
काठमाडौँ — संविधानसभा सदस्य तथा नेकपा (एमाले) का नेता रामेश्वर फुयालको ‘अर्दली’ शीर्षकको चित्रकविता संग्रह सार्वजनिक गरिएको छ।

बौद्धमा आयोजित एक कार्यक्रममा उक्त संग्रह विमोचन गरिएको हो। कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवाली, संविधानसभा सदस्य दीपकप्रसाद कुँइकेल, प्रा.डा. जीवेन्द्रदेव गिरी, डा. विनोद मञ्जन तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटालगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
संग्रहमा फुँयालले विभिन्न समयमा रचना गरेका ५७ वटा कविता समावेश छन्। करिब ४५ वर्षको अवधिमा सिर्जना गरिएका यी कवितामा समाज, राजनीति र जनजीवनका विविध पक्ष समेटिएका छन्।

निजामती सेवाबाट आफ्नो करिअर सुरु गरेका फुँयाल राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा सेवा छोड्न बाध्य भएका थिए। त्यसपछि उनी सक्रिय राजनीतिमा लाग्दै आएका छन्। उनले तत्कालीन आलापोट गाविसमा दुई पटक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने काठमाडौँ जिल्ला उपसभापति, संविधानसभा सदस्य र प्रदेश सांसद हुँदै मन्त्रीसम्मको भूमिका निर्वाह गरिसकेका छन्।

कविता संग्रहको शीर्षक ‘अर्दली’ राख्नुको कारणबारे फुँयालले अर्दलीलाई ‘जनताको सेवक’ को रूपमा व्याख्या गरेका छन्।
उनले भने, “मैले पुस्तकका रूपमा प्रस्तुत गरेको ‘अर्दली’ मेरो विश्वास हो। देशको अर्दली हरेक नागरिक हुन सक्नुपर्छ भन्ने मेरो धारणा छ। यस संग्रहमार्फत मैले पाठकलाई चित्रकवितामा जनविकासका साझा परिकल्पना प्रस्तुत गर्ने प्रयास गरेको छु।”

कार्यक्रममा वक्ताहरूले फुँयालको साहित्यिक योगदानको प्रशंसा गर्दै उनका कविताले समाज र राजनीतिक चेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।



