काठमाडौँ। असारको यो सुन्दर महिनामा नेपाली सङ्गीत बजारमा असारे भाकामा आधारित नयाँ गीत ‘पिपलपाते २ ‘ सार्वजनिक भएको छ । ग्रामीण परिवेश र असारे माहोललाई कलात्मक रूपमा समेटिएको यस गीतमा गायक सफिक्स मदन र गायिका रीता कुलुको सुमधुर स्वर सुन्न सकिन्छ। (अमन एकल )रामकृष्ण पाण्डेको बेजोड शब्द सिर्जना रहेको यस गीतमा सफिक्स मदन आफैँले सङ्गीत सङ्कलन तथा सङ्गीत संयोजन (अरेन्ज) गरेका छन्। इरिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेर थप निखारता दिएका छन्।
गीत जति मीठो छ, यसको भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको देखिन्छ । निर्देशक एवं छायाकार उमेश कार्की ‘यूके’ ले आफ्नो कुशल निर्देशन, क्यामरा वर्क र रङ संयोजनमार्फत भिडियोलाई मनमोहक बनाएका छन् ।
भिडियोमा (अमन एकल )रामकृष्ण पाण्डे, रामशरण पाण्डे, केशव अधिकारी, लक्ष्मी धमला, रीता कुलु र रश्मी धमला लगायतका कलाकारहरूको बेजोड अभिनय देख्न सकिन्छ। असारे झरी, हिलो र नेपालीपनको सुगन्ध बोकेको यो ‘पिपलपाते’ गीतले सम्पूर्ण श्रोता तथा दर्शकको मन जित्ने पूर्ण अपेक्षा गरिएको छ । यो म्युजिक भिडियो पाण्डे नेटवर्क युटुबमा हेर्न सकिनेछ।



