काभ्रेको माटोमा लेखिएका हस्त लिखित तिन स्वस्थानिहरु


माघ महिना नेपालको काठमाडौँ उपत्यका र पहाडी जिल्लाहरूमा स्वस्थानी देवीको व्रत, उपासना गर्ने महिना हो। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर स्वस्थानी ब्रत र माघ स्नानको सुरु हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्‍ने सुनाउने परम्परा छ।स्वस्थानी व्रतकथाको किताब हरेक घरमा हुनुपर्छ भन्ने लोकविश्वास हो । वर्षको एकपटक त्यसको पठन पनि हुनुपर्छ। पठन पनि मौन होइन, सस्वर १ स्वस्थानी कथाको नाममा समाजमा पठन संस्कृति र साक्षरतामा ठूलो क्रान्ति भएको छ।

स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ । स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् ।

नेपालको स्वस्थानी व्रतसँग सम्बन्धित एउटा पुस्तक अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एसियाली अध्यययन, महिला अध्ययन, लैंगिकता तथा यौनिकता पढाउने जेसिका भेन्टिन बिर्कन्होल्जले  तयार पारिन् । स्वस्थानीमाथि भएका विभिन्न अनुसन्धानमध्ये जेसिका भ्यान्टाइन बर्किनहोल्जले गत वर्ष रिसाइटिङ गडेस द न्यारेटिभ्ज अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइजम इन नेपाल शीर्षकको किताब पछिल्लो हो ।दुई दशकको अध्ययनपछि उनले प्रकाशित गरेको पुस्तकमा स्वस्थानीको बारेमा हुने दुईवटा मिथकलाई विश्लेषण गरिएको छ । मिथकहरूमा महिलालाई प्रायः दुई स्वरूपमा देखाइएको हुन्छ । पहिलो : शान्त, भद्र र नरम, अनि सधैं उनीहरूका पतिका साथमा रहने, जस्तो, पार्वती । अनि दोस्रो : अविवाहित तथा पुरुष साथीबिना एक्लै रहेकी, अनि आक्रामक र लडाकु स्वभावकी, जस्तो, दुर्गा वा काली । तर, स्वस्थानी देवी एक जटिल चरित्र हुन् र अन्य सबैभन्दा फरक छिन् । शान्त र भद्र भइकन पनि उनलाई चन्द्रावतीको कथामा उग्र र माफी दिन नसक्ने जसरी देखाइएको छ ।

स्वस्थानी व्रत कथा कति पुरानो हो भन्नेमा विद्वानहरुबीच एक मत छैन । तर यो एउटा सत्य कथामा आधारित पुस्तक हो भन्नेमा भने धेरै सहमत छन् । शुरुमा नेवारी भाषामा लेखिएकोमा नेपालीकरण गर्ने बेलामा यसलाई केही अतिरञ्जित पनि गरिएको पाइन्छ । तर यसमा समेटिएका अधिकांश कथा काठमाडौं उपत्यका र त्यसमा पनि साँखु क्षेत्रको कथासँग सम्बन्धित रहेको कुरामा धेरै सहमत देखिन्छन् ।

नेवारी समाजमा र यसबाहिर छुट्टाछुट्टै पाण्डुलिपिहरु भेटिएका छन् । यसमा गोमा, नवराजको मुख्य कथा छन् । यद्यपि अठारौं शताब्दीमा गोरखाबाट पाइएको अर्काे पाण्डुलिपिमा भने नवराजसँगै महादेव र पार्वतीको कथा पनि जोडिएको कुरा प्राचीन नेपालमा प्रमोद बस्नेतले लेखेको ‘कसरी शुरु भयो स्वस्थानीको कथा’ नामक अनुसन्धानमूलक आलेखमा उल्लेख छ । पछि तयार पारिएका पाण्डुलिपिमा मात्रै शिव पार्वतीको चर्चा थपिएको कुरामा दुई दशकसम्म स्वस्थानीको अध्ययन गरेकी जेसिका भेन्टिन पनि सहमत छिन् ।

दुई वर्षअघि अनलाइनखबरसँगको अन्तर्वार्ताको क्रममा भेन्टिनले भनेकी थिइन्, ‘मैले करिब ८०० प्रकारका स्वस्थानीका किताब फेला पारें र तीमध्ये १२५ को जाँच गरें । त्यसमध्ये पनि प्रकाशन मिति उल्लेख गरिएका, आकारप्रकार नबिग्रिएका र पूरा कथा भएका करिब दुई दर्जन छानेर पढें ।’ १७ औं शताब्दीदेखि २१ औं शताब्दीसम्म आइपुग्दा स्रोत पुस्तक र अहिलेको पुस्तकमा धेरै भिन्नता आएको उनी बताउँछिन् ।

अहिलेसम्म प्राप्त सबभन्दा पुरानो स्वस्थानी कथा सन् १५७३ को हो । यो संस्कृतमा थियो । अर्को प्राप्त प्रति सन् १६०३ को नेपालभाषामा थियो । ईश्वर बरालले सन् १६०१ को नेपाली भाषामा लेखिएको स्वस्थानी केशर पुस्तकालयमा देखेको तर, पछि त्यो प्रति फेला नपरेको बताएकाले त्यो प्रमाणित हुन सकेको छैन ।

बस्नेतको अनुसन्धानमूलक आलेख अनुसार हालसम्म पाइएको सबैभन्दा पुरानो स्वस्थानी भनेको नेपाल संवत् ६९३ (वि.सं. १६२९) को स्वस्थानपरमेश्वर्या व्रतकथा हो । जुन हस्तलिखित पुस्तक हो । यो संस्कृत भाषामा लेखिएको छ । त्यसको ३० वर्षपछि नेवारी भाषामा लेखिएको स्वस्थानी भेटियो । यो अहिले राष्ट्रिय अभिलेखालयमा संग्रहित छ । त्यसको झण्डै ११८ वर्षपछि मैथिली भाषामा लेखिएको स्वस्थानी भेटिएको छ । नेपाली भाषामा भने पहिलो पटक वि.सं. १८६७ मा लेखिएको हस्तलिखित स्वस्थानी भेटिएको छ ।

यिनै प्रमाणको आधारमा स्वस्थानी कथा १७ औं शताब्दीभन्दा पुरानो मान्न सकिन्छ । तर यही नै समयमा शुरु भयो भन्ने तथ्य भने भेट्न सकिएको छैन ।

यसमा तपाइको मत