरिए
माओवादीका नेताहरू
गाउँका टाढाबाठाहरु
हिउँदे बुद्धिजीवीहरु
हिजैका हरिपहरु
कहाँ फेरिए र गरिवहरु
कहाँ फेरिए र झुप्राहरु

यो सदरमुकामले सोच्न सकिरहेको छैन
मसाल बालेर गाउँ फर्किने यी आमाले
मसालै बालेर सदरमुकाम फर्किन भने के हुन्छ ?
दु:ख बोकेर गाउँ फर्किने यी आमाले
बिद्रोह बोकेर सदरमुकाम फर्कीन भने के हुन्छ ?

यसमा तपाइको मत