नाट्टाको सदस्य पदमा दिनेश घिमिरेको उम्मेदवारी घोषणा


काठमाडौं, नेपाल — बीएससी इन इन्फर्मेशन सिस्टम तथा मार्केटिङ एन्ड ई–कमर्समा मास्टर्स डिग्री हासिल गरेका अनुभवी पर्यटन व्यवसायी दिनेश घिमिरेले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी (२०२६–२०२८) कार्यकालका लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी जिस्वा तुलाधर नेतृत्वको प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका हुन्।

विगत १५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय घिमिरे ‘शिवालय होलिडेज नेपाल’का सञ्चालक हुन्। उनले नेपाल ग्रुप टुर, धार्मिक यात्रा, कर्पोरेट टुर तथा विशेष गरी भारतीय पर्यटन बजारलाई लक्षित विभिन्न ट्राभल व्यवस्थापन सेवाहरू सञ्चालन गर्दै आएका छन्। पर्यटन व्यवसायमा उनको लामो अनुभव र व्यवस्थापन क्षमताले उनलाई एक सक्षम उम्मेदवारको रूपमा स्थापित गरेको छ।

घिमिरेले आफ्नो उम्मेदवारी पर्यटन क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणको उद्देश्यसहित घोषणा गरेका हुन्। घिमिरेले नेपाली पर्यटन सेवाको गुणस्तर, सुविधा र मर्यादा अभिवृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सदस्यहरूको क्षमता अभिवृद्धि र आधुनिक सीप विकासलाई उनले प्राथमिकतामा राखेका छन्। पर्यटकीय मन्दी (Off-season) को समयलाई उपयोग गर्दै नाट्टाका सदस्य तथा कर्मचारीहरूका लागि ‘टाइम म्यानेजमेन्ट’ तथा ‘आर्टिफिसियल इन्टेलिजेन्स (AI)’ सम्बन्धी तालिम सञ्चालन गर्ने योजनालाई पनि अघि सारेका छन् ।

ट्राभल एजेन्सीहरूलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले आधुनिक मार्केटिङ रणनीति र डिजिटल एकाउन्टिङसम्बन्धी तालिम प्रदान गर्ने एजेन्डा पनि उनको रहेको छ ।

पर्यटन व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक सुरक्षा सुनिश्चितता तथा प्रविधिमैत्री सेवा विस्तारका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै घिमिरेले सम्पूर्ण मतदाताहरूबाट अमूल्य मत तथा सहयोगको अपेक्षा गरेका छन्।

यसमा तपाइको मत