स्रस्ता / दिव्य गिरी

- प्रस्तुति : तारा के सी


लघुकथाकार दिव्य गिरीको जन्म वि.स. वि.स. २०११ कार्तिक ७ गते ललितपुर, इमाडोलमा माता मिनु गिरी एवम पिता भरत गिरीका सुपुत्रका रुपमा भएको थियो । उहाँको पहिलो लघुकथा खेल, पूर्वाद्र्ध पत्रिकामा २०३७ असारमा प्रकाशित भएको थियो । उहाँको लघुकथा कृति भेँडीगोड र भेडो (२०७३) प्रकाशित छ । उहाँले गोरखापत्र संस्थानबाट आयोजित राष्ट्रिय लघुकथा प्रतियोगिता (२०७४) मा प्र्रथम स्थान एवम् लघुकथा समाजबाट धनमान लघुकथा पुरस्कार (२०७७) प्राप्त गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्र्रशासन अनुसन्धान केन्द्र (सेडा) को उपप्रशासकका रुपमा कार्य गरेर हाल अवकाशप्राप्त गर्नुभएको छ । हाल उहाँ विभिन्न साहित्यिक एवम् सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ ।
खण्डहर
“हैन, समाचार आइरहेथ्यो, किन बन्द गरेको ?” समाचार हेर्दाहेर्दै रिमोट कन्ट्रोलबाट टेलिभिजन बन्द गरेको देखेर आरतीले सोधी ।
ती मारिएका मान्छेको लाश र भत्किएका घरहरू मलाई पटक्कै हेर्न मन छैन ।” अशोकले कारण बताउँदै भन्यो–“आज माथ्लाघरे जयकृष्णसँग अचानक भेट भएथ्यो । हिजो मात्रै काठमाडौं आएका रहेछन् । उनले भनेको कुरा सम्झँदा मन घरी–घरी कुँडिन्छ । भित्रभित्र पीडाको ज्वाला बलेजस्तो हुन्छ ।”
“ए, के छ रे, गाउँतिरको खबर ? उनले त्यस्तो के कुरा गरे जसले तपाईँको मन दुख्यो ?” आरतीले जिज्ञासा राखी ।
“गाउँघरको खबर भन्दा पनि यो वर्षको वर्षात्ले हाम्रो घर पुरै भत्केको रे ।” अशोकले भावुक हुँदै भन्यो ।
कोठामा एकछिन मौनता छायो । घर भत्केको कुरा सुनेपछि आरतीको मन पनि चिसो भयो ।
“पन्ध्र वर्षसम्म त टेकेछ । मान्छे नबसेपछि, मर्मत सम्झार नभएपछि घरको के कुरा, दरबार त भत्किन्छ । हाम्रो कर्ममा त्यो घर भोग गर्न लेखेको रहेनछ । यो शहरको दुर्गन्धित गल्लीभित्रको अँध्यारो कोठामा गुम्सिएर बाँच्नु परेको छ । जे हुनु भैसक्यो । अब जति चित्त दुखाए पनि हुने केही होइन ।” आरतीले सान्त्वना दिँदै भनी ।
“घरबार छोडेर विस्थापित हुँदा पनि मेरो मन त्यति रोएको थिएन जति आज रोएको छ । अशोकको गला अवरुद्ध भयो ।
आरतीले अशोकको अनुहारमा हेरी । उसका दुवै आँखामा आफ्नै घरको खण्डहर मात्र देखी ।

यसमा तपाइको मत