२००७ सालको प्रजातान्त्रिक आन्दोलनलाई होस्टेमा हँैसे गर्दै सफलता प्रदान गर्ने नेपाली काँग्रेसका अनेक नेता एवम् कार्यकर्ताहरू मध्ये काशीप्रसाद श्रीवास्तव पनि एक स्मरणीय पात्र हुन् ।
आफ्नो विद्यार्थी जीवनकालमा भारतको स्वाधीनता आन्दोलनबाट प्रभावित भएका काशीप्रसाद श्रीवास्तव देशमा त्यतिबेला विद्यमान रहेको निरङ्कुश राणा शासनको स्वेच्छाचारिताप्रति विद्रोहको भावना राख्ने हुँदा देशको त्यस राजनीतिक दलसित सम्बद्ध हुन पुगे जो नेपाल आमालाई स्वतन्त्र वातावरणमा श्वास फेर्न लगाउने प्रतिबद्धताका साथ अधिनायवादी सरकारको विरुद्ध मैदानमा ओर्लेको थियो । यसरी देशको प्रजातान्त्रिक आन्दोलनका वीर सेनानी, नेपाली आमाका सुपुत्र, राष्ट्रवादी नेता र दलित जनताका मसिहाका रूपमा २००७ सालको जनक्रान्ति, २०३६ सालको जनमत सङ्ग्रह, सत्याग्रह एवम् २०४६ सालको संयुक्त जनआन्दोलनमा सहभागी हुन पुगेका काशीप्रसादको योगदान नेपालको राजनीतिक इतिहासमा अङ्कित रहे पनि वर्तमान अवस्थामा उनी जसरी ओझेलमा पारिएका छन् । त्यसले “खोला त¥यो लौरो बिर्सियो” को उक्तिलाई चरितार्थ गरेको बुझिन्छ । यस्तो वातावरणमा पाटन संयुक्त क्याम्पसका सह–प्राध्यापक डा. जगतप्रसाद पराजुलीले “नेपालको प्रजातान्त्रिक आन्दोलनमा काशीप्रसाद श्रीवास्तवको योगदान” शीर्षकको पुस्तक बजारमा ल्याएर नयाँ पिढीका पाठकवर्गसामु नेपाल आमाका यी सुपुत्रले देश र जनताका लागि गरेका सेवालाई प्रकाशमा ल्याउने प्रशंसनीय काम गरेका छन् ।
बनारस हिन्दु विश्वविद्यालयबाट शिक्षित काशीप्रसाद श्रीवास्तव भारतको स्वाधीनता आन्दोलनको क्रममा गान्धी, पण्डित जवाहर लाल नेहरू एवम् डा. राजेन्द्र प्रसाद जस्ता शीर्ष नेताहरूका सम्पर्कमा मात्र आएनन्, आन्दोलनमा सहभागी भए बापत हजारीबाग जेलमा पनि ५ महिना सँगै जीवन बिताए । महात्मा गान्धीको सम्पर्कमा आउँदा उनका विचार र जीवनबाट प्रभावित भई “सादा जीवन उच्च विचार” का अनुयायी समेत भए । बद्रीनारायण लाल एवम् माता तीर्थराजीका पुत्रका रूपमा सन् १९२५ को फेब्रुअरी महिनाको १ तारिखका दिन जन्मेका काशीप्रसाद श्रीवास्तव नेपालका राजनीतिका एक यस्ता पात्र थिए जसको देशभक्ति, निष्ठा, प्रजातन्त्रप्रतिको समर्पण भाव र ००७ सालको सशस्त्र क्रान्तिकालको भूमिकाको सबैले कदर गरे । उनलाई सशस्त्र क्रान्तिको सञ्चालक बनाएर उनको योग्यता र भूमिकालाई यथोचित सम्मान प्रदान गरियो । उनले विद्रोही सरकारको छाँया प्रधानमन्त्रीको रूपमा पनि काम गरे ।
भारतीय स्वाधीनता आन्दोलनमा सहभागी भई जेल परेको र शीर्ष भारतीय नेताहरूको निकट सम्पर्कमा रहेको हुँदा उनले आफ्ना प्रवासी सहकर्मीहरू (जो प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए बापत “अ.त.” कहलाउँदथे र निर्वासित जीवन बिताउन वाध्य थिए) का लागि भारतीय संस्थापन पक्षसित सम्पर्क राख्दै सुविधा उपलब्ध गराउन चुकेनन् । उनको निष्ठा, कर्तव्यपरायणता र सादा जीवनबाट प्रभावित तत्कालीन भारतीय पक्षले उनलाई आपूmतर्फ तान्ने र आफ्नो हित अनुकूल काम गराउने चाहना व्यक्त गर्दा उनको अन्तरात्माले उनलाई “आफ्नै देशको माटो र मातृभूमिको सेवामा लीन हुन” प्रेरित ग¥यो । उनी एक प्रखर राष्ट्रवादी र देशभक्त राजनीतिज्ञका रूपमा देशको राजनीतिमा प्रतिष्ठित हुन पुगे । जनताले पनि २०१५ को आमनिर्वाचनमा उनलाई विजयश्री दिलाएर प्रतिनिधिसभामा पु¥यायो । यी सबै कुराहरूको उठान गर्दै विद्वान लेखक डा. पराजुलीले देशको नयाँ पिढीसामु एकजना यस्ता राजनीतिक व्यक्तित्वको चित्र प्रस्तुत गर्ने प्रशंसनीय काम गरेका छन्, जो आजका दिनमा इतिहासको गर्भमा विलुप्त छ ।
२०१७ सालमा प्रजातन्त्रको हत्या गरिँदा उनी मूकदर्शक भई बस्न सकेनन् । प्रजातन्त्रप्रति समर्पित एक सेनानीका रूपमा आफ्ना अन्य सहकर्मीहरूका साथ उनी पनि निर्वासित भए र आफ्ना साथीहरूका निम्ति सहायता जुटाउन भारतीय संस्थापन पक्षसित सम्पर्क कायम गर्न अग्रसर भए । साथै सीमा क्षेत्रका जनतालाई प्रजातन्त्रको महत्व बताउने अभियानमा लागे । यस कुराको सुइँको पाएको तत्कालीन सरकारले उनको सर्वस्वहरण ग¥यो । २०१७ देखिको तात्कालीन पञ्चायत प्रशासनले अनेक राजनीतिज्ञहरूलाई आफ्नो पोल्टामा पारेसरह काशीप्रसादलाई पनि आपूmपट्टि तान्न खोज्यो तर असफलता मात्र पायो । उनी त्यस व्यवस्थाको समर्थक बन्दै सुख–सुविधाको जीवन बिताउन चाहँदैन थिए, जसले ठूलो संघर्षपछि पाएको प्रजातन्त्रको घाँटी निमोठेको थियो । आपूmलाई अनुचित लाग्ने कुराको आलोचना गर्न नचुक्ने र गान्धीवादी सिद्धांतका अनुयायी काशीप्रसादले सन् १९५० मा दिल्लीमा राजा त्रिभुवन र भारतका बीच भएको सम्झौताको आलोचना गर्दै एउटा वक्तव्य निकालेर भने, “मोहन शमशेरलाई नै प्रधानमन्त्री बनाउने कदम आन्दोलनको लक्ष्य होइन र यो प्रजातान्त्रिक निर्णय पनि होइन ।” उनले साथै यो पनि भने– “प्रजातान्त्रिक लडाइँमा निश्चित निष्कर्ष प्राप्त नगरेसम्म अर्थात पूर्ण प्रजातन्त्र प्राप्त नभएसम्म युद्ध स्थगन हुँदैन ।” (पृष्ठ १६२) । उनका भाषणहरूमा एकजना सुशिक्षित राजनीतिज्ञ एवम् बौद्धिक विचारको छाप पाइन्थ्यो ।
देशको राजनीतिक मञ्चमा ओर्लेपछि काशीप्रसाद श्रीवास्तव विभिन्न नेताहरूको निकट सम्पर्कमा आए । टंकप्रसाद आचार्य, डा. के. आई. सिंह, रामराजाप्रसाद सिंह एवम नेपाली काँग्रेसका विभिन्न शीर्ष नेताहरूको निकट सम्पर्कमा आए । उनको कार्य र विचार शैलीले उनलाई नेपाली राजनीतिको शीर्ष स्थानमा पु¥यायो । जेल जीवनकालदेखि नै भारतीय राजनेताहरूसितको निकटताबाट उत्पन्न भएको राम्रो सम्बन्धका कारण काशीबाबु बेला–बखत आवश्यक पर्दा नेपाल–भारतबीच उत्पन्न हुने विवादलाई सुल्झाउन मध्यस्थको रूपमा पनि अगाडि सर्दथे ।
समीक्षाधीन पुस्तक “नेपालको प्रजातान्त्रिक आन्दोलनमा काशीप्रसाद श्रीवास्तवको योगदान” का लेखक डा. जगतप्रसाद पराजुलीले नेपालको राजनीतिमा काशीप्रसादको अविस्मरणीय भूमिकालाई यथेचित रूपमा प्रकाशमा ल्याएर नयाँ पीढीको पाठक वर्गका लागि एउटा पठनीय र सङ्ग्रहणीय सामग्री उपलब्ध गराएका छन् । संक्षेपमा भन्नु पर्दा २ सय २४ पानाको यस पुस्तकलाई प्रकाशमा ल्याएर लेखकले नेपाली राजनीतिप्रति चासो राख्ने नयाँ सन्ततिसामु एकजना देशभक्त एवम् निष्ठावान् राजनीतिज्ञको आदर्शपूर्ण जीवन गाथा समेत प्रस्तुत गरेका छन् । –०–
“नेपालको प्रजातान्त्रिक आन्दोलनमा काशीप्रसाद श्रीवास्तवको योगदान” पुस्तक पढेपछि
- प्रकाशप्रसाद उपाध्याय



