दिव्य, सिद्ध, र मानव गुरुहरू

- रत्न प्रसाद अनामणि श्रेष्ठ ,नाला बनेपा -४ ,काभ्रे


सनातन तथा तन्त्र परम्परामा गुरुको स्थान सबैभन्दा उच्च मानिन्छ। दिव्य, सिद्ध, र मानव गुरुहरू वास्तवमा साधना र आध्यात्मिक मार्गका तीनवटा फरक-फरक स्तर वा ‘ओघ’ (परम्परा/प्रवाह) हुन्।

​तन्त्र शास्त्रहरूमा यसलाई दिव्यौघ (दिव्य+ओघ), सिद्धौघ (सिद्ध+ओघ), र मानवौघ (मानव+ओघ) भनिन्छ। यी तीनै प्रकारका गुरुहरूका बारेमा विस्तृत रूप यी हुन ।

​१. दिव्य गुरु (दिव्यौघ)

​दिव्य गुरुहरू कुनै भौतिक शरीरमा बाँधिएका हुँदैनन्। उनीहरू साक्षात् ईश्वर, देवी-देवता वा ब्रह्माण्डीय चेतनाका रूप हुन्। उनीहरू निरंकार वा दिव्य रूपमा रहन्छन्। उदाहरणका लागि, आदिगुरु शिव (दक्षिणामूर्ति), भगवान् दत्तात्रेय, वा आदि शक्तिलाई दिव्य गुरु मानिन्छ।

 यी गुरुहरूले कुनै भौतिक माध्यम बिना नै योग्य साधकलाई सिधै ज्ञान वा दीक्षा प्रदान गर्न सक्छन्। उनीहरूको ज्ञान पूर्ण, शाश्वत र सत्य हुन्छ।  ब्रह्माण्डमा ज्ञानको पहिलो प्रवाह वा सुरुवात यिनै दिव्य गुरुहरूबाट हुन्छ।

​२. सिद्ध गुरु (सिद्धौघ)

​सिद्ध गुरुहरू त्यस्ता महान् आत्माहरू हुन् जसले मानव शरीरमा जन्म लिएर कठोर साधनाद्वारा आफूलाई ‘सिद्ध’ बनाए र पछि भौतिक शरीर त्यागेर पनि सूक्ष्म रूपमा साधकहरूलाई मार्गदर्शन गरिरहन्छन्। उनीहरू दिव्य र मानवको बीचको कडी हुन्। उनीहरू अमर वा सूक्ष्म शरीर (Astral Body) मा रहन्छन् र केवल उच्च स्तरका साधकहरूलाई मात्र देखिन्छन् वा अनुभूति हुन्छन्।

 महावतार बाबाजी, नवनाथहरू (जस्तै: गोरखनाथ, मत्स्येन्द्रनाथ), वा विभिन्न सिद्ध पुरुषहरू यस श्रेणीमा पर्छन्। उनीहरूसँग अष्टसिद्धि र अलौकिक शक्तिहरू हुन्छन्। उनीहरूले योग्य र उच्च साधकहरूलाई ध्यान, स्वप्न वा सूक्ष्म माध्यमबाट दीक्षा र मार्गदर्शन दिएर उनीहरूको साधनालाई गन्तव्यमा पुर्‍याउँछन्।

​३. मानव गुरु (मानवौघ)

​हामीले संसारमा प्रत्यक्ष देख्ने, सुन्ने र जसको सामिप्यमा बसेर शिक्षा वा दीक्षा लिन्छौँ, उनीहरू मानव गुरु हुन्। उनीहरू हाडमासुको भौतिक शरीर भएका, समाजमा बस्ने र गुरु-शिष्य परम्परालाई अगाडि बढाउने गुरुहरू हुन्।

भौतिक जगत्मा आध्यात्मिक यात्रा सुरु गर्नका लागि मानव गुरुको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। उनीहरूले शास्त्रको ज्ञान दिन्छन्, साधनाका नियम सिकाउँछन् र शिष्यका गल्तीहरूलाई सुधार्छन्। मानव गुरुले आफ्नो साधना र गुरु परम्पराबाट पाएको ज्ञानलाई संसारी मानिसहरूमा बाँड्ने काम गर्छन्। उनीहरू दिव्य र सिद्ध गुरुहरूसम्म पुग्ने पहिलो माध्यम (पाइलट) हुन्।

अत ज्ञानको सुरुवात दिव्य गुरुबाट हुन्छ, त्यसलाई परम्परामा सुरक्षित राख्ने र डोर्‍याउने काम सिद्ध गुरुले गर्छन्, र त्यो ज्ञानलाई हामीजस्ता सामान्य मानिससम्म पुर्‍याएर अन्धकारबाट उज्यालोतर्फ लैजाने काम मानव गुरुले गर्छन्।साधनामा अगाडि बढ्नका लागि सुरुमा ‘मानव गुरु’को मार्गदर्शन अनिवार्य मानिन्छ, जसले पछि साधकलाई ‘सिद्ध’ र ‘दिव्य’ ऊर्जासँग जोड्न मद्दत गर्दछ।

यसमा तपाइको मत