इच्छा

- बिर्खे अन्जान , थहानगरपालीका मकवानपुर


खेलेर आफ्नै बा को छातिमा परेड
गाँउदै छ एक हुल व्वाँसहरू राष्ट्रियताको गीत
हल्लाउँदै इशारामा तिनका दास टाउको
अलाप्दै छन् – समृद्धिको चर्को नारा
थापेर अस्मिताको पसल
गरिदैछ आमाको व्यापार
विवेक बन्दकी राखेरै यो देशको सरकार
भनिरहेछ — हाम्रो सार्वभौम सधैं अटल रहने छ ।

कसको इशारामा चल्छ यो देश
कसले हल्लाइ रहेछ सत्ताको कुर्सी
कहाँ पुग्न बुर्कुसी मारिरहेछन् निर्वाचित नेता
कुन विश्वासको भर्याङमा चढिरहेका होलान् निरीह जनता
प्रश्न स्वयं प्रश्नहरूकै भुमरीमा अलमलिएको छ अचेल ।

दिनानुदिन बलात्कृत हुदैछ राष्ट्रियता

थापिदैछ जुवाघरमा हाम्रो स्वतन्त्र जिन्दगी
र , पहिचानको खोजी गरिदा नगरिदै
बिक्री हुदैछ अन्तर्राष्ट्रिय बजारमा हाम्रो अस्मिता ।

एकपटक फेरि
यो देशको खातिर
बगाउनु पर्ने भएको रगत
मरेर आफू जोगिन्छ भने जन्मभूमि
ओ ! सरकार रेटिदेऊ मेरो घाँटी
र चढाइदेऊ देशको सिमानामा ।

सधै कसैको दास बन्नुभन्दा
म यो देशको सहिद बन्न चाहान्छु ।

यसमा तपाइको मत