सिर्जना कटुवाल गजल – बदलिरहने मौसम

- सिर्जना कटुवाल


 

मेरो नजरलाई के भो, हरेकलाई दलाल देख्छु
जो हालखबर सोध्छ, उसैलाई बेहाल देख्छु!

उत्तर दिनेहरुकै कमी खड्किन्छ सधैं
सोधिएका त यहाँ, हजारौं सवाल देख्छु!

फेरिने भनेका त अनुहार मात्रै रहेछन्
उही काम गराइ, पुरानै चालमाल देख्छु!

पहिले घरहरु टाढा र मनहरु नजीक हुन्थे,
अचेल टाढिएका मन, र जोडिएका पर्खाल देख्छु!

देखाउनै छ भने तिमी आकाश बनेर देखाउ
यी बदलिइरहने मौसम, त म हरसाल देख्छु!

यसमा तपाइको मत