तीन प्रश्न : ब्युटिसियन सरस्वती घिमिरेसँग कुराकानी


तीन प्रश्न : ब्युटिसियन सरस्वती घिमिरेसँग कुराकानी

मोरङ जिल्लाको विराटनगरमा २०३६ साल असोज १५ गते जन्मिएकी सरस्वती घिमिरे माता झुनादेवी घिमिरे र पिता माधवप्रसाद घिमिरेकी छोरी हुन्। दुई दाजु र एक दिदीसँग रमाउँदै उनको बाल्यकाल व्यतीत भयो ।
ब्युटिसियनका रूपमा परिचित सरस्वतीले आइ.ए.सम्मको औपचारिक शिक्षा हासिल गरेकी छन्। २०५४ सालमा ब्युटी पार्लरसँग सम्बन्धित विभिन्न तालिम लिएर सीपको यात्रा सुरु गरेकी उनले निरन्तर सिकाइलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउँदै आएकी छन्।
२०६५ सालदेखि सीप विकासको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएकी सरस्वती अहिले एक अनुभवी ब्युटिसियन तथा प्रशिक्षकका रूपमा परिचित छिन् । उनले २०७२ सालमा सीटीइभीटीको मूल्यांकनकर्ताका रूपमा काम गर्ने अवसरसमेत प्राप्त गरिन्।
लामो समयको अनुभव, सीपप्रतिको लगाव र आफ्नो पेसाप्रतिको निरन्तरताले सरस्वतीलाई सीप विकासको क्षेत्रमा खारिएकी व्यक्तित्वका रूपमा स्थापित गरेको छ। जीवनमा प्राप्त हरेक अनुभवलाई सिकाइमा बदल्दै अघि बढेकी उनको कर्म उदाहरण बनेको छ।
ब्युटिसियनका रूपमा आफ्नो पहिचान बनाउन सफल सरस्वतीसँग उनको व्यावसायिक यात्रा, अनुभव, यस क्षेत्रमा रहेको सम्भावना र आगामी पुस्ताका लागि सुझावबारे ‘तीन प्रश्न’ स्तम्भमा गरिएको कुराकानी :


) ब्युटी पार्लर क्षेत्रमा कसरी आउनुभयो?

प्रश्नका लागि धन्यवाद। यस क्षेत्रमा आउनुको मुख्य उद्देश्य आफ्नो रुचिको विषयलाई विस्तार गर्नुसँग जोडिन्छ । म सानै हुँदा मेरी दिदी शारदा घिमिरे भैल पार्लरसम्बन्धी काममा पोख्त हुनुहुन्थ्यो । उहाँले गरेको कामबाट म निकै प्रभावित भएँ।
२०४६ सालतिरको कुरा हो। दिदीको कामबाट प्रेरित भएर म स्कुलको बिदाका बेला उहाँसँगै पार्लर जाने गर्थें। त्यसै क्रममा यस क्षेत्रमा मेरो रुचि बढ्दै गयो। २०५४ सालमा ब्युटी पार्लरसँग सम्बन्धित तालिम लिने अवसर पाएँ। त्यसयता विभिन्न ठाउँमा सिक्दै र सिकाउँदै आएकी छु।
२०६५ साल वैशाख १३ गतेदेखि मुख्य प्रशिक्षकका रूपमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भैंसेपाटीसँग आबद्ध छु। यस अवधिमा हजारौँ प्रशिक्षार्थीलाई सीप सिकाउने अवसर पाएकी छु। विभिन्न संस्था, कारागारमा रहेका महिला, महानगरपालिका, नगरपालिका तथा विभिन्न कार्यक्रम र इभेन्टहरूमा समेत तालिम तथा प्रशिक्षण दिने अवसर पाएकी छु।
हाल म ‘सुमाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’की सञ्चालिका तथा मुख्य प्रशिक्षकका रूपमा कार्यरत छु।
२) ब्युटी पार्लर तथा ब्युटिसियन क्षेत्रमा कस्तो सम्भावना देख्नुहुन्छ?


यो प्रश्न अत्यन्त महत्वपूर्ण छ। यस क्षेत्रमा जुनसुकै क्षेत्र र पृष्ठभूमिका मानिस आबद्ध हुन सक्छन्। महिला तथा पुरुष दुवै यस पेसामा सक्रिय हुन सक्छन्।
सीप सिकेर व्यवसाय सञ्चालन गर्दै स्वरोजगार बन्न सकिन्छ। अहिले घरबाटै सेवा प्रदान गरेर पनि आम्दानी गर्न सकिने अवस्था छ। थोरै लगानीबाट आफ्नो मेहनत र परिश्रमका आधारमा राम्रो आम्दानी गर्न सकिने भएकाले यो क्षेत्र आर्थिक रूपमा पनि सम्भावनायुक्त छ।
यस पेसामा उमेरको निश्चित हदबन्दी छैन। सीप र दक्षता हासिल गरेपछि जुनसुकै उमेरमा पनि यस क्षेत्रमा काम गर्न सकिन्छ। त्यसैले नेपालमा ब्युटिसियन तथा ब्युटी पार्लर व्यवसायको राम्रो सम्भावना छ भन्ने मेरो विश्वास छ।

३) नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ?
नयाँ पुस्ताले मेहनत, धैर्य, लगनशीलता र इमानदारीलाई आफ्नो व्यवसायको आधार बनाउनुपर्छ। आफूले रोजेको क्षेत्रमा निरन्तर सिक्ने र नयाँ कुरा आत्मसात् गर्ने बानी विकास गर्न आवश्यक छ।
ब्युटिसियन पेसामा हरेक दिन नयाँ प्रविधि र फेसन ट्रेन्डहरू भित्रिरहेका हुन्छन्। त्यसैले आफूलाई समयअनुसार नयाँ प्रविधि र ट्रेन्डसँग अपडेट गराइरहनुपर्छ। साथै, व्यवसायमा स्वच्छता, सुरक्षा र सेवाको गुणस्तरमा विशेष ध्यान दिन जरुरी छ।
अहिले सामाजिक सञ्जाल पनि व्यवसाय प्रवर्द्धनको प्रभावकारी माध्यम बनेको छ। त्यसको सही प्रयोग गरेर आफ्नो सेवा र व्यवसायलाई धेरै मानिससम्म पुर्‍याउन सकिन्छ। मेहनत, सीप र निरन्तरताका साथ अघि बढ्न सके यो पेसाबाट राम्रो आम्दानी गर्न सकिने भएकाले नयाँ पुस्ताले यस क्षेत्रमा पनि सम्भावना खोज्नुपर्छ।

यसमा तपाइको मत