आशा र सङ्घर्षलाई मुक्तकमा लेख्दै शान्ता देवकोटा


मुक्तककार शान्ता भट्ट देवकोटाको ‘अभ्यागत’ मुक्तक संग्रह हालै प्रकाशनमा आएको छ । ‘अभ्यागत’ नेपाली मुक्तक साहित्यमा एउटा सुन्दर उपहार हो ।
सङग्रहका मुक्तकहरू मार्फत मुक्तककारले मानव मनको भावना, समाजको स्थिति र मानव जीवनका अनुभूति र दृष्टिकोणलाई गहिराइसाथ प्रस्तुत गरेको देखिन्छ ।
लेखिका काठमाडौंको वनस्थली निवासी हुन् । लेखिकाले एम.ए. र एम.फिल. सम्मको शिक्षा हासिल गरेकी छिन् । साहित्य, गीत, सङ्गीत र भ्रमण उनका रुचिका क्षेत्र हुन् । नेपालका प्रायः सबै जिल्ला घुमिसकेकी लेखिकाले नेपाली समाजको यथार्थ चित्र मुक्तकहरू मार्फत प्रस्तुत गरेकी छिन् । जीवनका विविध अनुभवहरूले उनका मुक्तकहरूलाई विशेष बनाएको यो मुक्तक संग्रह पढदा अनुभुत हुन्छ ।

प्रा. डा. लक्ष्मणप्रसाद गौतमले समेत यो संग्रहमा मुक्तकहरूले आजको समय र समाजलाई आफ्ना भावना, अनुभूति, भोगाइ र दृष्टिकोणमार्फत अभिव्यक्त गरेको धारणा व्यक्त गरेका छन् ।

मुक्तक सङ्ग्रह ‘अभ्यागत’ ले नेपाली मुक्तक साहित्यमा बेग्लै स्थान बनाएको छ । भावनाको गहिराइ, भाषाको मिठास अनि समाजप्रतिको संवेदनशीलता राम्रोसँग मिसिएर मुक्तकहरू बनेका छन् ।
हेरौं एक मुक्तक –
शिशिर फुल्यो , भमरा डुल्यो वसन्तको छेउमा
माहुरी बस्यो , रसमा भुल्यो वसन्तको छेउमा
मीठा बात गरी रौसमा सागर भरिसक्यो फ़ेरि
बैसका आँखा देखेन उसले डुल्यो वसन्तको छेउमा
( अभ्यागत , पृ. १५)

मुक्तक विधालाई छोटो तर गहिरो भावना प्रस्तुत गरिने विधा भनिन्छ , त्यसको राम्रो नमुना यस सङग्रह पनि हो ।
विशेष गरी आधुनिक नेपाली समाजका चुनौती, व्यक्तिगत संघर्ष र आशालाई यति संक्षिप्तमा व्यक्त गर्नु लेखिकाको कलमको विशेषता बनेको छ ।

यसमा तपाइको मत