लजालु र लोपोन्मुख वन्यजन्तु सालक

- रत्न प्रसाद अनामणि श्रेष्ठ ,बनेपा नाला -४ ,काभ्रे


नेपाल, भारत, चीन लगायतका दक्षीण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ एक किसिमको लजालु बन्यजन्तु हो सालक (प्यांगोलिन)। एक लोपोन्मुख वन्यजन्तुभित्र यो जीव पनि पर्दछ। विश्वमा सालकहरु आठ प्रजातिका पाइन्छ ती मध्य नेपालमा दुई प्रजातिका पाइन्छ। नेपालमा कालो सालक (चाइनिज प्यांगोलिन) र लोपोन्मुख तामे सालक( इन्डियन प्यांगोलिन) मात्र पाइन्छन्। समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइको वनजंगलमा सालक पाइन्छन। यी जीव शान्त वातावरणमा बस्न रुचाउने अति लजालु, संवेदनशील एवं , मानवलाई हानि नगर्ने र इकोसिस्टमलाई नबिगारीकन जिबन यापन गर्दछन।  यो बन्यजन्तु स्तनधारी हो। यसको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ। यसको खबटा गहनाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ। यस जीवको दाँत हुदैन। ६० देखि ७० सेन्टिमिटरसम्म फैलने जिब्रोले टिपेर बनजंगलमा रहेका कमिला ,धमिरा र ससाना किरा फट्यांग्राहरु खाएर बांच्छ्न। विशेषगरी राती आफ्नो आहाराको लागि दुलोबाट बाहिर निस्किन्छ। सालकको र अन्य जनावरको दुलोमा फरक देखिएको कुरा अध्ययनले देखाएको छ।  बिश्वभरि नै यसको चोरि शिकारी गर्दछन। यसले आफुलाई खतरा महसुस भएमा शत्रुबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ। शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला रौं पनि उम्रेका हुन्छन्। यी रौं कत्लाको बीचबाट बाहिर निस्केकोहुन्छ यिनै रौंहरुले गर्दा सुनौलो पहेँलो रंगको देखिन्छ। यसले पुच्छरको सहायताबाट रुखको हाँगामा झुन्डिन सक्छ। राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ।

हामीलाई नोक्सान गर्ने कीरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव अथवा मित्रु जीवको रुपमा लिएकोछ।  विज्ञहरूको भनाइ अनुसार एउटा सालकले एक वर्षमा सरदर सात करोड धमिरालगायत कीराफट्यांग्रा खान्छन। सालकको बच्चाको जन्मदर धेरै कम छ। एक बेतमा एउटा मात्र बच्चा जन्माउने  र जन्मिएका बच्चामा पनि ३० प्रतिशत मात्र बाँच्ने भएकाले प्राकृतिक रूपमै यसको संख्या घटेको विज्ञहरूको भनाइ छ। कृषकहरुले बालीनालीमा बढ्दो विषादीको प्रयोगले कमिला, धमिराजस्ता सालकका मुख्य आहारामा कमी आएको छ। अर्कातर्फ वनजंगलमा हुने आगलागी तथा डढेलाले पनि सालकको संख्या घट्दै गएको पाइएको छ।

मानव तथा जंगलमा रहेका कुनै पनि वन्यजन्तुलाई क्षति नगर्ने गुणैगुणले भरिएको जनावर सालकलाई बचाउनु हामी सबैको कर्तब्य हो। कसैलाई आक्रमण नगर्ने, भाग्न नसक्ने, सजिलै समाउन सकिने र सोझो प्रकृतिको हुने भएकोले तस्करहरूले सजिलै समाउन सकिने भएकोले यसको फाइदा उठएकाछन् ।यस हामीले जनचेतना फैलाउनु जरुरी देखिन्छ। विश्वमा ५ मिनेट फरकमा एउटा सालक मारिन्छन्। हाल विश्वमा  दिनानुदिन संकटमा पर्न थालेकाले सालक संरक्षणको अभियान चलाउनु निकै आवश्यक देखिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरिदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ। नेपालमा हालसम्म ६२ वटा  वटा जिल्लामा भेटिएको तथ्य रेकर्ड भएको छ। १०औं विश्व सालक दिवसको अवसर पारेर कीर्तिपुरको बाघभैरव सामुदायिक वनमा नेपालको पहिलो सालक पदमार्ग घोषणा गरिएको छ । व्यसायिक सालक गाइडको रुपमा पनि काम गर्ने गरी तालिम पनि दिएको हुनाले सालक बारे सहि सत्य तथ्य जानकारी पाउने आशा गर्न सकिन्छ।

 

यसमा तपाइको मत