कला क्षेत्रमा अगाडि बढदै कविता


सुदूरपश्चिमको बाजुरा जिल्लास्थित जगन्नाथ गाउँपालिकामा जन्मिएकी कविता परियार नेपाली कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन प्रयासरत छिन्। सानैदेखि गायन र अभिनयमा रुचि राख्ने कविता अहिले राजधानी काठमाडौंमा बसेर कला क्षेत्रमा सक्रिय छिन् । काठमाडौं आएपछि उनको रहरले मुर्तरुप पाउन थालेको छ ।
सुरुमा उनी सुरुमा कलाकार बन्ने उद्देश्यले मात्र काठमाडौं आएकी थिइनन , दाजुसँगै बसेर पढ्न भनेर यता आएकी थिइन ।
कक्षा ९ मा पढ्दा काठमाडौं आएकी उनी कक्षा १० मा अध्ययनरत हुँदा गलबन्दी रोधीघरमा लाइभ देउडा गीत गाउन थालेकी हुन् र त्यहींबाट उनले प्रशंसा पाउन थालेकी हुन ।
​त्यतिबेला उनी गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिएकी थिइन्। स्वरले समेत साथ नदिएको अवस्थामा उनले आँट गरेर गीत गाएकी थिइन्। आफ्नो त्यो कठिन क्षण सम्झँदै कविता भन्छिन्, “मेरो स्वास्थ्य अवस्था निकै खराब थियो। अब बाँच्दिनँ होला भन्ने लागेको थियो। म नरहे पनि मेरो लाइभ देउडा हेरेर आमा-बुबाले मेरो सम्झना गर्न सक्नुहोस् भन्ने सोचेर गाउन गएकी थिएँ।”

​विद्यालय पढ्दादेखि नै कलाप्रति समर्पित कविता गीत पनि लेख्छिन्। उनको अभिनय यात्राको सुरुवात भने लघु चलचित्र ‘भागीरथी’ बाट भएको हो, जसमा उनले आफैं कथा पनि लेखेकी थिइन्। त्यसपछि उनले अर्को लघु चलचित्र ‘दुःख’ मा पनि अभिनय गरिन्। यसबाहेक ‘मञ्जरी’, ‘यादको भारी’, ‘पुस्ता’ र ‘नारी’ जस्ता टेलिशृङ्खलामा काम गरिसकेकी छिन् भने ‘तिमी र म’ म्युजिक भिडियोमा पनि उनको अभिनय देख्न पाइन्छ (यो म्युजिक भिडियो केही दिनमा सार्वजनिक हुँदैछ)। यसरी अभिनय र लेखन दुवैमा आफ्नो क्षमता देखाउँदै आएकी छिन्।

​हालै कलाकार तथा निर्देशक नवीन घिमिरेले उनलाई आगामी चलचित्र ‘रुद्राक्ष’ को मुख्य भूमिकाका लागि छनोट गरेका छन्, जसले उनलाई थप उत्साहित बनाएको छ। उनी भन्छिन्, “मलाई सानैदेखि कलाकार बन्ने रहर थियो। अहिले बिस्तारै अवसर पाइरहेकी छु। मलाई विश्वास छ, एक दिन सफल कलाकार बन्नेछु।” गायन, लेखन र अभिनयको यात्रा तय गर्दै कविता निरन्तर मेहनतका साथ नेपाली कला क्षेत्रमा स्थापित हुने लक्ष्यसहित अघि बढिरहेकी छन्।

यसमा तपाइको मत