सिर्जना कटुवालको गजल – यो मनलाई राहत चाहिएको छ


छाक टार्ने खाना र ओत लाग्ने छत चाहिएको छ,
धनदौलत होइन यो मनलाई राहत चाहिएको छ!

मेरो देशमा गरिबहरुले न्याय पाउनै छोडे,
कठघरा नबेच्ने एउटा अदालत चाहिएको छ!

विवेक भएर मात्रै विवेकशील नभइने रहेछ,
गलत लाई गलत भन्न सक्ने हिम्मत चाहिएको छ!

तिमीलाई बिरामी पर्दा जसले ख्याल गर्थ्यो,
आज उसलाई पनि थोरै हिफाजत चाहिएको छ!

हामी पूर्ण रुपमा मान्छे अझै भएका छैनौं,
धेरथोर इमान र राम्रा आदत चाहिएको छ!

यसमा तपाइको मत