समयको दियो बेलैमा बाल्नु पर्छ
बिग्रेको राजनैतिक च्याम्बरहरुलाई
समयमै पड्काउनु पर्छ ।
तागतको झोलुङ्गे पुलहरु बलियो कसेर
निस्संदेह अगाडी बढेका पाइतालाहरुलाई
कुनै बादशाहका मन्त्रहरुले
अबका दिनहरुमा छेक्न सक्दैन ।
आन्दोलनको आयातन बढीरहेको बेला
कविता लेखेर मात्र हुँदैन ।
भरिएका पेटहरुको राजनैतिक दस्तावेजहरु
नभरिएका पेटहरुले च्यातेर
गिद्दी र बुध्दी बिक्री गरिसकेका नेताहरुलाई
ठाउँ कु ठाउँमा हान्नु पर्छ ।
समयको आँधी कुरिरहेको बेला
कविता लेखेर मात्र हुँदैन ।
राजनैतिक फेशनलाई काँडेतार लगाएर
बेस्वादिलो सपना देखाउने पार्टीहरुलाई
ठिक ठेगान लगाउन
भ्रमित युगको चेतना जगाउन
हुँदा खानेहरुसङ मिलेर
आउ फेरि एक पटक आँधीमा सहभागी बनौ
पसिनालाई कवितामा मोलेर
केही हुने वाला छैन
किन कि
कविता लेखेर सत्ता पल्टिदैन
कविता लेखेर सत्ता पल्टिदैन
कविता लेखेर सत्ता पल्टिदैन



