
कर्णाली अटोमोबाइल्स एशोसिएशन नेपालको अध्यक्षमा इन्द्रबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। तीन वर्षे कार्यकालका लागि चयन भएको यस नयाँ टिमले कर्णाली क्षेत्रमा अटोमोबाइल्स क्षेत्रको विकास, व्यवसायीको हकहित र सबै जिल्लामा बलियो व्यावसायिक सञ्जाल निर्माण गर्ने योजना अघि बढाएको छ। व्यवसायीका समस्या सम्बोधन गर्न सम्बन्धित सरकारी निकाय र नाडाको केन्द्रीय समितिसँग समन्वय गरिने अध्यक्ष खड्काले जानकारी दिए।

कार्यसमितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मासिक बैठकको पालोपालो नेतृत्व गर्ने र कामको आधारमा तीनवटा टिमबीच स्वस्थ प्रतिस्पर्धा गराएर पुरस्कृत गर्ने नवीन अभ्यास सुरु गरिएको उनले बताए। साथै, वर्षभरि ट्राफिक सचेतना, आजीवन सदस्यता विस्तार र संगठन सुदृढीकरणलाई मुख्य कार्यक्रमको रूपमा सञ्चालन गरिनेछ।
हालै सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाशकुमार शाही, रामबहादुर खड्का र गोपाल पौडेल, महासचिवमा सैयद अन्वर अलि, सचिवमा अर्जुन दाहाल, कोषाध्यक्षमा राजन ओली तथा सदस्यहरूमा सूर्य थापा, उमेश विष्ट, हरि पौडेल र जनकराज गिरी चयन भएका छन्।



