शिव कैलाश कला मन्दिरको आयोजनामा छैटौँ एकल नृत्य प्रतियोगिता सम्पन्न


काठमाडौं — शिव कैलाश कला मन्दिरले आयोजना गरेको उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौंको धनेश्वरस्थित कला मन्दिरको सभाहलमा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यकाका करिब ५० विद्यालयबाट छनोट भएका कक्षा १ देखि ९ सम्मका ६०० विद्यार्थीले विभिन्न विधामा एकल नृत्य प्रस्तुत गरेका थिए।
कक्षागत प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ट्रफी जितेको आधारमा सभ्यता पाठशाला, रानीवन प्रथम, मिलन धर्मस्थली, तारकेश्वर द्वितीय तथा काठमाडौं लिंकन स्कुल, तारकेश्वर तृतीय भएका छन्। प्रत्येक विधामा उत्कृष्ट १० स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी तथा मेडल प्रदान गरिएको थियो भने सहभागी विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रम संयोजक रोशन बुढाथोकीका अनुसार अडिसनमार्फत छनोट भएका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए।
समापन समारोहमा वरिष्ठ नृत्य निर्देशक कमल राई प्रमुख अतिथि थिए। वरिष्ठ नृत्य निर्देशक राजु शाह, चलचित्र विकास बोर्डका सदस्य तथा गीतकार गणेश सुबेदी, नृत्य निर्देशक तथा प्राज्ञ महेश गोदार, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ केका पूर्व क्याबिनेट सचिव ट्रीजा ढकाललगायतको विशेष उपस्थिति थियो।


समारोहको अध्यक्षता शिव कैलाश कला मन्दिरका अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक नारायण रिजालले गरेका थिए भने सञ्चालन युनिशा रिजालले गरेकी थिइन्। कार्यक्रममा सहभागी विद्यालय तथा विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो।
अध्यक्ष रिजालले नेपाली कला तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्ताका प्रतिभाको पहिचान, विकास र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको बताए। विगत २५ वर्षदेखि कला क्षेत्रमा सक्रिय शिव कैलाश कला मन्दिरले हालसम्म १०० भन्दा बढी विद्यालय, कलेज तथा संघसंस्थामा लोकनृत्य प्रशिक्षण तथा कला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


प्रतियोगितालाई ओखती आयुर्वेद, सेरा डिजिटल, लायन्स क्लब दीर्घजीवी तथा विनायक अस्पतालले सहयोग गरेका थिए।

यसमा तपाइको मत