मेरो चर्केको भित्तामा एउटा तस्बिर टांस्नु छ
मनका उकुस मुकुस ज्वालामुखीहरु समेट्ने
अपमानको धूलोले नछुने
संगै आयुकाबत्तीहरु बालेर
आफुलाई नै ताछेर
मुखुन्डो बेच्ने राजनैतिक पसलहरुमा जस्तै
विवेगलाई कोतरेर
जिन्दगीको नाटकको अन्तिम दृश्यलाई सम्झने
एउटा तस्बिर टाँस्नु छ
*******
पुर्खाहरुको साँध समाउन खोजे जस्तो
फ्याँकिएको बर्तमानलाई वास्ता नगरी
चाउरिएका सतहका तरङ्गहरु मिलाउन
समयको स्वाद लिंदै
हिज्जोले आजलाई बिर्से झैं
बाध्यताको गतिहिनता समाउने
मेरो सांस्कृतिक घाउहरु देखिने
एउटा तस्बिर टाँस्नु छ ।
******
स्वार्थको सुइरोले कोपेर
त्यसै माथी घमण्डी किल्ला ठोकेर
विस्वासीलो डोरीले बाँधेर
चारै किल्ला बलियो फ्रेम बनाउनु छ
पारदर्शी स्वच्छ ऎना राखेर
मनैदेखी सफा पारेर
सम्झनाका आलिङ्गन सम्झेर
दुधको धारा चुकाउन
सदाकालको हार्दिकता अर्पण गर्दै
मलाई जन्म दिने आमाको तस्बिर
यो मनको भित्तामा टाँस्नु छ ।



