नाट्टा उपाध्यक्ष पदमा प्रज्ञा शर्माको उम्मेदवारी: यस्ता छन् एजेन्डा


काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी दुई वर्षे कार्यकालका लागि जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको प्यानलबाट प्रज्ञा पाठक शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

करिब २५ वर्षको व्यावहारिक अनुभव र ज्ञानलाई पर्यटन व्यवसायको हितमा समर्पित गर्ने उद्देश्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको उनले स्पष्ट पारेकी छन्। शर्माले आफ्नो प्रमुख प्राथमिकता पर्यटन व्यवसायीहरूको आवाजलाई सशक्त बनाउने रहेको बताएकी छन्।

“व्यवसायीहरूले भोगिरहेका समस्याहरूलाई केवल छलफलमा सीमित नराखी सम्बन्धित मन्त्रालय, सरकारी निकाय, विमानस्थल, अध्यागमन तथा एयरलाइन्ससँग प्रभावकारी समन्वय गर्दै ठोस पहल गर्नेछु,” उनले भनिन्।

उनका अनुसार नेपालमा पर्यटक आगमन वृद्धि गर्नुका साथै गुणस्तरीय सेवा प्रवाह, लामो समय बसाइँ र उच्च खर्च गर्ने पर्यटक भित्र्याउने रणनीतिमा नाट्टामा यो टिम केन्द्रित रहनेछ। परम्परागत पर्यटन बजारलाई सुदृढ बनाउँदै नयाँ अन्तर्राष्ट्रिय बजारको खोजीमा विशेष जोड दिइनेछ।

एयरलाइन्स र ट्राभल एजेन्सीबीच सहकार्य सुदृढ बनाउने विषयलाई समेत उनले प्राथमिकतामा राखेकी छन्। टिकटिङ तथा समूह पर्यटन क्षेत्रमा हासिल गरेको अनुभवलाई उपयोग गर्दै व्यवसायमैत्री नीतिगत सुधारका लागि निरन्तर आफूले पहल गर्ने उनले बताईन ।

डिजिटल प्रविधिको उपयोग तथा नयाँ पुस्तालाई नाट्टासँग जोड्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता तथा अनलाइन बिक्री प्रणालीमा आधारित तालिम तथा अवसरहरू सिर्जना गरिने आफ्नो एजेन्डामा उल्लेख गरेकी छिन् ।

साना तथा मझौला पर्यटन व्यवसायलाई सुदृढ बनाउने लक्ष्यसहित तालिम, सञ्जाल विस्तार तथा अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तारमा विशेष ध्यान दिइने उनले प्रतिबद्धता व्यक्त गरिन्।

नाट्टालाई सेवामुखी संस्था बनाउने लक्ष्य राख्दै उनले भनिन्, “हरेक सदस्यले ‘नाट्टाले मेरो व्यवसायमा के योगदान गर्‍यो?’ भन्ने प्रश्नको सकारात्मक उत्तर पाउने वातावरण सिर्जना गर्नेछु।”

यही साउन २९ गते हुने नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ।

यसमा तपाइको मत