
एक साँझ,
तपतप पातमा बजिरहेको पानीको सङ्गीत,
तुलसीको मठनेर
फैलिइरहेको अगरबत्तीको धुवाँ
र त्यसमै मिसिएको फूलहरूको सुगन्धले
जन्माइरहेछ एक मादक सुवास।
बरण्डामा बसेर नियालीरहेछु
बाटोमा दौडिरहेका
सवारीसाधनहरू, मानिसहरू,
दूध डेरी, होटल,
स्टेशनरी, वर्कसप..
मानिसहरू हिडेका छन्
कोही हातमा दूधको प्याकेट बोकेर,
कोही कापी, कलम
क्यालकुलेटर लिएर।
मन प्रश्न गर्छ,
हिसाब मिलाउने क्यालकुलेटरले
सम्बन्धको समीकरण मिलाउला कि नमिलाउला ?
सायद घरमा आगो नबल्नेहरू
होटल पसे।
सोचेँ,
यी अविवाहित होलान्
या शहरमा एक्लै सङ्घर्ष गर्दै होलान्
डोर्याउँदै ल्याएको मोटरसाइकल
वर्कसप पस्यो र गुड्न सक्ने बनेर निस्कियो।
मेसिन मर्मत गर्ने वर्कसप झैँ
सम्बन्ध जोड्ने कुनै कारखाना
होला कि नहोला शहरमा?
दूधको प्याकेट,
कापी, कलम, क्यालकुलेटर,
वर्कसपमा बनेको मोटरसाइकल—
यी सबै
के यी साँच्चै घरै पुग्लान
या
बासस्थान मात्र?
दर्जनौँ जुत्ताहरू
ओहोरदोहोर गर्छन्
घरको ढोकाबाट
फगत बासस्थानको निम्ति।
चुलोमा आगो त बलेको छ,
भाँडाहरू तातेका छन्,
तर आत्माको ताप कुन धुवाँले
कुन ऋतुमा उडाई लग्यो?
बाले समय कटाउन
एउटै अखबार कतिपटक पढे?
आमाले आफ्नो आँसुको साक्षी
सिरानीलाई बनाएको कसले देख्यो?
देशदुनियाँको ज्ञान दिने
मोबाइल छ सबैसँग
तर
आमाको आँसुको करुणा,
बाको निधारमा नदेखिएको दु:ख
पढ्ने स्क्रिन केमा होला?
त्यतिखेरै
एक झोका हावा
मिठो सुगन्ध छोडेर गयो,
सायद
सकिन लागेको अगरबत्तीको सास थियो
जसरी कि
घरभित्र बाँकी रहन्छ
कुनै पुरानो सम्बन्धको
अन्तिम न्यानोपन



