
गजल
मुर्दाको होइन जिउँदाको उपचार हुनसक्छ,
मरेपछि त मात्र अन्तिम संस्कार हुनसक्छ ।
छोरा यदि श्रवण कुमार बन्न सके बाबा भने,
त्यसैमा बा आमा जिउने आधार हुनसक्छ ।
बरू साहित्यकार बने, तर दलाल नेता नबने,
कवि बेइमान हुन्न तर नेता गद्धार हुनसक्छ ।
हुन त राजनीति नगर्नु त्यो पनि राजनीति हो,
मान्छेलाई छुट्याउने उसकै व्यवहार हुनसक्छ ।
ऊ खाडीमा भएपनि चिन्ता छ आफ्नै देशको,
त्यसैले त ऊ नेपाली वीरकै अवतार हुनसक्छ ।
देश जोगाउने त महान सपुत हुन् देशको,
नेताको भर नपरौँ देशको व्यापार हुनसक्छ।
गजल
तिमीलाई छुन आकाशकै जुनको चिन्ता छ,
मलाई छाक टार्ने चामल र नुन को चिन्ता छ ।
कसरी चल्छ घरबार आकाश छुन खोजेपछि ,
आफूलाई अचेल आफ्नै खुनको चिन्ता छ ।
तिमी सधैँ एक मधेश एक प्रदेशकै कुरा गर्छौ
यहाँ हिमाल, पहाड, मधेश र दुनको चिन्ता छ ।
यो स्वाभिमानी नागरिकले सिङ्गो देश रोज्दा,
तिमीलाई भने विदेशी त्यो धुनको चिन्ता छ ।
युवाहरू आफ्नै देशमा रोजगार नपाउँदा चिन्ता,
हाकिमलाई तलब भन्दा सगुनको चिन्ता छ ।
के खाऊँ भन्ने छ गरिबको घरमा बिहान बेलुका,
पेट अघाएकालाई चाँदी सुनको चिन्ता छ ।
– दाङ घोराही – १८
(१९-१०-२०२४)



