गुइत:को कथा- अध्याय १
(बौद्ध साहित्यमा २८ जना बुद्धहरूको नाम उल्लेख छ। गौतम बुद्ध २८औं बुद्ध हुन्। उनीभन्दा अगाडि नै २७ जना बुद्ध थिए जसमध्ये तेस्रो बुद्धको नाम दिपंकर हो। गौतम बुद्धले श्रावस्तीको जेतवन विहारमा आफ्ना शिष्यहरूलाई सुनाएको यो कथा दिपंकर बुद्ध पालाको हो। त्यति बेला गौतम बुद्धको जन्म भएको थिएन। उनी ज्योतिपाल बोधिसत्वका रूपमा देवलोकमै थिए।)
जेतवन विहारको घना पिपलको वृक्षमुनि भिक्षुहरू ध्यानमग्न भएर गौतम बुद्धको पूर्वजन्मको कथा सुन्दैछन्। गौतम बुद्धको शान्त र सुरिलो गुनगुनले लठ्ठ भएर मृग र हरिण र मयुर र कोइलीहरू वरिपरि झुम्मिन आइपुगेका छन्।
यस्तो लाग्दैछ, बुद्ध बचनले समयको गति ठाउँको ठाउँ टक्क रोकिएको छ। हावाको मन्द बहावले उसैगरी आँत शितल पार्दैछ। आकाश उस्तै कञ्चन छ। बादलको एकधर्को पनि अझै पलाएको छैन।
बुद्ध भन्दैछन्, ‘नेपाल मण्डल (काठमाडौं उपत्यका) मा त्यति बेला एउटा घन्घोर जंगल थियो। घन्घोर पनि कस्तो घन्घोर भने, एकदमै अन्धकार। दिउँसै रात परेजस्तो। सूर्यको एउटा किरणले पनि त्यो जंगललाई चिरेर भुइँमा स्पर्श गर्न पाएको थिएन। आफ्नै हात आफ्नै आँखाले देख्थेन। एकअर्कालाई देख्नु त टाढाको कुरा।’
त्यो घन्घोर जंगललाई किन्सुक वन भनिन्थ्यो। सहश्रऔंसीको रातभन्दा अघोर अन्धकार त्यो जंगलमा बाँदरबाहेक अरू कुनै प्राणीको बास थिएन। ती बाँदरहरू पनि साह्रै दुःखमा थिए। जंगलभरि फलफूल लटरम्म फलेका थिए तर अँध्यारोमा केही नदेखिँदा बाँदरहरूले खान पाएका थिएनन्। उनीहरू भोकभोकै थिए। कतिले भोक सहन नसकेर सास छाडे, कतिले सास पनि छाड्न नसकेर घिटिघिटी परे। केही बाँदरले भने अँध्यारोमा छामछाम छुमछुम गर्दै भुइँ कोपरेर माटो खाँदै आफ्नो प्राण धानिरहेका थिए।
बाँदरहरू यस्तरी अथाह दुःखको सागरमा चुर्लुम्म डुबेको देखेर देवलोकमा रहेका ज्योतिपाल बोधिसत्व (जसले पछि गौतम बुद्धका रूपमा जन्म लिए) को हृदय आरीले रेटेझैं छियाछिया भयो।
उनको कोमल मनमा करूणाभाव पलायो। उनले किन्सुक वनका दुःखी बाँदरहरूको उद्धार गर्ने संकल्प गरे र बाँदरकै रूपमा यहाँ जन्म लिए।
त्यो बाँदरको नाम ज्ञानाकर थियो।
देवलोकका साक्षात् बोधिसत्वले बाँदरको जुनी लिएको हुँदा ज्ञानाकर आफ्नै खलकका अरू बाँदरभन्दा चेतनशील थियो। उसमा सही र गलतको विवेक थियो। ऊ कुशल कर्म र अकुशल कर्म छुट्टयाउन सक्थ्यो। उसको हृदय उदार थियो। लिनुमा भन्दा दिनुमा पुण्य छ भन्ने ऊ विश्वास राख्थ्यो। आफ्नो उच्च चेतना स्तरका कारण ऊ बाँदर भएर पनि ‘त्रिरत्न त्रिरत्न’ भनेर बोल्न सक्थ्यो र सधैं त्यो मन्त्र जपेर बस्थ्यो।
ज्ञानाकरको जन्मपछि किन्सुक वनमा बोधित्सवको प्रभाव देखिन थाल्यो। कयौं कालदेखि अन्धकार जंगलमा पहिलोचोटि घामको ज्योतिले प्रवेश पायो। जंगलका भुइँहरूमा सूर्यका किरणहरू यस्तरी पोखिन थाले, मानौं चित्रकारले क्यानभासमा मसिना रेखाहरू कोरेका हुन्। आफ्नै अंग–प्रत्यंग खुट्टयाउन कठिन जंगलमा वरिपरि फलहरू लटरम्म फलेका देखिए।
भोकले आलसतालस परेका र पेटको आन्द्राभुँडी बटारिन आँटेका बाँदरहरूमा चारैतिर फल नै फल देखेपछि उत्सव नै छायो। उनीहरूले लामो समयपछि खुम्चिएका आन्द्राभुँडी फुल्ने गरी खान पाए। निभ्न लागेको प्राणमा फेरि सास आयो।
बाँदरहरू बौरिए।
सबै बाँदरलाई लाग्यो, यो चमत्कार ज्ञानाकर बाँदरले ‘त्रिरत्न त्रिरत्न’ भन्दै मन्त्र जप्नाले भएको हो। त्यसैले उनीहरूले पनि ज्ञानाकरको सिको गरे। किन्सुक वनमा अब एकोहोरो ‘त्रिरत्न त्रिरत्न’ ध्वनि गुञ्जिन थाल्यो।
त्यही समय दिपंकर बुद्ध भिक्षाटनका लागि निस्केका थिए। नगर–नगर चहार्दै उनी किन्सुक वनको बाटो गुज्रँदै थिए।
ज्ञानाकर बाँदरले आफ्नो बोधिसत्व चेतनाका कारण दिपंकर बुद्धलाई चिनिहाल्यो। उसले तुरुन्तै सबै बाँदरको भेला डाक्यो र भन्यो, ‘यी चिवर धारण गरेका व्यक्तिहरू कुनै सामान्य मानिस होइनन्। यी त तथागत भन्तेहरू हुन् जो सृष्टिका हरेक चिजलाई जस्ताको तस्तै देख्न सक्छन्। यी भन्तेहरूमध्ये सबभन्दा अगाडि जो शान्त मुद्रामा हिँडिरहनुभएको छ, उहाँ तथागत दिपंकर बुद्ध हुनुहुन्छ। साक्षात् दिपंकर बुद्ध हाम्रो वनमा पाल्नु भनेको हाम्रो लागि ठूलो खुसीको कुरा हो।’
‘त्यसो भए के गर्ने त ज्ञानाकर,’ सबै बाँदरले एकै स्वरमा भने, ‘हामी बाँदरहरूमध्ये सबैभन्दा जान्ने–बुझ्ने भनेको तिमी नै हौ, तिमी जे भन्छौ हामी त्यही गर्छौं।’
यति सुनेर ज्ञानाकारले भन्यो, ‘त्यसो भए हामी सबै मिलेर जंगलको कुनै फल दिपंकर बुद्धलाई दान गरौं। दान दिनु नै सबभन्दा उत्तम पुण्य हो।’
सबै बाँदरहरूले ज्ञानाकरको सुझाव स्वीकार गरे।
उनीहरूले जंगलमा फलेका रूखकटहर टिपे र दिपंकर बुद्धलाई दान दिन उनको अगाडि लश्करै उभिए।
सबभन्दा पहिला ज्ञानाकर बाँदरले दिपंकर बुद्धको पाउमा रूखकटहर चढायो। त्यसपछि अरू बाँदरहरूले पनि पालैपालो रूखकटहर दान गरे।
दान दिएपछि दिपंकर बुद्धलाई आफ्नो ढाड देखाएर फर्किनु हुन्न भन्ने भनाइ छ। त्यसैले बाँदरहरू फरक्क नफर्की बिस्तारै पछाडि सर्दै आउँथे।
त्यो ठाउँमा एउटा ठूलो कुवा थियो। बाँदरहरू दिपंकर बुद्धलाई हेर्दै पछाडि सर्दै आउँदा पुत्रुकपुत्रुक त्यही कुवामा खस्थे। सबै बाँदर कुवामा खसेपछि दिपंकर बुद्धसँगै आएका भन्तेहरूले आफ्नो हात दिएर तिनलाई कुवाबाट बाहिर निकाले।
जसै ती बाँदर कुवाबाट बाहिर निस्के, उनीहरू सबका सब मान्छेमा परिणत भए।
दिपंकर बुद्धलाई दिएको दानको पुण्यबापत् बाँदरहरूले मानव जुनी पाए।
मानव जुनी पाए पनि ज्ञानाकरबाहेक अरू सबै अन्तरमनले बाँदर नै थिए। उनीहरूमा मानवीय संस्कार विकास भएको थिएन। इलम र सभ्यताबारे उनीहरू अञ्जान थिए। खेतीपातीको ज्ञान थिएन। व्यवस्थित बसोबासको भेउ पनि थिएन।
मानव जुनी पाइकन पनि बाँदरकै व्यवहारमा अलमलिएको देखेर एक अर्का बोधिसत्वलाई उनीहरूमाथि टिठ पलायो। उनले भ्रममा भौंतारिइरहेका बाँदरहरूलाई सही बाटोमा ल्याउने अठोट लिए र एक व्यापारीको भेष धारण गरेर किन्सुक वनमा आए।
व्यापारीको रूप धरेका ती बोधिसत्वले सबै बाँदरलाई एकै ठाउँ गुजुम्म पारे। यसको संयोजन ज्ञानाकर बाँदरले नै गरेको थियो।
बोधिसत्वले भने, ‘अब तिमीहरू बाँदर होइनौ। आफ्नो पुण्यको फलले तिमीहरूले मानव जुनी पाइसकेका छौ। त्यसैले अबदेखि तिमीहरूले मानिसले झैं बाँच्न सिक्नुपर्छ।’
एउटा बाँदरले सोध्यो, ‘मानिस भएर बाँच्न के गर्नुपर्छ?’
‘मानिस भएर बाँच्न इलम गर्नुपर्छ। आफू सभ्य हुनुपर्छ, अरूलाई पनि सभ्य बनाउनुपर्छ। आफ्नो नंग्राले एकअर्कालाई कोतर्ने होइन, त्यही नंग्रा खियाएर अन्न फलाउनुपर्छ। अब तिमीहरूले खेतीपाती गर्न सिक्नुपर्छ। व्यापार गर्न जान्नुपर्छ। घरखेत बसाएर सभ्य समाज निर्माण गर्नुपर्छ। कसैलाई कसैको डरभर नभएको जंगलराज होइन, आफ्नो अलग्गै विधिविधान बसाल्नुपर्छ। आफ्नो अलग्गै संस्कृति बनाउनुपर्छ। त्यसपछि बल्ल तिमीहरूको मानव चोला सार्थक हुनेछ।’
यसरी लामो उपदेश दिएर ती बोधिसत्वले किन्सुक वनमा एउटा सभ्य समाज निर्माण गराए र आफू फेरि देवलोक फर्किए।
किन्सुक वन अब बाँदर बस्ने वन रहेन। सभ्य मानिसहरू बस्ने समाज बन्यो। उनीहरूले विधान बनाए र संस्कृति बसाले र एउटा व्यवस्थित नगरलाई जन्म दिए।
यसबीच देवलोकबाट बाँदरको रूप धारण गरेर आएको र मानव जुनी पाएको ज्ञानाकारको मृत्यु भयो
गुइत:को कथा- अध्याय २
बुद्धको कथा जारी छ।
उनी भन्दैछन्, ‘किन्सुक वनमा बसेको नगरका बासिन्दाहरू खेतीपातीबाट समृद्ध हुँदै गएका थिए। उनीहरूको व्यापार व्यवसाय पनि फस्टाउँदै गएको थियो। त्यही समयतिर कामार्थी भन्ने अर्को नगरमा भुवनानन्द नाम गरेका एक महाजनले आफ्नो अत्यन्तै दयालु, अत्यन्तै उदार र अत्यन्तै दानी स्वभावका कारण चौतर्फी ख्याति कमाइरहेका थिए।’
एकदिन भुवनानन्द महाजनको मनमा ऋषिमुनीहरूलाई डाकेर दान दिने इच्छा जाग्यो। उनले आफ्नो महलमा एउटा भव्य दान समारोह आयोजना गरे र नगरभित्र र नगरबाहिर टाढाटाढा बस्ने ऋषिमुनी र भन्तेहरूलाई समारोहमा सरिक हुन सन्देश पठाए।
दान समारोह भव्य रूपमा सफल भयो।
यही दान पुण्यको फलले महाजनकी पत्नी गर्भवती भइन् र चौबीस गुणले युक्त सुन्दर पुत्रलाई जन्म दिइन्। ती पुत्र अरू कोही होइन, उही ज्ञानाकर बाँदरको नयाँ अवतार थियो र नाम रह्यो– धर्मश्री बालक।
अर्थात्, देवलोकका ज्योतिपाल बोधिसत्वले कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्म लिनुभन्दा अगाडि सुरूमा ज्ञानाकार बाँदर र फेरि धर्मश्री बालकका रूपमा जन्म लिएका थिए।
धर्मश्री बालकमा बोधिसत्वको चेतना भएकाले ऊ सानैदेखि उदार, दयालु, सहृदयी र दानी थियो। उसलाई दान दिन कसैले सिकाउनै पर्थेन। आफ्ना मातापिताको दानकर्मको प्रभाव पनि उसमा भरपूर देखिन्थ्यो।
एकदिन धर्मश्री बालक आफ्नै उमेरका केटाकेटीसँग धूलोमा खेलिरहेको थियो। त्यही बेला दिपंकर बुद्ध भिक्षाटन गर्दै विभिन्न नगर र ग्रामहरू घुम्दै कामार्थी नगर आइपुगे।
तथागत दिपंकर बुद्धलाई साक्षात् आफ्नो अगाडि देखेपछि धर्मश्री बालकमा दान दिने भावना जागृत भयो।
उसले सोच्यो, ‘भिक्षाटनमा आएका दिपंकर बुद्धलाई मैले खाली हात फर्काउनुहुन्न। जे उपलब्ध हुन्छ, त्यो उहाँको पाउमा टक्र्याउनैपर्छ। तर मेरो साथमा अहिले केही छैन। घरमा लिन जाऊँ भने त्यो बेलासम्म दिपंकर बुद्धलाई पर्खाउनु उचित हुन्न। उहाँ आफ्नो बाटो लागिसक्नुहुन्छ। मैले उहाँलाई दान दिने एउटा स्वर्णिम मौका यसै गुमाउनेछु। म गरूँ त के गरूँ?’
धर्मश्री बालक एकछिन अलमलियो। मनमा कुरा खेलाउँदै आफ्नो वरिपरि हेर्यो।
उसले आफ्नो अगाडि धूलोको थुप्रोबाहेक केही देखेन।
उसले आफ्नो बोधिसत्व चित्तले फेरि सोच्यो, ‘मान्छेको अगाडि जे छ, त्यो नै लाख बराबर हो। नभएको चिजको तिर्सना राखेर तड्पिनुभन्दा भएकै चिजमा रमाउनु सही मानवकर्म हो। अहिले मेरो अगाडि यो धूलोको थुप्रो छ। त्यसैले मेरो लागि यही धूलोको थुप्रो नै चौरासी व्यञ्जन र लाखौं–करोडौंका धनसम्पत्ति बराबर हो। मैले यही धूलो नै तथागतको चरणमा अर्पण गर्नुपर्छ। यही नै मेरो कर्म हो र यही नै मेरो धर्म हो।’
यति सोचेर धर्मश्री बालकले भुइँको धूलो आफ्ना दुवै मुठ्ठीमा उठायो र दिपंकर बुद्धको झोलीमा हालिदियो। त्यसपछि उसले धूलो लतपतिएका दुवै हात जोडेर धुलाम्मे भुइँमा लम्पसार पर्दै बुद्धलाई साष्टांग दण्डवत् गर्यो।
धर्मश्री बालकको यस्तो उदार व्यवहार देखेर दिपंकर बुद्ध अत्यन्तै खुसी भए।
हुन त त्यो धूलो न खान हुन्थ्यो न घरमा सजाउन मिल्थ्यो। न त्यसले भोक मेटिन्थ्यो न प्यास। तर त्यो दानको पछाडि लुकेको धर्मश्रीको उदार मनले दिपंकर बुद्ध कायल भए।
दान दिइने वस्तुको मूल्यले दानको वजन निर्धारण गर्दैन। दानको वजन निर्धारण गर्छ दान दिने व्यक्तिको मनको चेतनाले।
दिपंकर बुद्धले पनि धर्मश्री बालकको चेतनालाई पर्गेले र उसले झोलीमा हालिदिएको दुई मुठ्ठी धूलो सहर्ष ग्रहण गरे।
त्यही बेला एउटा चमत्कार भयो। धर्मश्री बालकले झोलीमा हालिदिएको धूलोजति जम्मै सुनमा परिणत भयो र टलटल टल्किन थाल्यो।
दिपंकर बुद्धकै शक्तिको बलले धूलो सुनमा बदलिएको हो भन्ने धर्मश्री बालकले बुझिहाल्यो।
आफूले दिएको धूलोलाई पनि दिपंकर बुद्धले तुच्छ नठानेको र त्यसलाई सुनजत्तिकै अमूल्य वस्तुका रूपमा ग्रहण गरेको बुझेर उसको मन झरनाको पानीझैं कलकल भयो। उसले फेरि साष्टांग दण्डवत् गरेर दिपंकर बुद्धको वन्दना गर्न थाल्यो।
‘धर्मश्री बालक एकदमै अल्पायु लिएर आएको थियो,’ गौतम बुद्ध जेतवन विहारको घना पिपलको वृक्षमुनि बसेर आफ्ना शिष्यहरूलाई भन्दैछन्, ‘उसको कम उमेरमै मृत्यु भयो र दिपावती नगरको राजकुमारका रूपमा उसले जन्म लियो।’
गुइत:को कथा- अध्याय ३
‘दिपावती नगरमा खुसियाली छाएको छ। नगरवासीहरूले खेतीपाती र व्यापार–व्यवसायमा निकै तरक्की गरेका छन्,’ गौतम बुद्धको उपदेश–कथा जारी छ।
यति बेला दिपावतीमा सर्वानन्द राजाको शासन छ। यी राजा अरू कोही होइन, उनै धर्मश्री बालकको नयाँ जन्म हो।
धर्मश्रीमा जस्तै सर्वानन्द राजामा पनि दान चेत अत्यन्तै प्रबल थियो। उनी नियमित रूपले ऋषिमुनी र भन्तेहरूलाई आफ्नो दरबारमा डाकेर दान दिने गर्थे।
एकदिन उनलाई स्वयं दिपंकर बुद्धलाई आफ्नो दरबारमा निम्तो गरेर दान दिने इच्छा जाग्यो। तथागत बुद्धलाई दान दिन भनेर उनी नायकी बाजा बजाउँदै र नगरभरि झ्याली पिट्दै बुद्धलाई निम्तो दिन आफैं गए।
दिपंकर बुद्धले उनको निम्तो स्वीकार गरे।
उनको आगमनको खुसियालीमा सर्वानन्द राजाले आफ्नो दरबारसहित पूरा नगरलाई इन्द्रको देवलोकभन्दा भव्य देखिने गरी सिँगारे। नगरको प्रवेशद्वारदेखि दरबारसम्म पुग्ने मार्गमा फूलैफूल बिछ्याए। घरका छतहरूमा आकाश ढाक्ने गरी तोरण टाँगे। छतछतबाट दिपंकर बुद्धमाथि फूल बर्साए।
झकिझकाउ नगर मार्ग हुँदै जसै दिपंकर बुद्ध सर्वानन्द राजाको दरबार अगाडि पुगे, उनी जहाँको तहीँ टक्क अडिए। उनको निम्ति दरबारको मूलढोका खुल्लै राखिएको थियो तर उनी भित्र प्रवेश गरेनन्। बरू सरासर दरबार छेउको एउटा सानो झुपडीतिर बढे जहाँ एउटी बूढी आमै आफ्नो अगाडि नाङ्लोमा धानका सिलाहरू राखेर बसेकी थिइन्।
खासमा सर्वानन्द राजाले यो दान समारोहमा आफू मात्र होइन, नगरका सबै व्यक्तिलाई सरिक हुन आह्वान गरेका थिए। त्यसैले इच्छुक व्यक्तिहरू आफ्नो गच्छेले भ्याएसम्मका मालवस्तु दान दिन अघि सरेका थिए। ती गरिब बूढी आमैसँग भने दान दिन योग्य वस्तु केही थिएन। त्यसैले उनले निकै दिनसम्म अर्काको खेतमा धाएर भुइँमा झरेका धानका सिलाहरू टिपेर ल्याएकी थिइन् र त्यसैलाई दानका रूपमा आफ्नो अगाडि राखेकी थिइन्।
बूढी आमैको त्यो मिहिनेत र उनको उदार चित्त दिपंकर बुद्धको आँखाबाट लुकेन।
उनी सर्वानन्द राजाको दरबारमा छिर्नुभन्दा अगाडि ती बूढी आमैको झुपडीमा गए र उनको सामु आफ्नो झोली फैलाए।
बूढी आमैको अनुहार घामजत्तिकै धपक्क बल्यो। अनुहारका छालाहरू खुसीले फूलका पत्रझैं मुजा–मुजा परे।
उनले नाङ्लोमा राखेको धानका सिलाहरू दिपंकर बुद्धको झोलीमा खन्याइदिइन् र भावविभोर हुँदै उनलाई दण्डवत् गरिन्।
त्यहाँबाट जब दिपंकर बुद्ध दरबारमा प्रवेश गरे, सर्वानन्द राजाले उनलाई सोधे, ‘तथागत, हजुरलाई यो दान समारोहमा आउन मैले नै निम्तो गरेँ। मैले यति धेरै बहुमूल्य सरसामग्री र चौरासी व्यञ्जन हजुरको निम्ति तयार राखेको थिएँ। तर हजुर मकहाँ नआई सरासर ती बूढी आमैको झुपडीमा किन जानुभयो? मेरो दान ग्रहण गर्नुभन्दा अगाडि किन हजुरले उनको दान ग्रहण गर्नुभयो?’
यो सुनेर दिपंकर बुद्ध मुसुक्क हाँसे र भने, ‘हे राजन, दानमा कसैको दाबी हुँदैन। दानको महत्व उसले दिने वस्तुमा पनि हुँदैन। दान लिँदा दिने व्यक्तिको चित्त हेरिन्छ, उसले सजाएको वस्तु होइन। राजन, तिमी दानी छौ, उदार छौ, यसमा मलाई शंका छैन। तर तिमी आफ्नो क्षमताले दानी भएका हौ। तिमी सम्पन्न छौ। यत्रो नगरको शासन व्यवस्था सम्हाल्छौ। जनतालाई दुःख पर्दा आफ्नो ढुकुटी पनि खोल्छौ। तर यो सबै तिमीले जनताबाटै उठाएको करले आर्जन गरेका हौ। तिम्रो सबै सम्पत्ति जनताको मिहिनेत पसिनाको उपज हो। तर ती बूढी आमैलाई हेर त राजन। उनलाई दान दिन कसैले कर गरेको छैन। दान दिनु उनको क्षमता पनि होइन। तै पनि उनलाई उनको चित्तले दान दिन घच्घच्यायो। उनले दिनरात अर्काको खेतमा गएर त्यहाँ झरेका धानका सिलाहरू टिपेर ल्याइन्। उनको हृदय सागरजत्तिकै फराकिलो छ। उनको दानमा तिम्रोभन्दा कयौं गुणा बढी उदार मन लुकेको छ। तिमीले दिने बहुमूल्य वस्तुको दाँजोमा उनले दिएको धानका सिलाहरू कयौं गुणा अमूल्य छन्।’
दिपंकर बुद्धबाट यस्तो कुरा सुनेपछि सर्वानन्द राजा झसंग भए। उनको आँखा खुल्यो।
उनी एकदिन भेष बदलेर दरबारबाट बाहिर निस्किए र कुनै अर्कै नगरमा गएर फलामको काम गर्ने गरिब व्यक्तिको झुपडीमा पुगे।
उनले धेरै समय त्यही झुपडीमा बसेर फलामको काम सिके। दिनरात कठोर मिहिनेत गरे र केही पैसा कमाएर फेरि आफ्नो दरबार फर्के।
दरबारको ढुकुटीमा भएका सुनचाँदी, हिराजवाहरातको दाँजोमा फलामको काम गरेर कमाएको रकम नगन्य थियो। तै पनि सर्वानन्द राजाले पसिना बगेको मिहिनेतको कमाइको महत्व बुझे। उनलाई दरबारको ढुकुटीभन्दा त्यो थोरै पैसा नै अमूल्य लाग्यो।
त्यसपछि फेरि सर्वानन्द राजाले दान समारोह आयोजना गरे र नायकी बाजा बजाउँदै, नगरभरि झ्याली पिट्दै दिपंकर बुद्धलाई निमन्त्रणा गर्न आफैं उनीकहाँ गए।
यसपालि चाहिँ दिपंकर बुद्ध सरासर उनकै दरबारमा प्रवेश गरे र सबभन्दा पहिला उनकै हातबाट दान ग्रहण गरे।
‘मैले तिम्रो बदलिएको चित्त भाँपिसकेँ राजन,’ उनले भने, ‘तिमीले आज मलाई दान दिन लागेको वस्तु जनताको करबाट आर्जित होइन, त्यो तिम्रो पसिनाको कमाइ हो। त्यसैले म यसपालि सरासर तिम्रै हातबाट दान ग्रहण गर्न तिम्रो दरबार आएको छु।’
सर्वानन्द राजाको खुसीको सीमा रहेन। उनको मुहार पूर्णिमाको जुनजस्तो उज्यालो भयो। उनको मन छाँगाबाट खसेको छहराजस्तो छमछम नाच्न थाल्यो। उनको हृदयमा वसन्तका असंख्य पालुवाहरू पलाए। उनको कानमा चराका चिरबिर गुञ्जिन थाल्यो।
गौतम बुद्ध आफ्ना शिष्यहरूलाई भन्दैछन्, ‘दिएको दान कहिल्यै खेर जाँदैन। त्यो कुनै न कुनै रूपमा फेरि फर्केर दिने मान्छेकै झोलीमा आउँछ। दिनु भनेको पाउनु पनि हो। दान नै समृद्धिको मार्ग हो। जुन समाज उदार हुन्छ, जुन समाजले अर्कालाई दिन जानेको हुन्छ, त्यो समाज समृद्ध हुन्छ। त्यहाँ समृद्धिले समृद्धिलाई पछ्याउँछ। खुसीले खुसीलाई तान्छ।’
नभन्दै सर्वानन्द राजाको उदारताको फलले दिपावती नगर झन् झन् समृद्ध हुँदै गयो।
नगरवासीहरू झन् झन् उच्च मुकाममा पुगे।
यसबाट प्रसन्न सर्वानन्द राजाले सम्पूर्ण दिपावती नगरलाई नयाँ स्वरूप दिए। उनले नगरभित्र नौ ठाउँमा नौवटा चैत्य स्थापना गराए। नौवटा हिति बनाए। नौवटा पोखरी र नौवटा इनार खनाए। नौवटा फल्चा बनाए। नौथरीका गुठी र नौवटा मठ–मन्दिरहरू स्थापना गराए। र, नगरको बीचमा नौतले भव्य विहारको पनि निर्माण गराए।
दिपावती नगरले हेर्दाहेर्दै यस्तो समृद्धशाली स्वरूप लियो जसलाई देखेर स्वयं देवराज इन्द्रले पनि इर्ष्या माने।
नयाँ नगर बसाइसकेपछि सर्वानन्द राजाले फेरि एकचोटि दान समारोह आयोजना गरे। नायकी बजाए र झ्याली पिट्दै दिपंकर बुद्धलाई निम्ता गर्न गए।
यसपालि उनले नगरको बीचमा बनेको नौतले विहार नै दिपंकर बुद्धलाई अर्पण गरे र आफू पनि त्यही विहारमा जीवनपर्यन्त बौद्ध धर्मको अभ्यास गर्दै बसे।
धेरै कालपछि उनै सर्वानन्द राजाले कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमका रूपमा जन्म लिए जो पछि तथागत गौतम बुद्ध बने।
गौतम बुद्धले जेतवन विहारको घना पिपलको वृक्षमुनि बसेर आफ्ना शिष्यहरूलाई सुनाएको उपदेश–कथा यहीँ सकिन्छ।
र, योसँगै गुइत:का ज्ञानेन्द्र शाक्य र नानीकाजी शाक्यले मलाई वर्णन गरेको पौभा: चित्रमा उल्लिखित चार भागको कथा पनि यहीँ सकिन्छ।
पौभा: चित्रको अन्तिम भागमा एउटा अर्को कथा पनि छ जुन लिच्छवि राजा वृषदेवको मृत्यु र स्वर्गयात्रा र त्यसले दिने सन्देशसँग सम्बन्धित छ। वृषदेव राजाको यो कथा म फेरि अर्कोचोटि सुनाउँला।
गौतम बुद्धले जेतवन विहारमा आफ्ना शिष्यहरूलाई वर्णन गरेको दिपावती नगर नै पाटनको गुइत: टोल हो।
सर्वानन्द राजाले पहिलोचोटि दान समारोह आयोजना गर्दा दिपंकर बुद्धले उनको दरबारभित्र नछिरी जुन बूढी आमैको हातबाट दान ग्रहण गरेका थिए, ती बूढी आमैलाई आज पनि ‘गुइत: अजी’ का रूपमा पूजा गरिन्छ। त्यहाँको एउटा विहारमा गुइत: अजीको मूर्ति स्थापना गरिएको छ।
गुइत: नगर स्थापनासँग जोडिएको पौभा: चित्र कहिले बन्यो भन्ने कसैलाई थाहा छैन। अमेरिकी अनुसन्धाता मेरी स्लसरले आफ्नो ‘नेपाल मण्डल’ किताबमा यसलाई चौधौं शताब्दीमा बनेको भनेर लेखेकी छन्। उनले पौभा: चित्रको कलात्मक शैलीका आधारमा यो आकलन गरेकी हुन्। यसलाई पुष्टि गर्ने प्रमाण छैन।
स्थानीयहरू यो पौभा: चित्र त्योभन्दा धेरै अगाडि लेखिएको र समयक्रममा बिग्रँदै, मक्किँदै गएपछि हुबहु नयाँ बनाइँदै आएको विश्वास गर्छन्। जसरी कपडामा लेखिएको पुरानो चित्र बिग्रेपछि अहिलेका पुस्ताले त्यसैबाट सारेर नयाँ बनाएका छन्।
‘यो पौभा: चित्र गुइत:को इतिहास कथा मात्र होइन, हाम्रो संस्कृति पनि हो,’ ज्ञानेन्द्रले भने, ‘हाम्रा पुर्खाहरूले एउटा बिग्रेर गएपछि त्यही हेरेर अर्को बनाएका हुन सक्छन्। यो गुइत:मा निरन्तर चलिआएको प्रक्रिया हो।’
बेखारत्न शाक्यले मलाई सुनाउन चाहेको तर सुनाउन नपाएको पौभा: चित्रको यो कथा गुइत: टोलकै ज्ञानेन्द्र र नानीकाजीबाट सुनेर फर्कंदा मलाई अत्यन्तै खुसी लागिरहेको थियो।
बेखारत्नको अन्तिम इच्छा पूरा भयो भन्ने अनुभूतिले म आफैंमा मखलेल थिएँ।
सोच्दै थिएँ, यी ज्ञानेन्द्र शाक्य आफ्ना बा बिरामी भएको दौडादौडबीच एकछिनका लागि विहारमा आएका थिए। त्यो पनि हामी भएकै बेला। यस्तो लाग्थ्यो, नियतिले उनलाई हामीलाई कथा सुनाउनकै लागि यहाँ पठाइदिएका थिए।
कतै बेखारत्नकै आत्माले उनलाई डोर्याएर यहाँ ल्याइदिएको त होइन! के बेर!
गुइत:बाट फर्किनुअघि म र सबिनाले बेखारत्नको घरमा आवाज दियौं। माथि चोटाबाट एउटी महिलाले पुलुक्क हेरिन्। हामीले उनलाई तल बोलायौं। उनी बेखारत्नकी छोरी रहिछन्।
मैले उनलाई बेखारत्नसँग हाम्रो भेट कसरी भयो र कसरी उनले पौभा: चित्रको कथा सुनाउन जनैपूर्णिमाको दिन आउनू भनेर निम्तो दिएका थिए भन्ने सुनाएँ।
असार ५ गते बेखारत्न बाको मृत्यु भएको रहेछ। त्यसको दुई महिनापछि उनैलाई सम्झना गर्दै दुई जना अपरिचित व्यक्ति आफ्नो घरको ढोकामा आएको देखेर होला, छोरीका आँखा रसाए।
‘बालाई केही भएकै थिएन। दिउँसो अलिकति भोज खानुभएको थियो। राति दम बढ्यो। हतारहतार अस्पताल पुर्यायौं। अस्पताल लग्नासाथ उहाँ जानुभयो। मार्नकै लागि अस्पताल लगेजस्तो पो भयो,’ बेखारत्नकी छोरी भावुक सुनिइन्।
‘तपाईंहरू उहाँलाई सम्झँदै आउनुभयो, खुसी लाग्यो,’ उनले भनिन्, ‘त्यहाँ विहारमा जानुस् है, उहाँले आफैं सुनाउन नपाए पनि पौभा: चित्रको कथा सुनाउनेहरू त्यहाँ भेटिन्छन्।’
मैले उनलाई धन्यवाद दिएँ र बेखारत्न बाले सुनाउन चाहेको तर सुनाउन नपाएको कथा हामीले भर्खरै सुनेर आएको उनलाई बतायौं।
उनी चुप्प लागिन्।
हामी पनि केही बोल्न सकेनौं।
‘फेरि आउँछौं है,’ यति भनेर हामी विदा भयौं।
बेखारत्नको घरको ठ्याक्कै अगाडि गुइत: पोखरीमा यति बेला लबालब पानी भरिएको छ। यही पोखरीको प्रसंगले हामीलाई परिचित गराएको थियो। तर अहिले लबालब पानी भरिएको पोखरी हेर्दै दंग पर्न बेखारत्नका आँखाहरू गुइत:मा छैनन्।
बेखारत्नले सुनाउन नपाएको यो कथा म उनैलाई समर्पण गर्न चाहन्छु। यो कथा मेरो तर्फबाट बेखारत्न शाक्यलाई श्रद्धाञ्जलि।



