
माघ २४ गते नेपालको ऐतिहासिक पहिलो जलविद्युत उत्पादन गृह फर्पिङको पानीपोखरी क्षेत्रमा संयुक्त बृहत् कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। १९६८ सालमा राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा निर्माण गरिएको ‘चन्द्रज्योति’ नामक जलविद्युत गृह दरबारमा विद्युत आपूर्ति गर्न स्थापना गरिएको थियो, जसलाई नेपालको पहिलो जलविद्युत गृहका रूपमा मानिन्छ।
सुसेली साहित्यिक प्रतिष्ठान, शब्दाङ्कुर, वर्तमान कविता समूह र शब्दपथको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा काठमाडौँ, भक्तपुर र ललितपुरका स्थापित तथा सक्रिय कविहरूको उल्लेख्य उपस्थिति रहेको थियो। हल्का घाम र बताससँगै प्रकृतिको रमणीय वातावरणमा कविता सुन्ने–सुनाउने अवसरले सहभागी कविहरू मन्त्रमुग्ध बनेका थिए।

कार्यक्रमको विशेषता स्वरूप सभापति वा प्रमुख अतिथि चयन नगरिएको थियो। सबै सहभागी कविहरूलाई समान रूपमा ‘प्रमुख’ का रूपमा सम्बोधन गरिएको थियो। कार्यक्रममा कृष्ण कँडेल, विश्व सिग्देल, चन्द्रबहादुर लामा, कृष्णकुमार श्रेष्ठ, गोविन्दबहादुर खड्का, चन्द्रलाल तामाङ, विनोद खत्री, दीपक लोहनी, धन्वन्तरी मिश्र, नवीनराज पाण्डे, नारायण तिवारी, प्रमोद प्रधान, बालकृष्ण श्रेष्ठ ‘पासा’, मुरारि सिग्देल, रजनी खत्री, रमेश बलामी, राजेन्द्र शलभ, रामगोपाल आशुतोष, अच्युत घिमिरे, राजाराम राउत, विधान आचार्य, विश्वनाथ वाग्ले, विश्वविमोहन श्रेष्ठ, विष्णुविभु घिमिरे, शेखर अर्याल, सञ्जय सुमन, सविता केसी बोहरा, सरिता बलामी, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, सुशान्त केसी, स्नेही शिव, रामराजा केसी, धीरकुमार श्रेष्ठ, रमी प्रिया, डा. शेखरकुमार श्रेष्ठ, भोगेन्द्र लिङ्देन र किशोर पहाडीले आ–आफ्ना रचना वाचन गरेका थिए।
पर्यटन विषयमा वाचन गरिएका कविताहरूलाई शब्दाङ्कुरमार्फत अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गरिने जानकारी आयोजकले दिएका छन्।

आयोजक संस्था शब्दपथका प्रधान सम्पादक किशोर पहाडीले “आज मेरो एउटा सपना पूरा भयो” भन्दै यस ऐतिहासिक स्थलमा स्रष्टा पदयात्रासहित रचना वाचन गर्ने चाहना केही वर्षअघिदेखि रहेको बताए। “हाम्रो उमेर समूहका केही मित्रहरूलाई हिँड्न गाह्रो हुने भएकाले सवारी साधनमार्फत भए पनि चारवटा संस्थाले मिलेर कार्यक्रम सम्पन्न गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ,” उनले भने।
रचना वाचन गर्ने कविहरूलाई आयोजक समूहका किशोर पहाडी, रमी प्रिया, राजाराम केसी र राजेन्द्र लिङ्देनले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रमपश्चात् स्थानीय समुदायले कविहरूलाई नेवारी समेबजी खाजाबाट स्वागत गरेको थियो। साथै कविहरूले ऐतिहासिक जलविद्युत गृह, स्मारक स्थल तथा राणाकालीन विश्रामगृहको अवलोकनसमेत गरेका थिए।
कार्यक्रमको सञ्चालन सुसेली साहित्यिक प्रतिष्ठानका सल्लाहकार डा. शेखरकुमार श्रेष्ठले गरेका थिए।



