खतिवडाको यात्रा -पत्रकारितादेखि म्युजिक भिडियोसम्म


काठमाडौ । तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय मनोज खतिवडाले अब संगीतमार्फत पनि सन्देश दिने अभियान थालेका छन्। उनीद्वारा रचित तथा प्रस्तुत गरिएको “पत्रकार हौं हामी” बोलको गीत सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

पत्रकारहरूको पेशागत आत्मस्वाभिमान, कठिनाइ र सामाजिक भूमिकालाई समेट्दै तयार पारिएको यो गीतको लोकार्पण विशेष समारोहबीच भदौ पहिलो सातामा काठमाडौंमा हुने जनाइएको छ। गीतमा शब्द पत्रकार मनोज खतिवडाको रहेको छ भने संगीत तथा स्वर समकालीन युवा सर्जकहरूको सहभागितामा तयार गरिएको हो।

“पत्रकारिताले मलाई अभिव्यक्ति दियो, अब संगीतले सन्देश प्रवाह गर्न खोज्दैछु,” खतिवडाले बताए। गीतको भिडियोमा पनि पत्रकारिताको जीवनशैली, संघर्ष र जनपक्षीय भूमिकालाई दृश्यमा उतारिने तयारी रहेकाे बताइन्छ ।

गीत निर्माणमा भिडियो निर्देशन, सम्पादन, छायांकन लगायतमा पनि अनुभवी टिम संलग्न रहने छ, र पत्रकारितासँग सम्बन्धित विभिन्न प्रतीकात्मक दृश्यहरू समावेश गरिने निर्माण पक्षले जानकारी दिएको छ।

“पत्रकार हौं हामी” गीतको लोकार्पण कार्यक्रममा पत्रकार, कलाकार, साहित्यकार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। आयोजकका अनुसार गीत नेपाली पत्रकार समाजप्रतिको श्रद्धा, प्रेरणा र सम्बोधन स्वरूप तयार पारिएको हो।

पत्रकारिताको कलम सम्हाल्दै आएका मनोज खतिवडाको यो सांगीतिक यात्रालाई नेपाली मिडिया र सर्जनशील क्षेत्रले उत्साहपूर्वक स्वागत गर्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत