
आधा रातमा पहिरो जाँदा
आधा रातमै गाउँ हराइसकेको थियो
विहानपख पहाडसँग
गाउँको खबर सोध्नुको के अर्थ ?
बिचरा गाउँ – आकाश गडगडाउँदा
सधैं डराउँथ्यो र भन्थ्यो
“बादलसँग साह्रै डर लाग्छ
मलाई उसको भारी वर्षाबाट बचाऊ ।”
हो … उसको पुकार सुनेर नै
गाउँ बचाउने योजनाहरू
सल्बलाएका थिए, तर अफसोच कानमा तेल हालेर सम्झाँझै मस्त सुतेको त्यो योजना,
सिङ्गै गाउँ पहिरोमा बिलाइसक्दा पनि
निन्द्राबाट अझै बिउँझिएको छैन ।
थाहा छैन –
कति गाउँ बिलाउने होला
निन्द्राबाट योजना बिउँझिँदासम्म ।
– रातोपुल, काठमाण्डौ ।



