भिमेश्वर बाबा भन्छन् – राजावादीले चुनावमा भाग लिनु हुन्न


काठमाडौं — चर्चित तान्त्रिक गुरु भिमेश्वर बाबा (महावीर थापा) ले नेपालमा राजतन्त्र र राष्ट्रवादबारे फरक र बहसयोग्य दृष्टिकोण सार्वजनिक गरेका छन्। उनले हाम्रो प्रतिनिधिसँगको कुराकानीमा भने, “नेपालमा सच्चा राजावादीहरूको पहिचान चुनावी प्रक्रियाबाट हुँदैन, किनकि अहिलेको चुनाव स्वयं गणतान्त्रिक व्यवस्थाको अंग हो।”
उनका अनुसार, वास्तविक राजावादीहरूले चुनावमा भाग लिँदैनन् । कारण, उनीहरूका लागि राजा नै राष्ट्रको सच्चा, स्थायी र अविचल संरक्षक हुन्।
थापाले स्पष्ट शब्दमा भने -“नेपालमा सच्चा राजावादी चुनावबाट चिनिँदैनन्। चुनाव गणतन्त्रका लागि हो, राजतन्त्रका लागि होइन।”
उनले थपे कि राजा स्वयं राष्ट्रवादी व्यक्तित्व हुन् र राजसंस्थामै राष्ट्रको दीर्घकालीन सुरक्षा निहित छ। यही सन्दर्भमा उनले दुर्गा प्रसाईं जस्ता केही व्यक्तिहरूले मात्र नेपाली राष्ट्रवादलाई व्यवहारिक रूपमा बल दिन सक्ने धारणा राखे।
भिमेश्वर बाबाका अनुसार, अहिले नेपालमा यस विषयमा गम्भीर वैचारिक बहस आवश्यक भइसकेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्दै त्यसैको संरचनाभित्र चुनावमा सहभागी हुने र फेरि आफूलाई ‘राजावादी’ भन्नु वैचारिक रूपमा विरोधाभासपूर्ण रहेको उनको तर्क छ।
उनले अन्त्यमा भने,“राजतन्त्र चाहने हो भने विचारमा स्पष्ट हुनुपर्छ। एउटै समयमा गणतन्त्रको संरचनामा सहभागी भएर राजावादी बन्ने प्रयास भ्रम मात्र हो।”

यसमा तपाइको मत