नीला घिमिरेको ‘स्वप्निल विपनाहरू’को परिचर्चा सम्पन्न



काठमाडौँ, विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको आयोजनामा कथाकार नीला घिमिरेको कथासङ्ग्रह ‘स्वप्निल विपनाहरू’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा शिखर कवि शैलेन्द्र साकार प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, हिरण्यकुमारी पाठक, चन्द्रप्रसाद भट्टराई, कृष्ण प्रधान, मधुपर्क मासिकका सम्पादक दीपक श्रेष्ठ, नागरिक दैनिकको ‘अक्षर’ शनिबारका संयोजक दिलीप ढकाल, कथाकार नीला घिमिरे तथा टेलिभिजन सञ्चालक एवं नोबेल साकोस साहित्य समाजका संस्थापक राजनप्रसाद न्यौपाने अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। डिल्लीबजारस्थित वरिष्ठ साहित्यकार पुष्कर लोहनीको निवासमा कार्यक्रम सम्पन्न भएको हो।


विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाकी महासचिव तथा कार्यक्रमकी सहजकर्ता अञ्चु सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा योगराज राजन कविराज, रचिता दाहाल, बबिता जोशी र सुनिता अधिकारीले सहजीकरणमा सहयोग गर्नुभएको थियो।
कार्यक्रममा कल्पना मरासिनीले स्वागत मन्तव्य व्यक्त गर्दै नारी हस्ताक्षरबाट सिर्जित यस कृति पठनयोग्य रहेको बताउँदै मोफसलकी स्रष्टा नीला घिमिरेलाई बधाई दिनुभयो।
प्रमुख अतिथि शिखर कवि तथा कथाकार शैलेन्द्र साकारले तराईमा बसोबास गर्दै आउनुभएकी नीला घिमिरेका कथाहरूमा आञ्चलिकताको प्रभावसँगै सामाजिक चेतना र स्तरीय कथ्य रहेको बताउँदै कृतिकारलाई बधाई दिनुभयो।
वरिष्ठ कथाकार पुष्कर लोहनीले कथामा देखिएको पुरानो समयको प्रभावको पुनर्मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गर्दै कृतिकार नीला घिमिरेलाई ‘स्वप्निल विपनाहरू’का लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।


कृतिकार नीला घिमिरेले ‘स्वप्निल विपनाहरू’ लेखनका क्रममा प्राप्त अनुभवहरू साझा गर्दै उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। कृतिमाथि प्राप्त सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताउँदै उहाँले आफ्ना अन्य कृतिहरू पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिनुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखा एवं ज्योति साहित्य प्रतिष्ठान, काठमाडौँका अध्यक्ष मणिराज सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो। सो अवसरमा उहाँले विशिष्ट अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गर्नुभयो।


कार्यक्रममा बबिता जोशी, सरस्वती श्रेष्ठ, भरत थापा ‘प्रतिक्षित’, शुकदेव उपाध्याय, सरला रेग्मी, सुजाता अधिकारी, कुन्दनकुमार पन्त, शिवकुमार ढकाल, राजकुमार श्रेष्ठ, पायल मण्डल, कृष्ण प्रधान, रश्मि रिमाल, एन्जल निलु, अविकेश्वर ओलीलगायत साहित्यकार तथा स्रष्टाहरूको गरिमामय उपस्थिति रहेको थियो।

यसमा तपाइको मत