
शिक्षण छोडी एनजिओमा छिरेदेखि निरन्तर आर्थिक उकालो चढिरहेका सफल बहादुरको जागिरे जीवन काम र ठामको स्थायित्व भने ढुक्कको थिएन तर जहाँ जान्थे त्यहाँ आफ्नो उन्नति र संस्थाको राम्रै छाप छोडेका थिए ।
समय सधैं एकनासले कहाँ बग्छ र ? यसै बिच विश्व लपेटेको कोरोनाको परिणाम बन्दाबन्दीका दिन गन्ती सुरु भए । तिन महिना सम्पूर्ण कार्यक्रमहरु ठप्प भएर ‘जेल भनेको यस्तै त होला सायद ‘ महसुस गर्दै छटपटिन रहेका वेला स्वास्थ्य मापदण्ड पालना गरेर आवश्यक काम गर्न पाइने भन्दै बन्दाबन्दी खुकुलो भए सँगै सफल बहादुरले राहतको सास फेरे । कति त बधुवा बस्तु फुकाफाल भए जस्तो पो गर्न लागे ।
सफल बहादुर स्वास्थ्य क्षेत्रमा काम गर्ने एउटा संस्थाको कार्यक्रम संयोजक । उनले जिल्लाका बिभिन्न पालिकाहरुमा ‘सेनटरी प्याडको महत्व र प्रयोग’ बारेमा एउटा कार्यक्रम चलाउदै गर्दा बिथोलिन पुगेको काम अब ‘कोरोना बन्दी जीवन’ खुला गरेर अगि बढाउने निधो गरी सहयोगी र कार्यक्षेत्रमा फोन गर्न थाले ।
सामग्रीका पोका सहित सफल बहादुर को समूह गाडीमा हुइकियो गाउँतिर ।गाडीमा सुमधुर धुन……तोकिएकै समयमा गन्तव्यमा पुग्न सकेकोमा प्रफुल्ल भए सबै जना ।विद्यालयको सभाहल मुखौटोमा सजिएका वडाभरीका स्वास्थ्य स्वयम् सेविका , आमा समूह , बुहारी समूह ,शिक्षिका र माध्यमिक तहका छात्राहरुले खचाखच भरिएको थियो ।
प्रमुख अतिथि निम्त्याइएका वडाध्यक्ष पुगेपछि कार्यक्रम अगि बढ्यो उद्घोषकको नमस्कार सँगै।आसन ग्रहणको यथोचित सम्मान पछि ” सेफ्टी प्याडको प्रयोग गरौ स्वस्थ बनौ ” वाचन गर्दै प्रमुख अतिथिले गोष्ठीको उद्घाटन गरे । कार्यक्रम संयोजकले त्यस कार्यक्रम बारे प्रष्टाउदै भने ” यहाँहरु लाई थाहै छ अहिले पनि कोरोनाको जोखिम उत्तिकै छ , कोरोना महामारीको कारणले नै पहिल्यै सुरु हुनुपर्ने कार्यक्रम ढिलैभएपनि अहिले सावधानीसाथ गर्दै छौ , कोरोना जोखिम नहटीसकेकोले हरेक गाउँ टोल र समूहमा अहिले जान सकिएन । समूहगत प्रतिनिधित्व गर्दै तपाईं जान्ने बुझ्ने व्यक्तित्व यहाँ आउनु भएको छ , शारीरिक सरसफाइ साथै रोग संक्रमणबाट बचाउन सेफ्टी प्याडको कति महत्व हुन्छ मलाई भन्दा भुक्तभोगी यहाँलाई बढी थाहा छ ।सबैलाई दुई दुई महिनालाई पुग्ने गरेर अहिलेलाई यति ल्याइदिएका छौ छिटै थप पठाइदिने छौ ।गाउँ टोलमा बाड्ने र उचित तरिकाले प्रयोगका साथै यसको महत्व बारे बुझाउनु हुनेनै छ ।”
सफल बहादुरले मन्तव्य राख्न सुरु गर्नासाथ उनको टोलीका सहायकहरु शुभमले उपस्थिति , लक्ष्मीले सामग्री र कृतीले भत्ता भर्पाईको शुभ साईत गरे । प्रमुख अतिथिले – ”सरकार जनताको स्वास्थ्यको लागि दत्तचित्त भएर लागेको छ , तपाईंहरुले पनि ‘आफुले प्रयोग सरकारलाई सहयोग ‘ गर्नोस ,तपाईकालागि पठाएको पेड यो सबैले सधै प्रयोग गरेर स्वस्थ रहन आग्रहका साथै कार्यक्रम सफलताको कामना गर्दछु ।” भन्दै शुभकामना मन्तव्य राखे ।समूहगत रुपमा दुइ दिनको लागि राखिएको कार्यक्रम दुइ घण्टामा सकेर त्यहाँको पर्यटकिय ठाउँका लागि रवाना भो कार्यक्रम आयोजक टोली ।
एक महिना पछि कार्यक्रमको नतिजा बुझ्न शुभमलाई ” गोष्ठीका सहभागी सकभर सबैसँग भेटघाट गर्नु ” भन्दै फिल्ड पठाए कार्यक्रम संयोजकले। फिल्ड खटिएको पाँच दिन पछि प्रगति विवरण सहित शुभम संयोजक सामु हाजिर भो । ” ए ! आइपुग्यौ , कस्तो रह्यो भ्रमण , कति जनालाई भेट्यौ , के प्रतिक्रिया छ ? सफल बहादुरले प्रश्न माथि प्रश्न तेर्साए ।
” राम्रो भयो सर ! भेटघाट चाहिँ तिन जना सँग मात्र भो ।”
” तिन जना सँग मात्रै ! ”
”अरु त बस रिजर्भ गरेर भ्रमण गएछन् , जे मा पनि अगि सर्ने गाउँका अलि यस्सो गर्ने खालका टाठाबाठा तिनै रहेछन् तर कार्यक्रम सफल भा को अनुभूति भो सर ! ” शुभमले नम्रता साथ विन्ती बिसायो ।
”तिन जनालाई भेटेर सफल भएको अनुभूति भो रे ! ”
” हो सर ! गाउँ टोलमा प्राय धेरैले प्रयोग गरेका छन् ।”
” कसरी भन्दैछौ धेरैले प्रयोग गरेका छन् भनेर ? ” सफल बहादुरले अचम्मित हुदै शङ्का व्यक्त गरे – ” कि गाउँका तिन जनालाई यतै कतै भेटेका थियौ ?”
” हैन सर ! म गाउँमै पुगेर दुई दिन बसे , यिनी भेटघाट गरेका व्यक्तिहरु , यो चोकमा फोहोर फाल्ने कुनो र यी तगारो छेउका कसिङ्गर फाल्ने ठाउँ , यो चाहिँ नहरको बाँध अनि यो बस स्टपको सार्वजनिक शौचालय अनि कुकुरले मुखमा च्यापेर दगुरा दगुर गरेको भिडियो क्लिप नि छ सर !” शुभमले प्रष्टिकरण दियो । प्रयोग पछि छरपस्ट फालिएका सेफ्टी प्याडका फोटाहरु हेरेर मुसुक्क मुस्कुराउदै सफल बहादुरले भने – ” स्याबास ! यो हो सफलताको प्रमाणपत्र ”
शुभम ! दुई महिना पछि कार्यक्रम फेजआउट हुदैछ भनेर चिन्ता नगर , सफल बहादुरले आश्वस्त पार्दै अह्राए-”अब ‘सेनिटरी प्याड प्रयोग पछिको व्यवस्थापन’ सम्बन्धी प्रोग्राम ल्याउनु पर्छ खाका बनाउदै गर है ।”



