लोकधुन र मौलिक बाजाको सङ्गममा सम्पन्न भयो १५औँ लोकसङ्गीत सत्सङ्ग


काठमाडौं, २९ साउन, शुक्रबार। नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजनामा १५औँ लोकसङ्गीत सत्सङ्ग तथा म्युजिकल ज्यामिङ कार्यक्रम लोकगीत, मौलिक लोकबाजा र कलाकारहरूको जीवन्त प्रस्तुतिका साथ सम्पन्न भएको छ।

नेपाली लोकसङ्गीतको संरक्षण, अनुसन्धान, अभिलेखीकरण र पुस्तान्तरणलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा वरिष्ठ लोकगायक तथा लोकसङ्गीत अनुसन्धानकर्ता डा. आशबहादुर तामाङ प्रमुख अतिथि तथा अतिथि कलाकारका रूपमा सहभागी हुनुभएको थियो। उहाँले नेपाली लोकगीतको मौलिकता, सांस्कृतिक महत्त्व र पुस्तौँदेखि हुँदै आएको परम्पराबारे चर्चा गर्दै विभिन्न लोकगीत प्रस्तुत गर्नुभयो।

कार्यक्रममा डा. तामाङले आफ्नी आमा धनमाया तामाङले गाउनुभएको ‘नरोई नरोई बस माया, जाने बेला भयो बरी लै’ गीतको धुन पात बजाएर प्रस्तुत गर्नुभएको थियो। पातबाट निकालिएको मधुर धुनले कार्यक्रमको वातावरणलाई थप आत्मीय बनाउनुका साथै परम्परागत लोकबाजा र मौलिक धुनको विशिष्टता उजागर गरेको थियो।

त्यसैगरी सरिता प्रजापतीले सुनिल चित्रकारको सङ्कलनमा रहेको ‘रेलै घुमेर’ लोकगीत प्रस्तुत गर्नुभएको थियो। अन्जान बाबु शर्माले ‘चरी लैजा समाचार’ प्रस्तुत गर्नुभएको थियो भने रोशन दाहालले नारायण गोपालको चर्चित गीत ‘हे मलाई माया गर्छु भन्ने हजुर…’ प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।

लोकसङ्गीत संरक्षण र प्रवर्द्धनमा सक्रिय रामगोपाल कार्की, कुमारी योङहाङ लिम्बू लगायत कलाकार तथा स्रष्टाहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। विभिन्न पुस्ताका कलाकारको जमघट र सामूहिक प्रस्तुतिले नेपाली लोकसङ्गीतको निरन्तरता तथा पुस्तान्तरणको सन्देशसमेत दिएको थियो।

कार्यक्रममा नेपाली लोकबाजा सङ्ग्रहालयका संयोजक रामप्रसाद कडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने ओम भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

लक्ष्मेश्वर महादेव मन्दिर, गीता गृह मार्ग, कालोपुल, टेकुस्थित नेपाली लोकबाजा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा लोकसङ्गीतप्रेमी, कलाकार, अनुसन्धानकर्ता, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

आयोजकका अनुसार लोकगीत, लोकबाजा र परम्परागत धुनलाई एउटै मञ्चमा प्रस्तुत गर्दै आएको लोकसङ्गीत सत्सङ्गले नेपाली मौलिक सङ्गीतको संरक्षणसँगै यसको अध्ययन, अभ्यास र नयाँ पुस्तामा हस्तान्तरणका लागि निरन्तर भूमिका खेल्दै आएको छ। १५औँ संस्करणसम्म आइपुग्दा कार्यक्रम कलाकार, अनुसन्धानकर्ता र सङ्गीतप्रेमीबीच भेटघाट, अनुभव आदानप्रदान र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा विकसित हुँदै गएको छ।

यसमा तपाइको मत