सुसेली विधा हाम्राे विधा हाे ।

- दामाेदर ढकाल "दीपक"


 

नेपालमा अहिले सबैभन्दा चर्चामा रहेकाे कविताकाे लघुविधा अन्तर्गत सुसेली विधा नै हाे । सुसेली विधाले चर्चा परिचर्चा पाउनुकाे एउटा कारण हाे , यसमा कविले सहज रूपमा अाफ्नाे भावना प्रस्तुत गर्न पाउँछ र मज्जाले गाउन सक्छ । अाफ्नाे पाखामा गुञ्जिने भाकालाई टपक्क टिपेर भाका हालेर गाएपछि त्याे सिर्जनाले सबैकाे मनमा वास पाउनुलाई कसैले रिस , डाह र ईर्ष्या गर्नुपर्ने कारण नै छ‌ैन् । तर अहिले सुसेली विधालाई अाक्रमण गर्ने प्रयास केही साहित्यकारले गरिरहेका छन् र लेखिरहेका छन् । तिनीहरूले न पुराना शास्त्र पढेका छन् , न हाम्रा डाँडापाखामा गुञ्जने भाका राम्रोसँग सुनेका छन् । यदि सुनेका भए र पढेका भए थाहा पाउँथे सुसेली विधाकाे विराेध गर्नु अाफ्नै विराेध गर्नु हाे र अाकाश तिर फर्केर थुकेकाे थुक अाफ्नै अनुहारमा पर्नु साे सरह हाे ।
सुसेली विधा नयाँ विधा हुँदै हाेइन । पहिले सुसेली मन्त्रकाे रूपमा गाइन्थ्याे , त्यसपछि गीतहरूमा सुसेली गाइयाे र ती सबै कुराकाे अनुसन्धानपछि पत्ता लाग्याे उक्त अक्षर संरचनामा लेखिने कुरा अायातित साहित्यकाे विधा हाेइन , हाम्रै साहित्य हाे । हाम्रा पुर्खाहरूले नै लेखेर अाएका रहेछन् । हामीले मात्र यसलाई पढेर, सुनेर , काव्यकाे रसास्वादन गरेर पनि विधागत नामाकरण गर्न सकिरहेका रहेनछाै । नामाकरण देखिकाे इतिहास र नामाकरण गर्नु अगाडिको अनुसन्धान र अभ्यासका दस्तावेज पनि हामीसँग सुरक्षित छन् । चाहे राताे नेपाल अनलाइन हेर्नुहाेस्, सहयात्रा टि.भी. हेर्नुहाेस्, जनअाकाश साप्ताहिक र कपन वानेश्वर साप्ताहिक,हिमाली साैगात द्वैमासिक अादि जहाँ हेरे पनि सुसेलीका कुरा थाहा पाउनुहुनेछ । सुसेली विधा त्यसै फस्टाएको छैन । सुसेली विधाका परिकल्पनाकार स्वयं ऋषिमुनीलाई मान्न सकिन्छ र यसलाई प्रचार प्रसार मन्त्रकाे माध्यमबाट पहिले र त्यसपछि विभिन्न भाकाहरूमा लाेक गायकहरूले गरेका थिए । अहिलेकाे वर्तमान समयमा कविहरूले यसले अझ परिस्कृत रूप दिँदै अाएका छन् । लक्ष्मीप्रसाद मिश्रले सारङ्गीकाे धुनसँगै गाएर हाेस् चाहे सुरेशचन्द्र घिमिरेले किवाेडकाे सुरमा हाेस् सुसेली गाइरहनु भएकाे छ । यसैगरी हजारौं सर्जकले यसलाई लेख्ने र गाउँने अनवरत प्रयास गरिरहनु भएकाे छ । नेपालमा मात्र नभई नेपाल बाहिर भारतमा पनि सुसेली लेख्ने र गाउने सर्जककाे उल्लेखनीय सहभागिता रहेकाे कुरा पछिल्ला हिमाली साैगातका अङ्कहरू अध्ययन गर्दा थाहा पाइन्छ । दुर्गा भमरकाेटेकाे लाेकगीतभित्र सुसेलीकाे अनुसन्धान हाेस् वा तिलक लुईटेलकाे वैदिक साहित्यभित्र सुसेलीकाे अन्वेषण हाेस् । चाहे डा. जितालीकाे नेपाली भाकामा सुसेलीकाे प्रयाेगकाे खाेजी हाेस् , तेजप्रकाश बानियाँकाे सुसेलीकाे अर्थ र परिभाषामा हाेस् वा अझ माथि उठेर भन्नुपर्दा डा. शैलेन्दुप्रकाश नेपालकाे सुसेलीकाे अक्षर संरचनाकाे महत्वमा प्रस्टाइएकाे अर्थ र विश्लेषण हाेस् । यी सबैले सुसेली हाम्राे पुर्खा देखिनै चलिअाएकाे विधामा कुनै दुविधा छैन् ।
यहाँ डा. नेपालले दिनु भएकाे सुसेलीकाे अक्षर संरचनाकाे महत्व प्रस्तुत गरिन्छ :
पाँच अक्षर = पञ्चतत्व
सात अक्षर = सप्तऋषि वा इन्द्रेणी
पाँच अक्षर = पञ्चामृत वा पञ्चकन्या ।
यसरी हजारौं सर्जकहरू क्रियाशील वा साधनारत विधालाई एक जना विदेशी सामानलाई र विदेशी नामलाई वा अझ भन्नुपर्दा अायातित विधाकाे प्रचार प्रसार गर्ने झाेले मनस्थितिका साहित्यकारहरूले यसरी लेखेछन् , ” चाहे छेक्काकाे नाममा हाेस्, चाहे अनुप्रास मिलाउने नाममा हाेस्, या त बाछिटा वा सुसेलीकाे नाममा नै किन नहाेस् कुनै पनि विधाकाे सिद्धान्त हाइकुकाे भन्दा भिन्न पाइँदैन ।”
साउनमा अाँखा फुटेकाे गाेरूले पराललाई हरियाे देखे जस्ताे पहिले मन्त्रकाे रूपमा अाराधना गरेकाे विधालाई, त्यसपछि लाेकगीतकाे रूपमा डाँडापाखामा गुञ्जिएकाे विधालाई , नेपालमा भित्रिएकाे ५० वर्ष जति भएकाे विधासँग तुलना गरेछन् । यतिमात्र नभई हामीले सधैं अादरणीय मानेका गुरूहरूलाई पनि यसरी गाली गरेछन् ,” हालका दिनमा विद्वान भनिएका डा. उपाधि लिनेहरूबाटै पनि हाइकु विधामाथि तथानाम अाक्रमण हुनुले यसकाे चिरहरण भएकाे अनुभुत गर्न सकिन्छ ।”
लेखकले जापानकाे कुन विश्वविद्यालयबाट हाइकुमा विधावारिधि गरेका हुन् खुलाएन् । तर अाफ्नाे संस्कृति अरूकाे हाे भन्ने देश बेचुवा नेताकाे जस्तो मनस्थितिका कारण अाज नेपाली साहित्यमा केही खाेज गराै भन्नेहरूले गाली खानु वास्तवमा नेपाली साहित्यप्रेमीकाे निमित्त दुखद् कुरा हाे । यस्ता पाखण्डी र मूर्ख तर्ककाे पछाडि नलागी हामीले अग्रज गुरूकाे मार्गदर्शनमा सुसेली विधालाई अझ शक्तिशाली विधाकाे रूपमा अगाडि बडाअाैं र विभिन्न ठाउँमा सुसेली विधाकाे विकास र विस्तारकाे निमित्त संघ संस्थाहरू निर्माण गराै । सुसेली विधा प्राचीन काल देखि हाल समेत भएकाे हुँदा यश विधामा कुनै पनि व्यक्तिलाई देवत्वकरण गर्न अावश्यक छैन । याे परापूर्वकाल देखि हाम्राे विधा थियाे र रहिरहनेछ ।

यसमा तपाइको मत