दयाराम दाहाल र उनको कविता सङग्रह शब्द सङ्ग्राम


नेपाली चलचित्र क्षेत्रमा दयाराम दाहाल सुपरिचित र चर्चित व्यक्तित्व हुन् । दाहाल मूलतः चलचित्र लेखक, चलचित्र निर्देशक र उम्दा गीतकार हुन्।

वि.सं. २०२७ साल असोज २४ गते उग्रचण्डी नाला ७, चुनाताल, काभ्रेपलाञ्चोकमा जन्मेका दाहाल हाल काठमाडौंमा बसोबास गर्छन् । दाहालले निर्देशन गरेका ‘दौँतरी’, ‘ठुल्दाइ’, ‘भरिया’, ‘चाँदनी’, ‘अर्जुन’, ‘तँ त साह्रै बिग्रिस् नि बद्री’, ‘म तिमीबिना मरिहाल्छु’, ‘इज्जत’ लगायत तीन दर्जनभन्दा बढी चलचित्रलाई औधी रुचाएका छन्। नेपाली चलचित्रका लागि उनले थुप्रै गीत पनि लेखेका छन्। उनका गीतहरू दर्शक तथा स्रोताका लागि सधैँ प्रिय कोसेली बनेका छन्। सुगम संगीत क्षेत्रमा पनि दाहालका गीतहरू लोकप्रिय छन् ।

उनको एक कविता सङ्ग्रह बजारमा आएको छ। मुक्तछन्द र गीतिलयमा आधारित दाहालको कविता सङ्ग्रह ‘शब्द सङ्ग्राम’ले उनको कवि व्यक्तित्वलाई उजागर गर्छ। कुल ५३ वटा कविता समेटिएको यस सङ्ग्रहमा सपना र सम्भावनाका स्वरहरू मुखरित भएका छन्।

‘शब्द सङ्ग्राम’ विषयगत विविधता बोकेको कविता सङ्ग्रह हो। दाहालका कवितामा जीवनका इन्द्रेणी रङहरू अटाएका छन् । कलात्मक भावहरू पनि प्रशस्त छन्।दाहालका कविताहरूमा अनुभूतिको सघनता छ। कवितामा गीत छ, काव्य छ । केही कवितामा आख्यानतत्व पनि उतिकै मजबुत रूपमा प्रयोग भएको छ ।
यस सङ्ग्रहमा युगचेतना मुखरित छ। प्रत्येक कविता पढ्दा पाठकले फरक–फरक अनुभूति गर्छन्। एउटा राम्रो काव्यमा पाठकले अनुभूतिको कलात्मक अभिव्यक्ति पाउँछ। दाहालका कविताहरूमा पनि त्यही कलात्मक अभिव्यक्ति भेटिन्छ। तसर्थ हामी दाहाललाई काव्य विधाको पनि एक सशक्त साधक मान्न सक्छौ ।

यस सङ्ग्रहका कविताहरूमा राष्ट्रियताको भावना गहिरोसँग आएको छ , देशभक्तिको स्वर ठाउँ–ठाउँमा गुञ्जिएको छ। देशप्रतिको माया र गर्वलाई कवि दयाराम दाहालले सरल शब्दमा अभिव्यक्त गरेका छन्। मजदुर र गरिखाने वर्गका पीडा र संघर्षले पनि उनका कवितामा ठाउँ पाएका छन्। दाहाल आफ्नो कविता मार्फत मेहनत गर्ने श्रमजीवीप्रति सम्मानभाव राख्छन्।

उनको संवेदनशील मन कवितामार्फत पोखिएको छ। सामान्य मानिसका दुःखसुखसँग जोडिएका कविता उम्दा छन्।

मायाप्रेमसँग सम्बन्धित कविताहरूले पनि पाठकको मन चसक्क छुन्छन्। आमाको सम्झना र सम्मानमा लेखिएका कविता भावका हिसाबले जोडदार छन् ।
दाहालका अधिकांश कवितामा शब्द सरल छन्, भाव भने गहिरा छन्। यही सरलता र गहिराइ नै उनका कविताहरूको एक प्रमुख विशेषता बनेको छ।

दाहालका कविताले समयसँगै हिँड्न पनि जानेका छन्। डिजिटल युग र साइबर संस्कृतिका विषय पनि उनका कवितामा भेटिन्छन्। आजको पुस्ताले भोगिरहेको प्रविधिको संसार, त्यसका सुख र चुनौती दुवैलाई उनले कवितामा समेटेका छन्। यस्ता कवितामा पुराना र नयाँ पुस्ताका अनुभूति एकसाथ अटाएका छन्।

जीवनदर्शनलाई हेर्ने कवि दाहालको दृष्टिकोण पनि आफ्नै किसिमको छ। उनका कविताहरूले शान्त र बौद्धिक जीवनको पक्षमा पैरवी गरेका छन्।
दाहालका कविता पढ्दा जीवनको अर्थ खोज्ने यात्रामा निस्किएको मानिसको जस्तो अनुभूति पाठकलाई हुन्छ। हरेक कविताले पाठकलाई सोच्न बाध्य पार्छ र अन्त्यमा एउटा भिन्न अनुभूति पनि दिन्छ ।
‘शब्द सङ्ग्राम’ पढिरहँदा पाठकले आफ्नै जीवन, समय र समाजलाई पुनः नियाल्ने अवसर पाउँछन् यस अर्थमा दाहालको यो कविता सङ्ग्रह सामान्य भावनात्मक अभिव्यक्ति मात्रमा सिमित छैन , जीवन र समयको समीक्षा गर्ने एउटा काव्यिक प्रयत्न पनि यस कविता सङग्रह मार्फत भएको छ ।

` मेरो मनको प्रश्नको मैसँग
जवाफ नभएको बेला
म पनि आफ्नै मनभित्र नभएको बेला
तिमीले प्रश्न सोध्यौ , जिन्दगी के हो ?

( दयाराम दाहाल , प्रश्न जिन्दगीको , शब्द सङग्राम कविता सङग्रह , पृ. १३६ )

यसमा तपाइको मत