अब्बल कलाकारितातिर उदीयमान मोडल आशिका घिमिरे


काठमाडौं — कहिलेकाहीँ जीवनका साना रहरहरूले नै ठूलो यात्राको सुरुवातका लागि प्रेरक बन्छन् । बागलुङकी आशिका घिमिरे ‘सिर्जना’ त्यही उदाहरण हुन्, जो बाल्यकालदेखिकै कला र नृत्यप्रतिको मोहलाई कर्ममा रूपान्तरण गर्दै आज नेपाली गीतसंगीत क्षेत्रमा एक सम्भावनायुक्त मोडलको रूपमा पहिचान बनाइरहेकी छिन्।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा पिता बाबुराम घिमिरे र माता साधना घिमिरेकी कान्छी सन्तानका रूपमा जन्मिएकी आशिकाको बाल्यकाल नै सिर्जनात्मक ऊर्जाले भरिएको थियो। नृत्य, अभिनय र कलाप्रतिको लगावले उनलाई सधैं अघि बढाइरहयो। पढाइमा पनि उत्तिकै अब्बल उनी अध्ययनको सिलसिलामा भरतपुरदेखि बुटवलसम्मको यात्रा तय गरिन्। कानुन विषयमा अध्ययनरत आशिका प्रहरी सेवामा कार्यरत छिन ,आफ्नो पेशागत जिम्मेवारी र कलात्मक यात्राबीच सन्तुलन कायम गरिरहेकी छन्।


उनको सांगीतिक यात्रा औपचारिक रूपमा सुरु भयो गीतकार तथा गायक गणेश अधिकारीको शब्द र स्वरमा सजिएको ‘चिसो चिसो’ बोलको गीतबाट। चर्चित मोडल विमल अधिकारीसँग सहकार्य गर्दै उक्त गीतमार्फत उनले दर्शक र स्रोतामाझ आफ्नो उपस्थितिलाई बलियो रूपमा दर्ज गराइन्। पहिलो प्रयासमै प्राप्त गरेको सकारात्मक प्रतिक्रिया उनका लागि प्रेरणाको स्रोत बन्यो । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
अहिले उनको अभिनय यात्रा क्रमशः परिपक्व बन्दै गएको छ । भजन ‘आऊ राधा बृन्दावनमा’ मा प्रस्तुत उनले गरेको भावपूर्ण अभिनयले दर्शकले मन पराएपछी उनी उत्साहित छिन् ।
यससँगै, लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै वन तथा वातावरण संरक्षणसम्बन्धी चेतनामूलक गीतमा देखिएको उनको सशक्त प्रस्तुति पनि प्रशंसनीय रहयो ।
आशिकाको लगन, समर्पण र निरन्तर मेहनतको प्रतिफलस्वरूप उनले सातौँ सगरमाथा म्युजिक अवार्डमा ‘सर्वोत्कृष्ट लोकदोहोरी नवमोडेल’ को उपाधि हासिल गर्न सफल भइन्।


अहिले उनी विभिन्न म्युजिक भिडियो, मेला महोत्सवहरूमा व्यस्त छिन् । उनका नयाँ सांगीतिक प्रस्तुति दर्शकमाझ आउने क्रममा छन्।
आफ्नो सफलताप्रति उनी विनम्र र उत्साहित छिन्। उनी भन्छिन्, “यो क्षेत्रमा अझै धेरै सिक्न बाँकी छ। यहाँसम्म आइपुग्दा मैले धेरै अनुभव बटुलेँ, धेरै मानिसहरूसँग चिनजान गर्ने अवसर पाएँ। अब अझै राम्रो कलाकार बन्ने लक्ष्यसहित अघि बढिरहेकी छु।”
…
आशिकाको व्यक्तित्व केवल ग्ल्यामर क्षेत्रमा मात्र सीमित छैन। उनीभित्र गहिरो मानवीय संवेदना र परोपकारी भावना पनि उत्तिकै बलियो छ । फुर्सदको समय मिलेसँगै उनी विभिन्न आश्रमहरूमा पुगेर असहायहरूसँग समय बिताउँन पाउँदा खुसी हुन्छिन् ।त्यहाँ उनी आफूले सकेको आर्थिक, खाद्यान्न र अन्य सहयोग गर्दै उनीहरूको जीवनमा थोरै भएपनि खुसी ल्याउने प्रयास गर्छिन्।


निस्वार्थ सेवाभावले आशिकालाई केवल एक कलाकार मात्र नभई समाजका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गरिरहेको छ।
कला, कर्तव्य र करुणाको सन्तुलन बोकेकी आशिका घिमिरेको कला यात्रा बिस्तारै सफलतातिर छ ।
अहिलेसम्मको उनको यात्रा हेर्दा नेपाली सांगीतिक क्षेत्रमा उनले अझ उज्यालो भविष्य कोर्नेमा कुनै शंका छैन।

यसमा तपाइको मत